
३० असार, काठमाडौं । उपसभामुख पदको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै छ । आज बिहान ११ बजेदेखि अपराह्न १ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।
उम्मेदवारको नामावली प्रकाशन पनि आजै हुने र शुक्रबार दिउँसो ३ बजेपछि उपसभामुख चयनका लागि मतदान हुने संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ ।
उपसभामुखका लागि सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुषाल उम्मेदवार बन्ने भएकी छन् । हाल सचेतक रहेकी भुषालले अनलाइनखबरसँग कुरा गर्दै आफूले उपसभामुख पदमा उम्मेदवारी दर्ता गर्ने बताइन् ।
तर प्रतिपक्षीको तर्फबाट उम्मेदवार को बन्ने भन्ने टुंगो लागिसकेको छैन । उम्मेदवारको विषयमा आज बिहान नेकपा एमालेका शीर्ष नेताहरुले अनौपचारिक छलफल गरेका थिए । तर उम्मेदवारी दिने कि नदिने भनेर टुंगो नलागेको एक नेताले बताए । अध्यक्ष केपी शर्मा ओलीले ‘आवश्यक निर्णय’ गर्न भनेर सुवास नेम्वाङ, प्रदीप ज्ञवाली लगायतका नेताहरुलाई भनेका थिए ।
सो छलफलमा मधेशवादी दलबाट उम्मेदवार बनाउने कि भन्ने विकल्पमा पनि छलफल भएको थियो । तर त्यसमा पनि ठोस कुरा नभएको स्रोतले बतायो । यसबारे अरु दलसँग पनि छलफल गर्ने भन्दै एमाले नेताहरु उठेका थिए ।
एकमात्र उम्मेदवारी दर्ता भए निर्विरोध निर्वाचित भएको घोषणा हुने छ । तर एकभन्दा बढी उम्मेदवार भए निर्वाचनबाट टुंगो लगाइने छ ।
संविधानमा सभामुख र उपसभामुख फरक दल र फरक लिंगबाट हुनुपर्ने व्यवस्था छ । हाल सभामुख नेकपा माओवादी केन्द्रबाट अग्नि सापकोटा रहेकाले अब उपसभामुख अरु कुनै दलबाट र महिला हुनेछिन् ।
प्रतिक्रिया 4