
१ साउन, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट नियमित उडानको अनुमति नलिने र चार्टर्डमा जहाज उडाउने वायुसेवा कम्पनीको प्रवृत्तिमा अब रोक लाग्ने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले अब नेपालगञ्जबाट पहाडी भेगमा दिने उडान अनुमति एकद्वार गरेको छ । आइतबारदेखि लागू भएको यस नियमका कारण आज नेपालगञ्जबाट पहाडी भेगमा कुनै पनि जहाज उडेनन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगञ्ज विमानस्थल प्रमुख सुवास झाका अनुसार यसअघि नियमित उडानको तालिका प्राधिकरणबाट स्वीकृत गर्ने र चार्टर्ड उडानको अनुमति नेपालगञ्जस्थित कार्यालयबाटै लिन सकिने प्रावधान थियो । जसले गर्दा वायुसेवा कम्पनीले कम मात्र नियमित उडानको तालिका लिएर महँगोमा चार्टर्ड उडान गर्दै आएका थिए ।
यसलाई नियन्त्रण गर्न अब नियमित र चार्टर्ड दुवै उडानको अनुमति प्राधिकरणबाटै लिनु पर्ने गरी निर्णय भएको छ ।
‘आपतकालीन अवस्थामा चार्टर्ड उडान हुन्छ,’ उनले भने, ‘तर, यात्रुले नियमिततर्फ टिकट नै नपाउने र जहाज भने धमाधम उड्ने प्रवृत्तिको अन्त्य हुन्छ ।’
यसअघि चार्टर्ड पार्टीहरुले जहाजमा यात्रुको ग्यारेन्टी गर्ने र उनीहरुमार्फत वायुसेवा कम्पनीहरुले यात्रु बोकिरहेका थिए । जसको मुख्य नियमित टिकटको तुलनामा दोब्बरसम्म हुने गर्छ । यो विषयलाई महालेखा परीक्षकको प्रतिवेदनमा समेत उल्लेख गरेको छ ।
नयाँ नियम अनुसार अब नियमित उडानमा पहिला नै तालिका स्वीकृत गराउनु पर्छ । कुनै दिन चार्टर्ड उडान गर्नु परे अब प्राधिकरणको केन्द्रीय कार्यालयबाटै अनुमति लिनु पर्नेछ ।
महालेखा परीक्षकको ५९औं प्रतिवेदन अनुसार नेपालगञ्ज विमानस्थलबाट एक वर्षको अवधिमा ३१२ वटा नियमित उडान भएका छन् । जहाँ यसै विमानस्थलबाट एक वर्षको अवधिमा ३ हजार ४६२ वटा चार्टर्ड उडान भएका छन् । सामान्यतया चार्टर्ड उडानमा भाडा दोब्बरसम्म महँगो हुन्छ ।
मन्त्रिपरिषद्को २७ मंसिर, २०७३ को बैठकले दुर्गम क्षेत्रका विमानस्थलहरुमा नियमित उडान नगर्ने र चार्टर्ड उडान मात्र हुँदा सेवाग्राहीले महंगो भाडा तिर्नु परेको भन्दै यी विमानस्थलहरुमा कम्तिमा ३० प्रतिशत नियमित उडानको अवस्था सुनिश्चित गर्ने निर्णय गरेको थियो । तर, प्राधिकरणले मन्त्रिपरिषद्को सो नियम अनुसार नियमन गर्न नसकेको पाइएको छ । महालेखा परीक्षकको प्रतिवेदन अनुसार निजी कम्पनीहरुले अहिले पनि नियमित भन्दा चार्टर्ड उडानलाई प्राथमिकता दिने गरेका छन् । यसले दुर्गम भेगका यात्रुले चर्को भाडा तिर्न बाध्य भएका हुन् ।
प्रतिक्रिया 4