
२८ असार, दाङ । दाङमा सार्वजनिक सडकको बीचमै घर बनाउन थालेपछि विवाद बढेको छ ।
घोराही-तुलसीपुर सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका-१० स्थित सौरिकुला सडकखण्डमा स्थानीय सुकदेव लहरेले सडकको बीचमै घर बनाउन जग खनेपछि विवाद सिर्जना भएको हो ।
सौरिकुलाबाट उत्तरतर्फ गएको सडकको बीचमा उनले केही दिनअघिमात्र आफ्नो जग्गा पर्ने भन्दै बिच सडकमा घर बनाउन खाडल खनेका थिए ।
उनले खाडल खानेपछि सौरिकुलादेखि उत्तरतर्फका स्थानीयलाइ दैनिकी आवात जावत गर्न समस्या भएको छ । त्यस्तै विद्यार्थीलाई लिन स्कुल बससमेत जान सकेको छैन ।
‘मान्छे हिड्नेबीच सडकमै खाडल खनिएको छ’ स्थानीय गोविन्दबहादुर न्यौपाने भने, ‘परापुर्वकालको बाटो मासेर घर बनाउने लागेपछि हामीलाई समस्या भएको छ ।’
यता, जिल्ला अदालत र पुरावेदन अदालतले उक्त सडकको जग्गामा अवरोध गर्न नपाइने गरि कुनै संरचना नबनाउन आदेश दिइसकेको छ । तर, उनले अदालतको आदेशको अवेज्ञा गर्दै सडकको बीचमा घर बनाउन खाडल खनेका छन् ।
उनले सडकको जग्गा आफ्नो नाममा रहेको भन्दै घर बनाउन लागेका हुन् । अदालतले भने उक्त जग्गा धेरै पहिलेदेखि नै सडकका रुपमा प्रयोग गरिदै आएकोले सडक अवरोध नगर्न आदेश दिइसकेको छ ।
यसैक्रममा स्थानीयले मंगलबार घोराहीमा उपमहानगरपालिकामा पुगेर बीच सडकमा घर निर्माणको कार्य रोक्ने माग गरे । अदालतको आदेशका विरुद्धमा घर निर्माण गर्न लागिएको भन्दै स्थानीयहरु स्थानीय सरकार समक्ष पुगेर आफ्नो गुनासो राखेका हुन् ।
घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले सार्बजनिक जग्गा मास्न नपाइने बताए । उनले अदालतले गरेकै फैसला कार्यान्वयन गराएर सडकमा घर निर्माण भइरहेको कार्य रोक्न लगाउने बताए ।
प्रतिक्रिया 4