
२९ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले २२ असारमा सञ्चालन गरेको बीबीए छैटौं सेमेष्टरको ‘एमजीटी २०३ : अर्गनाइजेसनल बिहेभियर’ का विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । शिक्षकले गल्ती गर्ने, पटक पटक परीक्षा दिनुपर्ने विद्यार्थीले ? भन्दै विरोध गरिरहेका छन् ।
उक्त परीक्षामा मोर्डन नेपाल कलेजको ‘प्रि बोर्ड’ परीक्षाको प्रश्नपत्र बाँडेको पाइएपछि डीन कार्यलयले परीक्षा स्थगित गरी साउन १ गते नयाँ परीक्षा मिति तोकेको छ ।
विद्यार्थीले परीक्षा दिइसकेपछि निजी कलेजको हुबहु प्रश्न सोधिएको पत्ता लागेपछि डीन कार्यलयले परीक्षा स्थगित गर्दै साउन १ गते परीक्षा मिति तोकेको थियो । तर, विद्यार्थीहरुले भने शिक्षक तथा डीन कार्यालयको लापरबाहीको सजाय आफूहरुले भोग्नुपरेको भन्दै डीन कार्यालय बाहिर प्रदर्शन गरेका छन् ।
उक्त प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी विद्यार्थीमाथि कुटपिट गरेको छ । पाँच जनालाई प्रहरीले नियन्त्रण लिई कुटपिट गर्दै डीन कार्यलयमा थुनेको विद्यार्थी विकल्प केसीले बताए । नयाँ मितिमा परीक्षा दिनुपर्ने कारण जान्न डीन कार्यालय जाँदा प्रहरी लगाएर कुटपिट गरेको उनले बताए ।
केसीले भने, ‘शिक्षक र डीनले गल्ती गर्ने अनि सजाय हामीले पाउनुपर्ने ? हामीले किन फेरि इक्जाम दिने भनेर डीनलाई सोध्न गएका हौं । तर, प्रहरी लगाएर हामीलाई कुटपिट गरियो ।’ प्रहरीले उनीहरुलाई कुटपिट गर्नुका साथै लछारपछार गर्दा कपडा च्यातिएको छ ।
डीन कार्यलयले यस अघि नै प्रश्नपत्र निर्माणमा सहभागी दुई जना शिक्षकलाई कारबाही गरिएको सूचना जारी गरेको थियो ।
प्रतिक्रिया 4