
२९ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सार्वजनिक कार्यक्रममा जान छोडेका छन् । बुधबार र बिहीबारका लागि तय भएका कार्यक्रमहरुमा उनले उपस्थित नहुने जानकारी गराएका छन् । तर कारणबारे भने उनले नखुलाएको आयोजकहरुले बताएका छन् ।
बुधबार चार्टर एकाउन्टेन्टहरुको संस्था ए क्यानले मौद्रिक नीतिको विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । उनलाई उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोलाइएको थियो । तर कार्यक्रममा उनी सहभागी भएनन् । कार्यक्रममा उनको सट्टामा राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र सहभागी भए ।
बिहीबारका लागि तय भएको मौद्रिक नीतिको बहस कार्यक्रममा पनि सहभागी नहुने जानकारी उनले आयोजकलाई गराएका छन् । गभर्नर अधिकारी कार्यक्रममा सहभागी नहुने भएपछि उक्त कार्यक्रम नै रद्द गरिएको छ ।
घनश्यम भुसाल प्रमुख रहेको नेकपा एमालेको विभागीय अर्थ तथा योजना विभागको सदस्यमा खोटाङ घर भएका ‘एम अधिकारी’ मनोनित भएको समाचार सार्वजनिक भएको थियो । खोटाङ घर भएका ‘एम अधिकारी’ राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै भएको भन्दै उनको चर्का आलोचना भइरहेको छ । यसअघि पनि राष्ट्र बैंकको डेपुटी गभर्नरबाट अवकास भएपछि उनी सुरेन्द्र पाण्डे नेतृत्वमा सोही विभागका सदस्य बनेका थिए ।
खोटाङ घर भएका ‘एम अधिकारी’ महाप्रसाद अधिकारी नभएको एमाले नेताहरुले बताइरहेका छन् । तर, मनोनित भएका ‘एम अधिकारी’ को हुन् भन्नेबारे अहिलेसम्म सार्वजनिक गरिएको छैन । यसले पनि गभर्नर महाप्रसाद अधिकारी नै ‘एम अधिकारी’ हुने भन्ने आशंकामा थप बल पुगेको छ ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २१ अनुसार गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक पदमा नियुक्त हुन राजनीतिक दलको सदस्य वा पदाधिकारी हुन नहुने व्यवस्था छ ।
ऐनको दफा २२ को उफदफा ५ मा दफा २१ बमोजिम अयोग्य भएमा पदमुक्त हुने व्यवस्था छ । सरकारले जाँचबुझ समिति गठन गरेर मात्रै पदमुक्त गर्न सक्ने व्यवस्था छ ।
नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ ले प्रचलित कानुन बमोजिम आफूले पाएको मतको अधिकार प्रयोग गर्न बाहेक अन्य कुनै पनि किसिमबाट कर्मचारीले चुनाव तथा राजनीतिमा भाग लिन नहुने व्यवस्था गरेको छ ।
२४ चैत २०७६ मा अधिकारी गभर्नरमा नियुक्त भएका थिए । उनी त्यसअघि लगानी बोर्डमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) थिए । ९ असार २०७३ मा लगानी बोर्ड गएका उनी त्यसअघि राष्ट्र बैंकको डेपुटी गभर्नर थिए ।
प्रतिक्रिया 4