
३२ असार, काठमाडौं । राजधानीको वाग्मती, विष्णुमती, मनाेहरा र गोदावरी नदी किनारको खाली जमिनमा हजारौं टहरा बनाएर घरविहीनहरू बस्दै आएका छन् ।नदी किनारमा रहेका यी बस्तीका व्यथा अनेक छन् । वर्षायाममा नदी पस्ने त्रासले रातभर अनिंदो बस्छन् सुकुमबासीहरू । अहिले वर्षायाम छ । नदीमा पानीको बहाव झनै उच्च हुन्छ ।
नदी छेउमा भएकै कारण कहिले बस्तीमा बाढी पस्छ पत्तो हुँदैन । वर्षायाम अरु समयभन्दा चिन्ताको विषय बन्छ, सुकुमबासीहरूलाई । हिउँदमा ढलको गन्धले त्यस्तै हैरान बनाउँछ ।
सुकुमबासीलाई व्यवस्थित गरेर राख्न नसक्दा उनीहरूले दुःख त पाएका छन् नै सरकारको पनि खिल्ली उड्ने गरेको छ ।
सरकारले ढल, फोहोरलगायत बस्ती व्यवस्थापन गर्न नसक्दा झनै समस्या परेको छ । बहाव क्षेत्रमा पर्खाल लगाउन पनि बस्ती व्यवस्थित नगरी सहज छैन ।
तस्वीर सौजन्य : न्युज एजेन्सी नेपाल

सुकुमबासी बस्ती छेउका सडकहरु हिलाम्मे छन् । वरपर वन, बुट्यान र झाडी रहेकाले सर्पलगायतको त्रास पनि त्यत्तिकै छ ।
स-साना झुपडी र टहराबाट वर्षौंअघि सुरु भएको यहाँको बस्ती आजकल धेरै ठाउँमा पक्की घरमा परिणत भएको देख्न सकिन्छ ।
कतिपय ठाउँमा महँगो रकम लिएर सटर र कोठा भाडामा लगाउने प्रचलन पनि सुरु भइसकेको छ ।
सरकारले सुकुमबासी र अव्यवस्थित बसोवासीहरुको व्यवस्थापनका लागि आयोग नै बनाएर काम सुरु गरेसँगै धेरै घरविहीनहरू खुसी छन् । तर सरकारले सुकुमबासीहरुलाई व्यवस्थित गर्न नसक्दा कहिले ठाउँ छोडेर हिंड्नुपर्छ भन्ने चिन्ता पनि त्यत्तिकै छ ।
कहींकतै घर नहुने र लामो समयदेखि झुपडीमा वास बस्ने बेसहाराहरुका लागि पछिल्लो समय सुकुमबासी बस्ती आशाको सञ्चार भएको छ ।








प्रतिक्रिया 4