
२९ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई फेरि सभापति हुने मन नभएको तर निहुँ खोजे फेरि विधान संशोधन गरेर सभापति हुने घुर्की लगाएका छन् ।
बुधबार पार्टीको केन्द्रीय समिति बैठकमा नेताहरुले सभापति देउवाको आलोचना गर्दै चुनावमा गठबन्धन गर्न आवश्यक नभएको बताएका थिए । केन्द्रीय सदस्य सञ्जयकुमार गौतमले गठबन्धन गरेर चुनाव त जितिएला तर पार्टीले हार्ने बताएका थिए ।
उनलाई जवाफ दिँदै सभापति देउवाले ‘मलाई धेरै नजिस्क्याउनुस् तपाईंहरु, राम्रो पार्टी बनाएर योग्य नेतालाई छोड्न चाहन्थेँ । यस्तै गर्नुभयो भने विधान संशोधन गरेर फेरि सभापति हुन सक्छु’ भनेको एक नेताले बताए ।
नेपाली कांग्रेसको विधानमा एक जनाले दुई पटक मात्र सभापति हुन पाउने व्यवस्था छ । तर देउवाले शेखर पक्षका नेताहरुलाई लक्षित गर्दै यस्तै गतिविधि गरे विधान संशोधन गरेर सभापति हुने बताएका हुन् ।
देउवाले गठबन्धन नगरे चुनाव जित्नुहुन्छ भनेर गौतमलाई प्रश्नसमेत गरेका थिए ।
बैठकमा देउवा पक्षका नेताहरुले पार्टीका नेताले होटल होटलमा गुटको भेला गर्नु बेठीक भएको बताएका थिए । केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले शेखर पक्षलाई छलफल गर्न पार्टी कार्यालयमा नै कोठा दिनुपर्ने बताएका थिए ।
जवाफमा देउवाले भने, ‘यही कोठा प्रयोग गर्नुस् न ।’
प्रतिक्रिया 4