
काठमाडौं । शुक्रबार नेपाली बक्स अफिसमा चार नयाँ फिल्म प्रदर्शनमा आएका छन् । दुई नेपाली र दुई भारतीय फिल्म रिलिज भएका छन् । आकाश श्रेष्ठ, छुल्ठिम गुरुङ र पूजा शर्माको मुख्य भूमिका रहेको फिल्म ‘सम्झना बिर्सना’लाई निमेष प्रधानले निर्देशन गरेका हुन् ।
१ घण्टा ४२ मिनेट लामो फिल्मले पूर्वी नेपालको चियाबारीमा काम गर्ने मजदुरको समस्यालाई चित्रण गरेको छ । यो सँगै त्रिकोणात्मक लभस्टोरी पनि यसमा प्रस्तुत छ ।
केकी अधिकारीको मुख्य भूमिका रहेको कमेडी फिल्म ‘सिल्ली फोर’ले हिरोइन बन्न चाहने चार पात्रको कथा भन्छ । राजबहादुर साने निर्देशित फिल्ममा रविन्द्र झा र राजाराम पौडेलको पनि अभिनय छ ।
शुक्रबारै हिन्दी भाषाको फिल्म ‘स्याबास मिठू’ पनि रिलिज भएको छ । भारतीय महिला क्रिकेट कप्तान मिथाली राजको जीवनमा आधारित यो फिल्ममा तापसी पन्नु र विजयराजको मुख्य भूमिका छ । सुरजीत मुखर्जी निर्देशित फिल्मको लम्बाई २ घण्टा ३६ मिनेट छ । यसलाई बायोग्राफी, ड्रामा र स्पोर्ट्स जनरामा राखिएको छ । यस्तै विक्रम भट्ट निर्देशित बलिउड फिल्म ‘जुदा हो के भी’ समेत प्रदर्शनमा आएको छ । २ घण्टा १ मिनेट लामो यो फिल्म हरर जनरामा आधारित छ ।
फिल्ममा अक्षय ओबराय, रुसद रानाको मुख्य भूमिका छ । शुक्रबारबाट थोर : लभ एन्ड थन्डर नेपाली हलमा दोस्रो सातामा प्रदर्शन भइरहेको छ । एनिमेटेड फिल्म ‘मिनिअन्स : द राइज अफ गुरु’, कबड्डी ४ र जुगजुग जिओ पनि प्रदर्शनरत छन् ।
प्रतिक्रिया 4