
२९ असार, वीरगञ्ज । जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष डा. बाबुराम भट्टराईको समूहले गरेको बैठक अवैधानिक भएको बताएका छन् ।
मधेश प्रदेशको वीरगञ्जमा जारी जसपा नेपालका केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले पार्टीको विधानले संघीय परिषद् अध्यक्षलाई केन्द्रीय समितिको बैठक बोलाउने अधिकार नदिइएको बताए । न्युनतम राजनीतिक संस्कार र संस्कृति पनि नभएका व्यक्तिहरूले काठमाडौंमा सानो गुटको भेला गरेको बताउँदै यादवले गुटको भेलालाई जसपाको ब्यानर प्रयोग गर्ने अधिकार नभएको टिप्पणी गरे ।
यादवले भट्टराईसहितको समूहलाई फर्कन पनि आग्रह गरे । भने, ‘अझै पनि म भन्छु फर्किनुस्, भेला इत्यादि छाडेर धेरै साथीहरूलाई पार्टीमा फर्किन म आह्वान गर्छु । पार्टी विधान विधि र अनुशासनले चल्छ । त्यो पालना गर्दै अघि बढ्नुपर्छ ।’
जसपालाई क्षेत्रीयतावादी, जातीयतावादीको आरोप लगाई डा. भट्टराई पार्टीबाट अलग भएको भन्दै यादवले त्यो आरोप नश्लवादी चिन्तन भएको टिप्पणी गरे । डा. भट्टराईले माओवादीमा हुँदादेखि नै हस्ताक्षर संकलन गरेर नेतृत्व परिवर्तन गर्ने चेष्टा गर्ने गरेको भन्दै उनले जसपामा पनि त्यही प्रवृत्ति दोहोर्याउन खोजेको बताए ।
उनले बाबुरामलाई अस्थिर भएको आरोप लगाउँदै भने, ‘अस्थिर मानसिकताले पार्टी र शक्ति निर्माण हुन सक्दैन । भाषण गरेर समृद्धि आउँदैन। विकास गर्नका लागि सबैभन्दा पहिला परिवर्तन गर्नुपर्छ ।’
जसपाको यादव समूहले वीरगञ्जमा र भट्टराई समूहले काठमाडौंमा केन्द्रीय समिति बैठक गरेका छन् ।
प्रतिक्रिया 4