
२९ असार, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) महामारी नियन्त्रणमा ३२ अर्ब ६२ करोड रुपैयाँ खर्च भएको जनाएको छ ।
महालेखा परीक्षकको ५९औं प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७६/७७ देखि २०७७/७८ सम्म दुई आर्थिक वर्षमा यो रकम खर्च गरेको हो । यो रकम संघीय सरकारदेखि स्थानीय तहबाट समेत भएको खर्चको एकमुष्ट हिसाव हो ।
निजामती प्रशासन, सुरक्षा निकाय र अन्य निकायबाट यस्तो खर्च भएको महालेखाले जनाएको छ । स्वास्थ्य सामग्री, औषधि उपकरण, संक्रमित व्यक्तिको व्यवस्थापन, क्वारेन्टिन तथा आइसोलेसन केन्द्र निर्माण, राहत सामग्री, जोखिम भत्ता लगायतमा सो रकम खर्च भएको पाइएको छ ।
कोभिड कालमा ३ अर्ब आयकर छुट
कोरोना महामारीका दौरान सरकारले ३ अर्ब रुपैयाँ बराबरको आयकर छुट दिएको पाइएको छ । यस्तो छुट कुल ५ लाख १२ हजार जना करदाताले लिएका छन् ।
आर्थिक वर्ष २०७७/७८ मा मात्र २ अर्ब ८९ करोड २९ लाख रुपैयाँ बराबरको आयकरमा छुट पाएको प्रतिवेदनमा उल्लेख छ । सरकारले सो वर्ष वार्षिक २ लाखसम्म आय हुनेलाई ९० प्रतिशत, २० लाख देखि ५० लाख रुपैयाँसम्म कारोबार गर्नेलाई ७५ प्रतिशत र वार्षिक १ करोडसम्म कारोबार गर्नेलाई ५० प्रतिशत आयकर छुट दिएको थियो ।
४१ अर्बको उपकरण आयातमा भन्सार लागेन
उता, यसै आवमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा ४० अर्ब ८१ करोड ८२ लाख रुपैयाँ बराबरको स्वास्थ्य उपकरण आयातमा राजस्व छूट दिइएको छ ।
तर, यसरी दिइएको भन्सार छुटबाट उपभोक्ताले लाभ पाए वा पाएनन् भन्ने अध्ययन भने नभएको महालेखाले उल्लेख गरेको छ ।
प्रतिक्रिया 4