
२९ असार, काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीका नेता कार्यकर्ताले चिनियाँ नेता देङ सियाओ पिङको भूमिकामा बस्न सुझाव दिएका छन् ।
अध्यक्ष भट्टराई पक्षको काठमाडौंमा मंगलबारबाट जारी केन्द्रीय समितिको विस्तारित बैठकमा सहभागी केही नेता कार्यकर्ताले भट्टराईलाई कार्यकारी भूमिकाबाट बाहिर बसेको अभिभावकीय भूमिका निर्वाह गर्न सुझाव दिएका हुन् ।
‘चिनियाँ नेता देङ र डा. भट्टराईबीच केही समानता छन् । उनीहरू दुवै प्रतिष्ठित विश्वविद्यालयबाट अर्थशास्त्र अध्ययन गरेका नेता हुन् । दुवै नेता पार्टीभित्र दक्षिणपन्थी संशोधनवादीको आरोप खेप्दै विभिन्न कारबाही भोगेका नेता हुन्,’ बैठकमा सहभागी एक नेताले भने ।
देङले राजनीतिक जीवनको पछिल्लो समय कुनै कार्यकारी भूमिकामा नबसी बाहिरैबाट आर्थिक समृद्धिको नेतृत्व गरेको सन्दर्भ ती नेताले उल्लेख गरे । ‘डा. भट्टराईले नयाँ पुस्तालाई नेतृत्वमा अगाडि सार्दै राजनीतिक विकल्प खोजेका सबै पक्षलाई एकतावद्ध हुने वातावरण बनाउनुपर्छ,’ उनले भने ।
बैठकमा अधिकांश नेताहरूले वैकल्पिक राजनीतिलाई पुनर्गठन गरेर जानुपर्नेमा जोड दिएका छन् भने केही नेताले विचार मिल्ने शक्तिसँग ध्रुवीकरण गरेर जानेमा जोड दिएका छन् ।
विस्तारित बैठकमा सहभागी नेता कार्यकर्ताहरूलाई मंगलबार ११ समूहमा विभाजन गरिएको थियो । समूह छलफलमा उठेका विषयलाई बुधबार २२ जनाले रिपोर्टिङ गरिरहेका छन् ।
प्रतिक्रिया 4