
२७ असार, काठमाडौं । नेपाली कांग्रेसको संस्थापनपक्षकै नेताहरुले संघ र प्रदेशको चुनावमा गठबन्धन गर्न नहुने सुझाव नेतृत्वलाई दिएका छन् । सोमबार सुरु भएको केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्य गुरु बराल र सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले गठबन्धन गर्न नहुने मत राखेका हुन् ।
स्थानीय तहको निर्वाचनमा कांग्रेसले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरेको थियो । कांग्रेसभित्र नेता शेखर कोइराला पक्षले गठबन्धनको विपक्षमा मत राख्दै आएको छ, तर सभापति शेरबहादुर देउवा पक्षकै नेताहरुले पनि गठबन्धनको विपक्षमा मत राखेका हुन् ।
सातै प्रदेशका सभापतिहरुलाई आमन्त्रित केन्द्रीय सदस्यका रुपमा बोलाइएको बैठकमा बोल्ने क्रममा बलायरले सुदूरपश्चिममा कांग्रेस एक्लै लड्न तयार रहेको बताए । ‘गठबन्धनका अरु दलले आफ्नो शक्ति भन्दा बढी हैसियत खोज्छन् । उनीहरुको शक्ति बढाउन कांग्रेसले गठबन्धन किन गर्ने ?’ डोटीका नेता बलायरले बैठकमा भने ।
नेता बरालले सैद्धान्तिक विचार फरक रहेका शक्तिसँग तालमेल गर्दा कांग्रेसको नैतिक धरातल कमजोर हुने बताए । ‘सैद्धान्तिक रुपमा फरक फरक विचारका छौं । कांग्रेस आफ्नै बलमा पनि लड्न सक्छ । तालमेल गर्नुअघि धेरै विचार पुर्यायौं’ बरालले बैठकमा भने ।
सोमबार नै बैठकमा धारणा राखेका नेता डा. शेखर कोइरालाले कांग्रेसका नेता कार्यकर्ता गठबन्धनप्रति सकारात्मक नभएको दाबी गरे । पार्टीमा फरक मत राख्ने कार्यकर्तालाई वडा तहदेखि केन्द्रसम्म अन्याय गरिएको भन्दै उनले सभापति देउवाको आलोचना गरे ।
‘नेतृत्वमा रहेकाले आफूलाई मत नहालेकालाई पनि न्याय हुने संस्कृतिको विकास गरियोस् । विधि, विधान भन्दा माथि हामी कोही छैनौं । पार्टी विधिसम्मत चल्नु पर्यो पार्टी सबैको हुनुपर्यो’ शेखरले भने ।
स्थानीय तहको निर्वाचनका क्रममा पराजयको दोष लगाएर कतिपय जिल्लामा पूर्वाग्रही ढंगले कारवाहीको सिफारिस गरेर जिम्मेवार नेताहरुको मानमर्दन गरिएको भन्दै शेखरले विरोध जनाए ।
स्थानीय तहको निर्वाचनमा केन्द्रबाट नै उम्मेदवार छनोट गरेर मातहतको संरचनाको क्षेत्राधिकारमा हस्तक्षेप गरेको पनि शेखरले बताए । महाधिवेशनको समयमा सत्ताको दुरुपयोग गरी आफ्नो निगरानी गरिएको भन्दै उनले आपत्ति जनाएका थिए ।
शेखर पक्षका केन्द्रीय सदस्य दिनेश कोइरालाले कारबाही गरिएका चितवनका नेता तथा कार्यकर्ताको कारबाही फिर्ता गर्न माग गरेका थिए ।
केन्द्रीय सदस्य प्रदीप पौडेलले टिकट वितरणमा ढिलासुस्ती हुँदा उम्मेदवारले पर्याप्त तयारी गर्न नपाएको बताए । टिकट वितरणको ढिलासुस्तीका कारण उम्मेदवारले निर्वाचन तयारीको लागि पर्याप्त समय नपाउँदा कतिपय ठाउँमा प्रतिकुल परिणाम ब्यहोर्नुपरेको थियो’, उनले भने, ‘संघ तथा प्रदेशको निर्वाचनमा बेलैमा उम्मेदवार टुंगो लगाएर तिनलाई निर्वाचन तयारीमा लाग्ने पर्याप्त समयको सुनिश्चितता गर्नुपर्छ ।’
केन्द्रीय सदस्य डिला संग्रौलाले उम्मेदवार छनोट गर्दा योग्य, सक्षम र लोकप्रिय नेता छनोट गर्ने गरी मापदण्ड बनाउन आग्रह गरिन् ।
केन्द्रले हस्तक्षेप गरेको प्रदेश समितिको आरोप
बैठकमा सबैजसो प्रदेश सभापतिले उम्मेदवार छनोटमा केन्द्रले प्रदेश समितिको क्षेत्राधिकार मिचेको र विधान अनुसार आफ्नो अधिकार प्रयोग गर्न नपाएको गुनासो गरे ।
संस्थापनइतरका नेता तथा लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले प्रदेश समितिले आफ्नो अधिकार प्रयोग गर्न नपाउने हो भने विघटन गर्न आग्रह गरे ।
‘तल्ला तहलाई दिइएको अधिकार पालना भएको छैन । प्रदेश समितिलाई पनि पंगु बनाउन खोजिएको छ । प्रदेश समिति चाहिँदैन भने खारेज गरिदिनुस्’ पुनले बैठकमा भने ।
विधानमा जिल्ला तहले छनोट गर्ने उल्लेख भए पनि वडा तहको उम्मेदवार छनोटमा प्रदेश कार्यसमितिले निर्देशन दिनुपर्ने परिपत्र पठाइएको उनले प्रदेश समितिलाई पंगु बनाउन खोजेको आरोप लगाए । ‘पंगु बनाउने हो भने किन चाहियो प्रदेश समिति ?’ उनले नेतृत्वलाई प्रश्न गरे ।
बैठकमा केही नेताहरुले पार्टीभित्रको अन्तर्घातले स्थानीय तहमा सिट घटेको बताएका थिए ।प्रदेश १ का सभापति उद्धव थापाले प्रदेश १ का तराई क्षेत्रका जिल्लामा जित्न सकिने स्थानमा पनि हार व्यहोर्नुपरेको भन्दै शेखर पक्षलाई आरोप लगाए ।
‘पार्टीको एउटा समूहले मोरङमा तालमेल गर्ने पक्षमा देखिएन । हामीले हार्यौं’, थापाले भने, ‘गठबन्धनकै कारण कांग्रेस पहिलो पार्टी बनेको हो । केन्द्रीय निर्वाचनमा विचार पुर्याएर तालमेल गर्नुपर्छ । चुनावी तालमेल अहिलेको आवश्यकता हो ।’
बैठकमा भ्रातृ तथा शुभेच्छुक संस्थालाई पूर्णता दिनुपर्ने माग पनि उठेको थियो । भंग भएका १० मध्ये ४ को मूल नेतृत्व मनोनित भएपनि अन्यले मूल नेतृत्वसमेत हालसम्म पाएका छैनन् । नेता नैनसिंह महरले विधान संशोधन गरेर भए पनि सबै भ्रातृ र शुभेच्छुक संस्थामा ठूलो आकारको समिति बनाउनुपर्ने बताए ।
बैठकमा महामन्त्री गगन थापाले बैठकमा छलफलका लागि अजेण्डाहरु राखेका थिए ।
उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको प्रतिवेदन र प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचन केन्द्रीय प्रसार–प्रसार समितिको प्रतिवेदन पेश गरेका थिए ।
सोमबारको बैठकमा डा. शेखर कोइराला, प्रदीप पौडेल, देवेन्द्रराज कँडेल, डा. डिला संग्रौला, कृष्णकिशोर घिमिरे, नारायणबहादुर कार्की, तारामान गुरुङ, दिनेशकुमार यादव, नैनसिंह महर, गुरु बराल, दिनेश कोइरालाले धारणा राखेका थिए ।
प्रदेशका सभापतिहरु उद्धव थापा, कृष्णप्रसाद यादव, इन्द्रबहादुर बानियाँ, शुक्रराज शर्मा, अमरसिंह पुन, ललितजंग शाही र बीरबहादुर बलायरले आमन्त्रित सदस्यको रुपमा बैठकमा सहभागी थिए ।
प्रतिक्रिया 4