
२८ असार, विराटनगर । प्रदेश १ को प्रदेशसभाको दशौं तथा अन्तिम अधिवेशनबाट नाम टुङ्गो लगाउने प्रयासमा दलहरु जुटेपछि पहिचानका पक्षधरहरूको सक्रियता बढेको छ ।
कांग्रेस एमालेले भूगोलको पक्षमा अडान राखेपछि पहिचानवादीहरुको सक्रियता बढेको हो ।
नामको टुङ्गो लगाउनका लागि भन्दै शुक्रबार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बसेको थियो । बैठकमा नेकपा एमाले र राप्रपाले भूगोलको आधारमा कोशी र सगरमाथा प्रस्ताव गर्दा माओवादीले किराँत प्रस्ताव गर्यो ।
नेकपा एकीकृत समावादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले बहुपहिचानलाई आधार मानेर अघि बढ्नु पर्ने बताए ।
शनिबार पत्रकार सम्मेलन गर्दै नेपाली कांंग्रेसले भूगोललाई आधार मानेर ‘सप्तकोशी’ नाम प्रस्ताव गरेको छ । शुक्रबारको बैठकमा कांग्रेसले चर्चामा रहेका नामहरुमा सहमति खोज्नुपर्ने बताएको थियो ।
प्रदेशसभा गठन भएपछि नामका लागि छलफल गर्न बसेको बैठक विना निष्कर्ष टुङ्गिएपछि सहमतिको प्रयासका लागि फेरि छलफलमा बस्ने एमाले नेता हिक्मत कार्कीले बताए ।
प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई ठूला दलले भूगोललाई आधार मानेर अघि बढ्नुपर्ने बताएपछि जातीय पहिचानका आधारमा नाम राख्न भन्दै पहिचानका पक्षधरहरूले सोमबार मुख्यमन्त्री राजेन्द्र राईलाई ज्ञापन पत्र बुझाएका छन् । पहिचानका पक्षधर मानिएका ३२ वटा संस्थाले बहुपहिचानका आधारमा नाम राख्न माग गरेका थिए ।
संयुक्त पहिचानका आधारमा ‘किराँत लिम्बुवान प्रदेश’ नामकरण गर्न माग गर्दै संयुक्त संघर्ष समितिले आन्दोलन पनि घोषणा गरेको छ । संघर्षसमितिले असार ३२ गते जिल्लाहरुमा कोणसभा गर्ने र साउन ५ गते प्रदेश १ को राजधानी विराटनगरमा प्रदर्शन गर्ने घोषणा गरेको हो ।
ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री राजेन्द्र राईले बहुपचिानका आधारमा प्रदेशको नामकरण गर्नुपर्ने बताए ।
प्रदेशसभाको चौथो ठूलो दलका नेता राईले बहुपहिचानका आधारमा नाम राख्ने बताए पनि दुई ठूला दल कांग्रेस र एमाले भूगोलका आधारमा जानुपर्ने अडानमा छन् । दुई दलको प्रस्ताव पनि एउटै नदीसँग जोडिएको छ । प्रदेश १ का १२ जिल्लालाई छोएको नदीलाई कोशी र सप्तकोशी दुवै नामले चिनिन्छ ।
नेपाली कांग्रेस प्रमुख सचेतक सुयर्माराज राई नेपाली कांग्रेसले अघि सारेको ‘सप्तकोशी’मा जातीय पहिचान पनि जोडिने तर्र्क गर्छन् । एमाले नेता कार्की प्रदेशको नामका लागि भूगोललाई आधार मान्नु पर्ने भएकाले कांग्रेसको प्रस्तावमा सकारात्मक भएको बताउँछन् ।
‘सप्तकोशी किराँत, हिन्दु सबैको सभ्यतासँग जोडिएको छ,’ कांग्रेस प्रमुख सचेतक राईले भने, ‘कोशी शब्दले मात्रै समग्रतालाई समेटदैन ।’ कोशीले समग्रतालाई नसमेट्ने भएका कारण नेपाली कांग्रेसले सप्तकोसी प्रस्ताव गरेको प्रमुख सचेतक राईको भनाइ छ ।
नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो साझा पहिचानलाई आधार बनाएर नाम राख्नुपर्ने बताउँछन् ।
नामका लागि दुई तिहाई मत आवश्यक पर्छ । ९० जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा एमालेसँग ३९, नेपाली कांग्रेससँग २१, माओवादी केन्द्रसँग १५, नेकपा एकिकतृ समाजवादीसँग १०, जसपासँग ३ र राप्रपा र संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चसँग एक–एक सांसद छन् । भूगोलको पक्षमा रहेका तीन दलसँग ६१ मत छ ।
प्रतिक्रिया 4