
२ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारको नेतृत्वबारे छलफल गर्ने बेला नभएको बताएको छ ।
गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले आगामी प्रदेश र प्रतिनिधिसभा चुनावमा सत्ता गठबन्धनमा रहेका दलहरुसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ, तर स्थिर सरकार हुनुपर्ने भन्दै पाँच वर्ष आफूले नेतृत्व गर्न पाउनुपर्ने शर्त राखेको छ ।
एकीकृत समाजवादीका उपमहासचिव एवं प्रचार विभागका प्रमुख जगन्नाथ खतिवडाले चुनावी तालमेल गर्ने कांग्रेसको निर्णय सिद्धान्तत: गलत नभएको बताए ।
तर अहिले सरकारको नेतृत्वबारे बहस गर्ने बेला नभएको भन्दै उनले भने ‘यसरी शर्त राख्दै जाने हो भने अरुका पनि शर्त आउँछन् । नेतृत्व मात्र किन ? मन्त्री, जीएम पनि कसले कति लिने भनेर विवाद गरे भइहाल्यो ।’
खतिवडाको भनाइ उनकै शब्दमा
गठबन्धन गरेर जाने हाम्रो पुरानै धारणा हो । स्थानीय चुनावमा पनि थुप्रै कमी कमजोरीका बाबजुद हामीले गठबन्धनलाई अगाडि बढ्ने कोशिस गर्यौं । अब पनि आगामी निर्वाचनसम्म लैजान चाहन्छौं । त्यसैले कांग्रेसको निर्णय सिद्धान्ततः गलत छैन ।
तर हामीले के बिर्सिनुभएन भने यो गठबन्धन यत्तिकै उत्पत्ति भएको होइन । यो गठबन्धन कांग्रेस एक्लैले बनाएको होइन । कांग्रेसको गठबन्धन पनि होइन । आज प्राप्त गरेको सिट पनि कांग्रेस एक्लैले होइन, संयुक्त रुपमा प्राप्त गरेका हौं । त्यसैले आगामी दिनमा गहन सम्वाद गरेर गठबन्धनलाई अगाडि लैजानुपर्छ ।
जहाँसम्म सरकारको नेतृत्वमा कांग्रेसको दाबी छ, यसरी शर्त राख्दै जाने हो भने अरुका पनि शर्त आउँछन् । नेतृत्व मात्र किन ? मन्त्री, जीएम पनि कसले कति लिने भनेर विवाद गरे भइहाल्यो । त्यसैले यो विषयमा छलफल गर्ने बेला भएको छैन ।
कांग्रेसले आफ्नो धारणा सार्वजनिक गरेर जनमत बुझ्ने कोशिस गर्यो, धन्यवाद नै भन्नुपर्ला ।
प्रतिक्रिया 4