+

नामिबियासँग दोस्रो हारका पाँच कारण

२०७९ साउन  १ गते १३:०१ २०७९ साउन १ गते १३:०१
नामिबियासँग दोस्रो हारका पाँच कारण

१ साउन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टुमा दुई दिनअघि स्कटल्याण्ड विरुद्ध उसैको मैदानमा ऐतिहासिक जित निकाल्दा नेपालले उत्कृष्ट बलिङ गरेको थियो ।

पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको नेपालले दोश्रो खेलमा स्कटल्याण्डलाई १४४ रनमा अलआउट गर्‍यो । र १४५ रनको लक्ष्य २५.१ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । ठूलो लक्ष्य पछ्याउँदा ब्याटिङ्मा कमजोर देखिएको नेपालले सानो लक्ष्यमा पनि ब्याटिङमा संघर्ष नै गरेको थियो ।

 

त्यही खराब ब्याटिङ शृंखला जारी रहँदा नेपाल शनिबार नामिबियासँग ६३ रनले पराजित भयो । नामिबियासँग एक साताभित्रै नेपाल दोस्रो पटक पराजित भयो ।

विपक्षीलाई चार बल अघि १९९ रनमा अलआउट गरेको नेपाल आफैंले भने पूरा ओभर ब्याटिङ गर्न समेत सकेन । २०० रनको लक्ष्य पछ्याएको नेपाल ७३ बल बाँकी छँदै १३६ रनमा अलआउट भयो ।

१३२-६ को अवस्थामा रहेको नेपालले त्यसपछि ४ रन जोड्दा बाँकी रहेको ४ विकेट पनि गुमायो । नेपालका कुनै खेलाडीले अर्धशतक त बनाउन सकेनन् नै व्यक्तिगत ४० रनको छेउछाउ समेत पुग्न सकेनन् ।

यसले पनि पुष्टि हुन्छ कि नेपालको ब्याटिङ कमजोर छ भनेर ।

बलिङमा राम्रो प्रदर्शन गर्दा गर्दै पनि ब्याटिङमा औसत भन्दा तलको प्रदर्शनले नेपाल पराजित भयो । नेपालले नामिबियासँग हार्नुका केही कारण :

फ्लप टप अर्डर

डेभ वाटमोरको आगमनले नेपालको पुरानो समस्या ओपनिङमा केही सुधार ल्याएको थियो । तर वाटमोर पछि आएका पुबुदु दासानायकेको प्रशिक्षणमा नेपालले फेरि ओपनिङमा संघर्ष गर्न थालेको छ । अझ भन्दा टप अर्डर फ्लप जस्तै नै देखिएको छ । ओपनरले राम्रो साझेदारी गर्न सकेको छैन । जसले गर्दा मिडल अर्डरमा धेरै दबाब पर्दै आएको छ ।

नेपालको टप अर्डर नामिबिया विरुद्ध फेरि फ्लप भयो । कुशल भुर्तेल र आसिफ शेखको जोडी जम्न सकेन । अझ कुशल त पहिलो ओभरको चौथो बलमै शुन्यमा आउट भए जतिखेर नेपालले खाता समेत खोलेको थियो ।

त्यसपछि दोस्रो ओभरमा नेपालले रन जोड्न सकेन । तेस्रो ओभरमा आसिफले दुई बाउन्ड्री प्रहार गर्दै विपक्षी बलरलाई दबाबमा राख्न खोजेका थिए । चौथो ओभरमा पनि उनले एक चौका प्रहार गरे ।

तर पाँचौ ओभरमा नेपालले अर्को विकेट गुमायो । देव खनाले ११ बलमा १ रन बनाएर आउट भए । उनलाई बाउन्ड्री लाइनमा बेन शिकोङ्गोले क्याचआउट गरेका थिए । तर उनको आउट विवादास्पद नै बन्यो । पछाडिको एंगलबाट हेर्ने सुविधा भएन । थर्ड अम्पाएर पनि थिएन । उनलाई क्याच आउट गर्दा फिल्डरले बाउन्ड्री छोएको नछोएको थाहा भएन । अम्पायरले उनलाई आउट दिए ।

अर्का ओपनर आसिफ शेख पनि ३२ बलमा ६ चौका प्रहार गर्दै ३४ रन बनाएर १४ औं ओभरमा आउट भए । टप अर्डरका तीन जना आउट हुँदा नेपाल १३.२ ओभरमा ४६-३ को अवस्थामा पुग्यो । जसले गर्दा मिडल अर्डरलाई दबाब पर्‍यो ।

साझेदारी नबन्नु

टप अर्डरले राम्रो शुरुवात दिलाउन नसक्दा मिडल अर्डरमा जिम्मेवारी थपिन्छ । त्यसले गर्दा इनिङ्स होल्ड गर्दै रन बनाउनुपर्ने जिम्मेवारी बढ्छ ।

यस्तोमा साझेदारी निकै महत्वपूर्ण हुन्छ । तर सुरुवातदेखि नै नेपालको राम्रो साझेदारी बन्नै सकेन ।

चौथो नम्बरमा ब्याटिङ गरेका उपकप्तान रोहित पौडेल १७ रन बनाएर आउट भए । यसअघिका खेलमा सम्हालिएर ब्याटिङ गरेका आरिफ शेख ४ रन बनाएर आउट भए ।

छैटौं विकेटका लागि दीपेन्द्र सिंह ऐरी र आदिल आलमले ३६ रनको साझेदारी गरेका थिए । त्यो नै नेपाली इनिङ्सको ठूलो साझेदारी रह्यो । दीपेन्द्र र आदिल क्रिजमा हुँदा नेपालको सम्भावना राम्रो थियो । तर यो साझेदारी तोडिएपछि नेपाल सम्हालिन सकेन । आदिल आउट हुँदा नेपाल ३१.२ ओभरमा ११८-६ को स्थितिमा पुग्यो । त्यसपछि भने नेपालको ब्याटिङ ध्वस्त नै भयो ।

राम्रो साझेदारीले खेल जिताउन सकिन्छ । तर साझेदारी नहुँदा नेपाल हारको बाटोमा पुग्यो ।

नामिबियाले भने सुरुवातमा विकेट जाँदा पनि मिडर ओभरमा होल्ड गरेको थियो अनी लोअर अर्डरले पनि टिकेर खेल्दै खेललाई अन्तिमसम्म पुर्‍याएको थियो । ३६३ को अवस्थामा कप्तान जेरार्ड एरासमसले कप्तानी पारी खेले । उनले जान निकोल लोफ्टी एटनसँग ६९ रनको साझेदारी गरे । कप्तान एरासमसले ७० बल खेल्दै ४ चौका र १ छक्का मद्दतमा ५३ रन बनाएका थिए ।

रन धेरै नबनाए पनि नामिबियाका ब्याटरले धैर्यपूर्ण ब्याटिङ गर्दै महत्वपूर्ण साजेदारी गरेका थिए ।

दीपेन्द्रको खराब रनआउट

अमेरिका टुरदेखि आफ्नो स्वभाविक चौथो स्थान छाडेर पाँचौ नम्बरमा ब्याटिङ गर्दै आएका दीपेन्द्रको फर्म खराब थियो । उनले रन बनाउन सकिरहेका थिएनन् । नामिबिया विरुद्ध उनलाई पुनरागमन गर्ने सही समय थियो । उनले त्यसको छनक पनि देखाएका थिए । हुनत उनले नेपालको तर्फबाट सर्वाधिक ३८ रन पनि बनाए ।

तर एक खराब रनआउटले खेलको अवस्थालाई नै बदलिदियो । दीपेन्द्र रनिङ बिट्विन दि विकेटमा राम्रो मानिन्छन् । उनी रन चोर्न माहिर छन् । तर उनी नचाहिने बेला रनआउटको शिकार भए । एक रन लिएपछि अनावश्यक रुपमा दोस्रो रन चोर्न खोज्दा उनी आफैं रनआउट भए । जबकी अर्को छेउबाट पवन सर्राफले त्यति चासो दिएका थिएनन् ।

जसले नेपाललाई घाटा लाग्यो । नेपालको हारको टर्निङ प्वाइन्ट त्यही भयो । दीपेन्द्र क्रिजमा हुँदा नेपाल १३१-६ को अवस्थामा थियो र उनले क्रिजमा जमाइसकेका थिए । नेपालले अझै १५ ओभर भन्दा बढी बाँकी थियो । तर दीपेन्द्र रनआउट हुनु नपालको लागि घातक भयो । त्यसपछि नेपाल सम्हालिनै सकेन र लगातार विकेट गयो ।

 

कमजोर फिनिसिङ

एकदिवसीय खेलमा नेपालले पूरा ५० ओभर खेल्न सकेन । यदी नेपालले खेललाई अन्तिसम्म लम्बयाएको भए जितिन्थ्यो कि भन्ने लागिरहन्छ । तर नेपाल ३७.५ ओभर अर्थात ७३ बल अघि नै अलआउट भयो । नामिबियाका बर्नार्ड स्कोल्ट्स एक्लैले ५ विकेट लिँदै नेपालको इनिङ्स धरासायी पारे ।

मिडल ओभरमा नेपालको लगातार विकेट जाँदा नेपालले इनिङ्स होल्ड गर्न सकेन र खेललाई अन्तिमसम्म लैजान सकेन । यो नेपालको अर्को कमजोरी बन्यो । नेपाली ब्याटरले जिम्मेवारपूर्वक ब्याटिङ गर्न सकेनन् र खराब सट हान्दा नेपाल चाँडै अलआउट भयो ।

ब्याटिङमा मात्र होइन बलिङ्गमा पनि फिनिसिङ भएन । नेपाल दुई मुख्य बलर लिएर मैदान उत्रिएको थियो । अरु अलराउण्डर र पार्ट टाइम बलरमा भर परेको थियो । प्रोपरर बलर नहुँदा नेपालले विपक्षीलाई चाँडै अलआउट गर्न सकेन । ४० ओभरपछि पनि नेपालले धेरै स्पीनर खेलाइरहेको थियो । यतिसम्मकी ४८औं र ५०औं ओभर स्पीनर दीपेन्द्रले बलिङ गरे । अन्तिम दुई विकेट उनै दीपेन्द्रले लिएका थिए ।

 

खै तेस्रो बलर ?

नामिबिया विरुद्ध नेपालका दुई प्रमुख बलर कप्तान सन्दीप लामिछाने र सोमपाल कामी मात्र थिए । अनी एक मात्र फास्ट बलरको रुपमा सोमपाल थिए । नेपालले बलिङको सुरुवात नै स्पीनर वसिर अहमदबाट गराएको थियो । उनी स्पीन अलराउण्डर हुन् ।

नेपालका अर्का फास्ट बलर करण केसीलाई बेञ्चमा राख्दै स्पीन अलराउण्डर पवन सर्रफलाई पहिलो रोजाईँमा खेलाएको थियो । करण नहुँदा नेपालका बलर झन् कम भयो ।

सन्दीप र सोमपाल बाहेक तीन स्पीन अलराउण्डर (वसिर, पवन र दीपेन्द्र) तथा दुई फास्ट बलिङ अलराउण्डर (आदिल आलम र आरिफ) थिए । उनी उनीहरु विकेट लिने बलर भन्दा पनि रन रोक्ने किसिमका बलर थिए ।

सन्दीप र सोमपाल जस्तै विकेट लिने खालको तेस्रो बलरको अभाव नेपाली टिममा देखियो ।

नेपाली क्रिकेट लिग टु क्रिकेट
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय