
२८ असार, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आर्थिक वर्ष २०७९–८० को बजेटमा बाबुको नामको प्रतिष्ठानमा बजेट छुट्याउने निर्णयको बचाउ गरेका छन् । यद्यपि नागरिकस्तरको दबावका कारण उक्त रकम प्राथमिकताको अन्य क्षेत्रमा खर्च गर्न निर्देशन दिइसकेको पनि बताए ।
मंगलबार गण्डकी प्रदेशसभाको बैठकमा उनले राष्ट्र र व्यवस्था परिवर्तनका लागि योगदान दिएका व्यक्तिको सम्मानमा प्रदेश सरकारले बजेट बिनियोजन गर्दा विरोध जनाएकामा असन्तुष्टि जनाए ।
मुख्यमन्त्री पोखरेलका बाबु गोवद्र्धन शर्माको नाममा पार्क निर्माणका लागि गण्डकी प्रदेश सरकारले ५० लाख रुपैयाँ विनियोजन गरेको थियो । तर नेताको आफन्तको नाममा बजेट छुट्याएर राज्यकोषको दोहन गरेको भन्दै नागरिकस्तर र मुख्यमन्त्री पोखरेलको पार्टी नेपाली कांग्रेसभित्र पनि विरोध भएको थियो । विभिन्न विद्यार्थी संगठनले मुख्यमन्त्रीलाई १ रुपैयाँ दान गर्ने अभियानै चलाएर सडक प्रदर्शनसमेत गरेका थिए ।
प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले गोवद्र्धन शर्मा आफ्नो बाबु मात्र नभई प्रजातन्त्र स्थापना र पञ्चायतविरुद्ध अन्दोलनमा सक्रिय योद्धा रहेको बताए । उक्त बजेट आफ्नो परिवारले खर्च गर्नका लागि नछुट्याएको भन्दै उनले प्रजातन्त्रका लागि योगदान गरेको व्यक्तिप्रति पूर्वाग्रही व्यवहार भएको टिप्पणी गरे ।
‘देशमा परिवर्तनका पक्षमा योगदान तथा सहादत प्राप्त गर्नेहरुलाई सम्मान दिनुपर्छ । कुन पार्टी र कुन विचारको थियो, त्यो गौण कुरा हो । इतिहासमा त्यस्ता व्यक्ति पनि हुनुहुन्छ, जो कुनै पदमा बस्नुभएन, जसले जिन्दगीभर व्यक्तिगत कुरातिर लाग्नुभएन,’ मुख्यमन्त्री पोखरेलले भने, ‘यो समाज परिवर्तनका लागि, लोकतन्त्रका लागि योगदान दिनुभयो, त्यस्ता व्यक्तिलाई राष्ट्र वा प्रदेशले सम्झिने कि नसम्झिने ?’
वीपी कोइराला, गणेशमान सिंह, पुष्पलाल श्रेष्ठ जस्ता प्रजातन्त्रका लागि योगदान गरेका नेताको नामको प्रतिष्ठानलाई केन्द्र सरकारले बजेट दिने गरेको भन्दै पोखरेलले आफ्नो बाबु शर्माको नामको प्रतिष्ठानमा बजेट छुट्याएर अन्यथा नगरेको टिप्पणी गरे ।
‘त्यस्ता धेरै व्यक्तित्वहरु हुनुहुन्छ, जसलाई सम्मान गरेका छौं, गर्नुपर्छ र त्यो केन्द्रीय सरकारले गरिआएको पनि छ । त्यो भनेको के हो भन्दा उहाँहरुको नाममा विभिन्न प्रतिष्ठान छन्, संस्थाहरु छन्,’ मुख्यमन्त्री पोखरेलले भने, ‘ती संस्थाहरुलाई केन्द्रीय सरकारले करोडौं रुपैयाँ दिएको अवस्था छ, किन ? ती परिवारलाई बाँडेर खान दिएको होइन, परिवारले खान बनाएको पनि होइन । ’
२०४६ पछि त्यस्ता व्यक्तिहरुका नाममा बनेका प्रतिष्ठानलाई राज्यले सम्मानस्वरुप सहयोग गर्ने अभ्यास नै रहेको पोखरेलको भनाइ छ । तर, आफ्ना बाबु भएकै कारण गोवद्र्धन शर्मा स्मृति प्रतिष्ठानलाई बजेट छुट्याएको विषय धेरै प्रचार गरिएको मुख्यमन्त्री पोखरेलको दुखेसो छ ।
गोवर्द्धन शर्माको नाममा मेमोरियल ट्रस्ट १५ औं वर्षदेखि रहेको बताउँदै पोखरेलले ट्रस्टले अर्गानिक खेतीदेखि लिएर कृषिको अनुसन्धानसम्मको काम गर्दै आएको बताए ।
कुनै व्यक्तिको नाममा पार्क बन्दा त्यो व्यक्तिगत नहुने उनको भनाइ छ । गण्डकी प्रदेशमा अघिल्लो सरकारले रवीन्द्र अधिकारीका नाममा बजेट विनियोजन गर्दा आफूहरुले विरोध नगरेको मुख्यमन्त्री पोखरेलले बताए ।
मुख्यमन्त्री पोखरेलले यसअघिदेखि बजेट विनियोजन हुँदै आएको र प्रदेशले नै उपलब्धीको रुपमा लिएको बागलुङ काठेखोलाको जिमाक सांस्कृतिक संग्रहालय स्थापना तथा स्तरोन्नतिका लागि बजेट विनियोजन गर्दा पनि विरोध भएकामा दुखेसो गरे ।
सरकारले विनियोजन गरेका बजेटका शीर्षकहरु वैधानिक र कानुनी रुपमा ठीक हुँदाहुँदै पनि लोकतान्त्रिक परिपाटी र नागरिक समाजजस्ता लोकतन्त्रका पहरेदारहरुको आवाजलाई कदर गरिएको उनले बताए ।
मिडिया, सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई अनुरोध गर्दै मुख्यमन्त्री पोखरेलले भने, ‘याद गर्नुहोस्, यही रोस्ट्रममा अघिल्लो सरकारले सामाजिक सञ्जालमा रोक लगाउन लाग्यो भनेर आवाज बुलन्द गर्ने चेहेराहरु यहीँ छौं । यो वा त्यो बहानामा सामाजिक सञ्जाललाई कन्ट्रोल गरिनुहुन्न । सामान्य कानुनबाहेक अरु कानुन बनाएर नियन्त्रण गर्न पाइँदैन भन्ने हामीहरु नै हो । तर, देखिरहेको छु, त्यो सञ्जाललाई ।’
मुख्यमन्त्री पोखरेलले गोवद्र्धन शर्मा स्मृति कोष, पुननारायण धनकुमारी श्रेष्ठ परोपकारी ट्रस्ट भवन निर्माण, डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान भवन निर्माण, अमृत जोशी स्मृति पार्कका लागि छुट्याएको बजेट प्राथमिकताका क्षेत्रमा खर्च गर्न निर्देशन दिइसकेको संसदलाई जानकारी गराए ।
मुख्यमन्त्री पोखरेलका बाबुको नामको प्रतिष्ठानसँगै प्रदेश सरकारले सामाजिक विकासमन्त्री मेषलाल श्रेष्ठको बुबाआमा पुननारायण, धनकुमारी श्रेष्ठको नाममा रहेको ट्रस्टका लागि दुई फरक फरक शीर्षकमा १ करोड रुपैयाँ विनियोजन गरेको थियो ।
कांग्रेस नेता अर्जुनप्रसाद जोशीका बाबुको नाममा २० लाख रुपैयाँ परेको छ भने सत्तारुढ दल राष्ट्रिय जनमोर्चाकी सांसद पियारी थापा र उनको श्रीमानको नाममा खुलेको प्रतिष्ठानमार्फत काम गर्न ६० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो ।
कांग्रेसका स्वर्गीय नेता डिल्लीराम लामिछानेको नाममा खुलेको प्रतिष्ठानलाई प्रदेश सरकारले २० लाख रुपैयाँ विनियोजन गरेको थियो । जनता समाजवादी पार्टीकी सांसद धनमाया लामाको आफन्तको नाममा ५० लाख र माओवादी सांसद विनोद केसीको परिवारका सदस्यको स्मृति भवन बनाउन १२ लाख रुपैयाँ विनियोजन भएको थियो ।
प्रतिक्रिया 4