
३१ असार, काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ समाप्त हुन अन्तिम दुई दिन बाँकी रहँदा पूँजीगत खर्च बल्ल २ खर्ब नाघेको छ । जब की सरकारले यो वर्ष झण्डै ४ खर्ब रुपैयाँ विकास खर्च गर्ने लक्ष्य लिएको थियो ।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार बिहीबारसम्म २ खर्ब ६ अर्ब ३६ करोड रुपैयाँ बराबरको पूँजीगत खर्च भएको छ । यो कुल लक्ष्यको ५४.५८ प्रतिशत मात्र हो । यस वर्ष सरकारले ३ खर्ब ७८ अर्ब ९ करोड रुपैयाँ पूँजीगत खर्च गर्ने लक्ष्य राखेको थियो ।
सरकारले यस वर्ष पूँजीगत खर्चका लागि शुक्रबार र शनिबार मात्र भुक्तानी गर्न सक्छ । यस अनुसार पछिल्ला केही वर्षयता कै कम पूँजीगत खर्च हुने संकेत देखिएको छ ।
३० दिनमा ६५ अर्ब पूँजीगत खर्च
असारे विकासको प्रचलनलाई सरकारले यस वर्ष पनि निरन्तरता दिएको छ । असार लागेयताको ३० दिनमा मात्र सरकारले ६५ अर्ब रुपैयाँ पूँजीगत खर्च गरिसकेको छ । ३१ जेठमा पूँजीगत बजेट खर्च १ खर्ब ३७ अर्ब रुपैयाँ रहेको थियो ।
पूँजीगत बजेट खर्च प्रभावित हुँदा समग्र खर्च समेत बल्ल ७८.२२ प्रतिशत मात्र भएको छ । शतप्रतिशत बजेट खर्च गर्न सरकारले शुक्रबार र शनिबार मात्र २१.७८ प्रतिशत बजेट खर्च गर्नुपर्ने भएको छ ।
अहिलेसम्म सरकारको कुल १२ खर्ब ७७ अर्ब २० करोड बजेट खर्च गरिसकेको छ । जसमा ९ खर्ब ६१ अर्ब ४८ करोड रुपैयाँ चालु खर्च भएको छ । यो लक्ष्यको ९०.२६ प्रतिशत हो । यस आवमा सरकारले १६ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको बजेट खर्च गरिरहेको छ । आवको अन्तिम दुई दिन बाँकी रहँदा वित्तीय व्यवस्थामा १ खर्ब ९ अर्ब रुपैयाँ मात्र खर्च भएको छ । जुन लक्ष्यको ५७.७२ प्रतिशत हो । यस्तो रकम समेत धेरैजसो विकासमा हुने गर्छ ।
यस वर्ष राजस्व संकलनको लक्ष्य समेत भेटाउन सरकारलाई हम्मेहम्मे पर्ने भएको छ । ३० असारसम्म १० खर्ब ३५ अर्ब ३९ करोड रुपैयाँ राजस्व उठेको छ । यो लक्ष्यको ८७.७ प्रतिशत हो ।
लक्ष्य अनुसार राजस्व संकलन गर्न शुक्रबार र शनिबार कुल १ खर्ब ४५ अर्ब रुपैयाँ राजस्व उठ्नु पर्छ । सरकारले विदेशी मुद्राको सञ्चिती घटाउन आयातमा कडाइ गरेका कारण राजस्व संकलनमा भने असर परेको छ ।
प्रतिक्रिया 4