
काठमाडौं । यतिबेला नेपाली फिल्म हलमा ‘सम्झना बिर्सना’ मुस्किलले चलिरहेको छ । ठूलै हल्ला तर कमजोर ओपनिङ गरेको फिल्मलाई विकडेजमा १० प्रतिशतको अकुपेन्सी हासिल गर्न पनि मुस्किल छ ।
यस्तोमा कलाकारहरु प्रचारप्रसारमा खटिनुपर्ने हो । तर अभिनेत्री पूजा शर्मा ‘म यस्तो गीत गाउँछु २’ चलाउन अस्ट्रेलिया पुगेकी छन् । गत साताको पत्रकार सम्मेलनमा पनि पूजा उपस्थित भइनन् । अभिनेता आकाश श्रेष्ठ एक्लै खटिएका थिए ।
फिल्मको पब्लिसिटीमा साथ नदिएपछि निर्देशक निमेष प्रधान असन्तुष्ट सुनिए । ‘फिल्मको पब्लिसिटीमा दोस्रो दिनदेखि हिंड्नुपर्ने मान्छे अस्ट्रेलिया उडिदिनुभएछ,’ फिल्म चलाउन दार्जिलिङबाट काठमाडौं आइपुगेका प्रधानले भने, ‘आउँछु दाइ भनेर हिंडेको मान्छे फोन गर्दा एयरपोर्ट पुगेको छु भन्ने खबर आयो ।’
आकाश र पूजाको व्यक्तिगत झगडाको असर पनि फिल्मलाई परेको उनले गुनासो गरे । ‘फिल्म आफ्नो ठाउँमा छ, तर उहाँहरुको व्यक्तिगत झगडाको असर फिल्ममा पर्नुहुने थिएन । हामीलाई नेगेटिभ प्रभाव पर्यो,’ उनले भने ।
निर्देशक प्रधानका अनुसार यो फिल्मका लागि पूजाले २० लाख रुपैयाँ पारिश्रमिक लिएकी थिइन् । फिल्मको बजेट २ करोड रुपैयाँ बताइन्छ । ‘हामीले उहाँलाई भनेजति पारिश्रमिक दियौं र त्यसबापत निर्माताको अपेक्षा पनि हुन्छ,’ प्रधान भन्छन्, ‘त्यो पूरा भएन । हामी निराश छौं ।’
कलाकारले प्रचारप्रसारमा साथ नदिंदा निर्माताको यस्तो गुनासो पहिलोपटक चाहिं होइन । यसअघि पनि नाम चलेका कलाकारले पब्लिसिटीमा साथ नदिंदा निर्देशक र निर्माताको गुहार धेरैपटक सुनिएको छ ।
प्रतिक्रिया 4