
२८ असार, काठमाडौं । लाखको लगानीमा करोडौं आम्दानी गर्दै आएका सेयर ब्रोकरहरुको खर्च दावीमाथि सरकारले आशंका प्रकट गरेको छ ।
सेयर खरिदबिक्रि सेवा प्रदान गर्दा प्राप्त सेवाशुल्क बापत ५० वटा ब्रोकरले एकै बर्ष झण्डै १० अर्ब ६९ करोड आम्दानी गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।
त्यसमध्ये अधिकांश ब्रोकरको सञ्चालन खर्च १० प्रतिशत हाराहारी रहे पनि धेरैजसो ब्रोकरले ४०-५० प्रतिशतसम्म खर्च दावी गरेका छन् । जसमा ग्राहकबाट प्राप्त सेवाशुल्कबाट उल्टै ग्राहकलाई कमिसन दिएकोसमेत देखाइएको छ ।
एक ब्रोकरले आर्थिक बर्ष २०७७/०७८ मा मात्र ७ करोड २० लाख रुपैयाँ कमिसन बापत ग्राहकलाई फिर्ता गरी खर्च दावी गरेको देखिएको महालेखा परीक्षकको कार्यालयका एक अधिकारीले जानकारी दिए ।
‘ब्रोकरले कमिसन रकम लगानीकर्तालाई नै फिर्ता गरेको भनेर खर्च दाबी गरेकाले कतै त्यसबाट आयकर त छलिएको छैन भनी सम्बन्धित निकायहरुलाई सचेत गराएका छौं’ उनले भने ।
केही ठूला ब्रोकरले संस्थागत लगानीकर्तालाई सेवा शुल्कबाट कमिसन बापत फिर्ता गरेको भन्दै खर्च देखाएको उनीहरुको वासलातमा देखिन्छ ।
ब्रोकरले उक्त आर्थिक वर्षको वाषिर्क विवरण कर कार्यालयमा पेश गर्दा कमिसन फिर्ता दिएको भन्दै खर्च देखाएको फेला परेको हो । कर कार्यालयले महालेखा परिक्षकको कार्यलयसँग यसबारे छलफल गरेको थियो । महालेखा परिक्षकको कार्यालयले आन्तरिक राजस्व कार्यालयलाई त्यस्तो रकमलाई खर्च मान्न नसकिने आशयसहितको पत्र पठाएको स्रोतले जनाएको छ ।
केहि ब्रोकको नाफामा कुल आम्दानीको ९० प्रतिशत भन्दा माथि हुँदा केही ब्रोकरको भने ५० प्रतिशत भन्दा बढी रहेको छ । एउटै प्रकृतिको सेवा दिने ब्रोकरको खर्चमा यति धेरै अन्तर हुनुले पनि यसमा केही न केही त्रुटी रहेको औंल्याउन सकिन्छ ।
के भन्छन् ब्रोकर ?
धितोपत्र सम्बन्धी कानुनले नै धितोपत्र बजारका स्टेक होल्डरलाई धितोपत्र खरिद बिक्रिको लागि उत्साहित गर्न नपाउने व्यवस्था गरेको छ ।
यदि कुनै दलाल व्यवसायीले आयकर नतिर्नको लागि कमिसन रकम फिर्ता गरेको देखाउँछ भने पनि अपराध ठहरिन्छ भने लगानीकर्तालाई कारोबार गर्न उत्साहित गर्नको लागि कमिसन फिर्ता गरेको छ भन्ने त्यो पनि आर्थिक अपराध हुने देखिन्छ ।
धितोत्रप व्यवसायीको व्यवसायिक प्रकृति तथा सिद्धान्तले कमिसन छुट अथवा फिर्ता गर्न नमिल्ने धितोपत्र दलाल व्यवसायी नरेन्द्र सिंजापतिको तर्क छ । अर्कोतर्फ कर कानुनले पनि कमिसन फिर्तालाई खर्च मान्ने नसक्ने उनको तर्क छ ।
धितोपत्र दलाल व्यवसायी नै कुनै पनि लगानीकर्तालाई ब्रोकरले कमिसन छुट दिन नसक्ने र दिए पनि खर्चमा देखाउनु ‘अनैतिक’ भएको बताउँछन् ।
‘कमिसन छुट दिएर कसैलाई कारोबार गर्न उत्साहित गर्छ, भने त्यो अपराध हो,’ सिंजापति भन्छन्, ‘सेयर ब्रोकरले कुनै पनि लगान्ीकर्तालाई सेयर किन्न र बेच्नको लागि उक्साउन पाइँदैन, कारोबार कमीसन नै छुट दिनु भनेको कारोबारको लागि उक्साउनु हो ।’
नेपालमा एउटै किसिमको सेयर ब्रोकर सर्भिस रहेकोले सैद्धान्तिक रुपमा कुनै पनि ब्रोकरले सेयर किन्न र बेच्नको लागि छुट कमिसनमा छुट दिएर प्रलोभनमा पार्न नपाउने उनको तर्क छ ।
‘कुनै पनि दलाल व्यसायीले कमीसन छुट अथवा फिर्ता दिनै मिल्दैन,’ उनले भने, ‘यदि त्यस्ता भएको ब्यालेन्स सिट देखेर पनि धितोपत्र बोर्ड र नेप्से चुप लागेको छ भने त्यसमा उनीहरुकै मिलेमतो हुनसक्छ ।’
धितोपत्र दलाल व्यवसायीमा देखिएको यस्तो बेथितिले धितोपत्र बजार नै शंकाको घेरामा परेको छ । एकतिर गत आर्थिक वर्षमा भएको आम्दानीलाई लगानीकर्तालाई नै फिर्ता गरेको देखाइएको छ भने भने अर्कोतर्फ गत आर्थिक वर्षमा ब्रोकरले गरेको आम्दानी लगानीको तुलनामा सानो छैन ।
१ अर्ब ९४ करोड रुपैयाँ चुक्ता पूँजी रहेका ब्रोकरको एक वर्षको नाफा नै ७ अर्ब ५६ करोड देखिन्छ । जुन १०० रुपैयाँ लगानी गर्दा करिब ३९० रुपैयाँ नाफा भएको देखिन्छ ।
केहि समय अगाडि सेयर लगानीकर्ता तिलक कोइराला १९ बुँदे माग राख्दै अनसनमा बसेको थिए । उनको १९ बुँदे मागमध्ये ब्रोकर कमिसन समायोजन पनि एक थियो ।
ब्रोकरले नाफा उच्च भएपछि त्यसलाई कम देखाउन लगानीकर्तालाई नै कमिसन रकम फिर्ता गरेर खर्च देखाएको तथ्यले ब्रोकर कमिसन समायोजन गर्न गरेको मागको औचित्य थप पुष्टि हुने देखिएको छ । धितोपत्र बोर्डले पनि ब्रोकर कमिसन समायोजन गर्न भन्दै अध्ययन कार्यदल बनाइसकेको छ ।
प्रतिक्रिया 4