
काठमाडौं । ग्लोबल आईएमई बैंकले बेलायतको लण्डनमा वृहत् अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । ग्लोबल आईएमई बैंक लिमिटेडको लण्डनस्थित वैदेशिक प्रतिनिधि कार्यालयले उक्त कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकले विदेशमा रहेका नेपालीलाई लक्षित गरी नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा ल्याएकोबारे सहभागीहरुलाई जानकारी गराइएको थियो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवं ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा विदेशी मुद्रा एवं विदेशी लगानी भित्र्याउन गैर आवासीय नेपालीहरुसँग आग्रह गरे । मुलुकभित्र विदेशी मुद्रा भित्र्याउन र दीगोरुपमा नेपालमै वैदेशिक मुद्राको स्रोत बन्ने पर्यटन पूर्वाधार तथा जलविद्युत् आयोजनामा लगानी गर्न उनले आग्रह गरे । धेरै मुलुकहरुको दाँजोमा नेपालमा लगानीको सम्भावना बढी रहेको र प्रतिफल पनि राम्रो रहेको उनको भनाइ थियो ।
‘हामीले चन्द्रागिरिमा एकीकृत पर्यटकीय गन्तव्य विकास गरेका छौं र यस्तै मोडलको एकीकृत पर्यटन पूर्वाधार नेपालका ७ वटै प्रदेशमा निर्माण गर्न गइरहेका छौं । गैरआवासीय नेपालीसँगको सहकार्यमा लम्जुङमा निर्माण भएको जलविद्युत् आयोजना सम्पन्न हुने क्रममा छ । म्याग्दीको कालिगण्डकी नदीमा दुईवटा जलविद्युत् आयोजना निर्माण गर्दैछौं,’ उनले भने, ‘तपाईंहरुले पनि नेपालमा लगानी बढाउनुस् । राज्यलाई पनि सहयोग गर्नुहोस् ।’
उनले नेपाल सरकार, नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चितिमा आएको कमीलाई मध्यनजर गर्दै नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्न मिल्ने प्रावधान ल्याएको भन्दै यसमा सहयोग गर्न आग्रह गरे ।
‘विदेशमा विना व्याजमा यहाँका बैंकमा राखेको पैसा यदी नेपाली बैंकमा विदेशी मुद्रामा नै राख्ने हो भने त्यसको व्याज समेत पाइन्छ । आवश्यक परेको समयमा नेपालबाट पैसा फिर्ता ल्याउन सकिने सुविधा पनि छ । भिसा कार्ड तथा मास्टर कार्डमार्फत विदेशमा खर्च गर्न पनि सक्ने र आवश्यकताअनुसार नेपालमा लगानी गर्न वा घरपरिवारका सदस्यहरुले उक्त बचतलाई नेपालमा नेपाली रुपैयाँमा निकाल्न मिल्ने सुविधा यसमा छ’ उनले भने ।
उनले मुलुकको अर्थतन्त्रमा देखिएको संकट टार्न र मुलुकलाई थप आर्थिक संकटबाट मुक्त गर्न सबै नेपालीहरुले भूमिका खेल्नुपर्ने बताए ।
वेलायतस्थित नेपाली राजदूतावासका डीसीएम रोशन खनालले मुलुकको अर्थतन्त्र बचाउन र मुलुकको विकासमा गैर आवासीय नेपालीहरुको भूमिका महत्वपूर्ण रहेको बताए । उनले नेपालमा वैदेशिक लगानी भित्र्याउन र पर्यटक बढाउन गैर आवासीय नेपालीलाई समेत आग्रह गरे ।
खनालले ग्लोबल आईएमई बैंकले विदेशी मुद्रा भित्र्याउन गरेको पहलको प्रसंशा गर्दै दूतावास पनि यसमा सहकार्य गर्न तत्पर रहेको बताए । उनले बैंकको यस पहलले अहिले मुलुकभित्र देखिएको विदेशी मुद्रा सञ्चितिमाथिको दबावलाई कम गर्न सहयोग पुग्ने विश्वास समेत राखे ।
उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृति रत्नराज बज्राचार्यले नेपाल राष्ट्र बैंकले ल्याएको विदेशी मुद्रामा खाता खोल्ने प्रावधानबारेमा प्रकाश पारे ।
कार्यक्रममा बैंकका युके प्रतिनिधि अमित चालिसेले नेपाल राष्ट्र बैंकले ल्याएको विदेशी मुद्रामा खाता खोल्ने प्रावधानबारेमा प्रकाश पार्दै बैंकका सेवाहरुबारेमा प्रस्तुतीकरण गरेका थिए ।
बैंकले विदेशमा रहेका नेपालीहरुको सेवा र सजिलोको लागि नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने व्यवस्था गरेकोमा बैंकको प्रसंशा गर्दै यसले गैर आवासीय नेपालीको आवश्यकतालाई पूर्ति गर्ने र नेपाललाई सम्भावित आर्थिक संकट टार्न सहयोग पुग्ने धारणा कार्यक्रमका अन्य वक्ताहरुले राखेका थिए ।
कार्यक्रममा गैर आवासीय नेपाली संघ युकेका अध्यक्ष प्रेम गाहा मगर, ब्रिटेन नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष विराज भट्ट, ह्याम्पसायर पोलिस कन्टाबुलरीका सल्लाहकार शिवजी श्रेष्ठ, लण्डन बोरो अफ बार्नेटका काउन्सिलर लक्ष्य गुरुङ, टीएनबी ग्यारिसनका कमान्डिङ अफिसर तोल काम्चालगायतले आफ्नो धारणा राखेका थिए ।
प्रतिक्रिया 4