
२८ असार, काठमाडौं । नेपाली मौलिक गरगहना लगाएर विदेशबाट नेपाल आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा अनावश्यक रुपमा कडाइ हुने गरेको भन्दै सुनचाँदी व्यवसायीले त्यसमा सहजीकरण गर्न भन्सार विभगसँग आग्रह गरेका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा मंगलबार गएको महासंघको प्रतिनिधिमण्डलले विभागका महानिर्देशक कमलप्रसाद भट्टराईसँग भेट गरी यस्तो आग्रह गरेको हो ।
महानिर्देशक भट्टराईसँगको भेटका क्रममा अध्यक्ष शाक्यले नेपाली मौलिक गरगहना लगाएर विदेशबाट नेपाल आउँदा ५० ग्रामभन्दा बढीको सुनका गहना ल्याएमा त्यसको भन्सार लिने गरिएको प्रति असन्तुष्टि जनाउँदै विमानस्थल भन्सारबाट आवात–जावत गर्दा भन्सारमा अवरोध गर्न नहुने धारणा राखे ।
विद्यमान व्यवस्था अनुसार विदेशबाट नेपाल आउँदा प्रत्येक व्यक्तिले ५० ग्रामसम्म सुनका गहना भन्सार छुटमा ल्याउन पाउने व्यवस्था छ । तर गरगहनाको हकमा यस्तो सीमा निर्धारण गरिएको छैन । नेपालबाट बाहिर जाँदा गरगहना लगाएर जान पाइने तर विदेशबाट नेपाल आउँदा ५० ग्राम भन्दा बढी गरगहना लगाएको पाइए त्यसको समेत भन्सार लिने गरेको पाइएपछि व्यवसायीले त्यसको विरोध गरेका हुन् ।
भन्सार विभागका महानिर्देशक भट्टराईले व्यवसायीका समस्याको अध्ययनगरी त्यसलाई सम्बोधनगर्न पहल गर्ने बताए । कतिपय व्यक्तिले गरगहनाको बाहनामा सुन ल्याउन खोजेको भेटिएपछि यसका कडाइ गर्नु परेको उनको भनाइ छ ।
प्रतिक्रिया 4