
३० असार, काठमाडौं । स्वास्थ्य सामग्री खरिद घोटालामा मुछिएको ओम्नी विजनेस कर्पोरेट इन्टरनेसनलले नेपाल वायुसेवा निगमको २ करोड रूपैयाँ भाडा नतिरेको खुलेको छ । महालेखा परीक्षकको कार्यालयको ५९औं वार्षिक प्रतिवेदनले १५ चैत, २०७६मा चीनको ग्वान्झाओबाट चार्टर्ड उडानमार्फत मेडिकल सामग्री ल्याएको कम्पनीले भाडा नतिरेको औंल्याएको छ ।
महालेखाले ब्याजसहित १ करोड ८६ लाख ७६ हजार रुपैयाँ भाडा असुल गर्न सिफारिस गरेको छ । ओम्नीले मेडिकल समाग्री आपूर्ति गरेबापतको १ लाख ५४ हजार डलर भाडा तिर्न मानेको छैन ।
नेपाल एयरलाइन्स स्रोतका अनुसार तत्कालीन संस्कति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफू जमानी बस्ने भन्दै दिएको ठाडो निर्देशनमा विमान मेडिकल सामग्री लिन ग्वान्झाओ गएको थियो । महालेखाले अग्रिम रुपमा भाडा नलिई चाटर्ड उडान गराउने पदाधिकारीलाई जिम्मेवार बनाएर सो रकम असुल्न निर्देशन दिएको छ ।
स्वास्थ्य सेवा विभागले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएसँगै विभागले ओम्नी विजनेस कर्पोरेट इन्टरनेसनलसँग महँगो दरमा सम्झौता गरेर चीनबाट स्वास्थ्य उपकरण ल्याउन यो समूहसँग सम्झौता गरेको थियो ।
त्यस सम्झौताअनुसार सरकारले नेपाल एयरलाइन्सको विमान पठाएर व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगायत धेरै स्वास्थ्य सामग्री पनि ल्याएको थियो । तर, बिना प्रतिस्पर्धा निकै महंगो मूल्यमा उपकरण खरिदको सम्झौता गरिएको भन्दै सरकारको आलोचना भएपछि सम्झौता रद्ध भएको थियो । मन्त्रालयले बनाएको कोटेसनभन्दा २० प्रतिशत बढी मूल्य तिरेको थियो ।
प्रतिक्रिया 4