
२८ असार, काठमाडौं । बजेटमा करको दर हेरफेर गरेको विषयमा निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको पहिलो बैठक संयोजक चयन नगरी सकिएको छ ।
मंगलबार दिउँसो साढे १ बजेदेखि साँझ ५ बजेसम्म बसेको बैठकले समितिको कार्यविधि पारित गरेको छ । ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णको संयोजकत्वमा बसेको समिति बैठकले समितिको संयोजक भने चयन गर्न सकेन । सभापति चयनको पहल भए पनि सफल नभएको समिति सदस्य कांग्रेस सांसद पुष्पा भुसालले बताइन् ।
ज्येष्ठ सदस्य कर्णका अनुसार बैठक बुधबार दिउँसो साढे २ बजे फेरि बस्नेछ । समिति सचिव सुरेन्द्र अर्यालले सर्वसम्मतिमा सभापति चयन गर्ने निर्णय पनि भएको जानकारी दिए ।
‘सकेसम्म सर्वसम्मतिमा सभापति चयन गर्ने निर्णय भएको छ । अब अर्को बैठक (बुधबार दिउँसो साढे २ बथजेसम्म) माननीय सदस्यहरुले आन्तरिक छलफल गरेर सहमतिको प्रयत्न गर्ने भन्ने भएको छ’ सचिव अर्यालले भने ।
समितिलाई कार्य प्रारम्भ गरेको १० दिनभित्र प्रतिवेदन दिने समयावधि तोकिएको छ । तोकिएको समयावधि मंगलबारबाटै सुरु भएको छ ।
निवर्तमान अर्थमन्त्री शर्मामाथि आर्थिक वर्ष २०७९–८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराई करको दर हेरफेर गरेको आरोप लागेपछि प्रतिनिधिसभाले २२ असारमा ११ सदस्यीय विशेष समिति गठन गरेको थियो ।
समितिमा सांसदहरु खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, पुष्पा भुसाल, बिमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो र सुरेन्द्र यादव रहेका छन् ।
छानबिन गर्न समिति गठन भएपछि शर्माले २२ असारमै राजीनामा दिएका थिए ।
प्रतिक्रिया 4