+

हार्दिक पाण्ड्या : भारतलाई जिताउने अलराउण्डर

२०७९ साउन  ३ गते १३:२७ २०७९ साउन ३ गते १३:२७
हार्दिक पाण्ड्या : भारतलाई जिताउने अलराउण्डर

३ साउन, काठमाडौं । हार्दिक पाण्ड्यालाई अन्तर्राष्ट्रिय करियरको सुरुवाती समयमा भारतका लेजेण्ड अलराउण्डर कपिल देवसँग तुलना गरिन्थ्यो । तर उनले आफूलाई कपिल देवसँग तुलना नगर्न र हार्दिक पाण्ड्या नै बन्न दिन आग्रह गर्दै आएका छन् ।

जे होस् अन्तर्राष्ट्रिय क्रिकेटमा भारतलाई जिताउन उनको अलराउण्ड प्रदर्शनको भूमिका हुने वित्तिकै भारतीय मिडियाले उनलाई कपिल देवसँग तुलना गरिहाल्छन् ।

तर यसपटक उनै कपिल देवले हार्दिकको तारिफ गरेका छन् । सन् १९८३ मा भारतलाई पहिलो पटक क्रिकेट विश्वकप जिताएका कपिलले पाण्ड्याको प्रदर्शनबाट खुसी लागेको बताएका छन् ।

ओल्ड ट्राफोर्डमा भएको तेश्रो तथा अन्तिम एक दिवशीय क्रिकेटमा पाण्ड्याको अलराउण्ड प्रदर्शनको बलमा भारतले इंग्ल्याण्डमाथि ५ विकेटको जित हात पारेको थियो ।

नम्बर एक तीव्र गतिका बलर जसप्रित बुमराह घाइते भएपछि हार्दिकले टिममा चौथो मिडियम पेर र पाँचौ बलरको भूमिका निर्वाह गर्नुपरेको थियो । उनले बलिङमा आफ्नो करियरकै उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए । ७ ओभर बलिङ गर्दा ३ मेडन राख्दै २४ रन खर्चे । त्यसमा पनि उनको पहिलो स्पेल गज्जबकै थियो । जहाँ उनले ४ ओभर फाल्दा २ मेडन राख्दै २ रन मात्र खर्चेर २ विकेट लिए ।

बलिङमा चम्केका उनको ब्याट पनि चल्यो । नम्बर ६ मा ब्याटिङ गरेका उनले ७१ रन बनाए । ५५ बल खेल्दै १० चौका हानेका हार्दिकले युवा विकेटकिपर ब्याटर ऋषभ पन्तसँग पाँचौ विकेटका लागि १३३ रनको साझेदारी गरे ।

त्यसो त इंग्ल्याण्डसँगको अन्तिम टेष्टमा मात्र होइन, भ्रमणको पहिलो खेल टी-२० आई पनि भारतले पाण्ड्याको प्रदर्शनकै आधारमा जितेको थियो । ब्याटिङतर्फ ५१ रन बनाएका उनले बलिङतर्फ ४ विकेट लिएका थिए । टी-२० आईको एकै खेलमा अर्धशतक बनाउने र ४ विकेट लिने उनी भारतकै पहिलो र विश्वको पाँचौँ खेलाडी हुन् ।

आईपीएलमा रिटेन नगर्नु आश्चर्य

इन्डियन प्रिमियर लिग (आईपीएल) १५ को मेगा अक्सनअघि मुम्बई इन्डियन्सले हार्दिकलाई रिलिज गरेको थियो । त्यसपछि यी खेलाडी फेरिएका छन् ।

उनले आफ्नो क्षमतालाई प्रमाणित गर्न आईपीएलको लयलाई इंग्ल्याण्डमा पनि निरन्तरता दिए । आईपीएलमा नयाँ टिम गुजरात टाइटन्सलाई च्याम्पियन बनाउन उनले १५ खेलमा ४८७ रन बनाए । नम्बर चारमा ब्याटिङ गरेका उनले चार अर्धशतक प्रहार गरे । यस्तै ८ विकेट पनि लिए ।

‘मुम्बई इन्डियन्सले रिटेन नगरेपछि उनी आश्चर्यमा परेका थिए,’ भारत र इंग्ल्याण्डबीचको खेलमा कमेन्ट्री दौरान पूर्व प्रशिक्षक रवी शास्त्रीले भने । मुम्बईसँग रोहित शर्मा, इशान किसन, बुमराह, सूर्यकुमार यादव र हार्दिक जस्ता खेलाडी भएकोले यो कठिन भएको पनि शात्रीले बताए ।

गुजरालाई कप्तानी गर्नुपर्ने जिम्मेवारीले हार्दिक क्रिकेटरको रुपमा परिवर्तन भएको शास्त्रीले बताए । ‘उनलाई गुजरात टाइटन्सले लियो र उनलाई त्यहाँ कप्तानको अतिरिक्त जिम्मेवारी दिइयो । जसले गर्दा उनले राम्रो गरे । जब जिम्मेवारी दिइयो उनी फरक क्रिकेटरको रुपमा देखा परे ।’

बलिङमा जम्दै हार्दिक

पाण्ड्याले आईपीएलकफ फाइनलमा राजस्थान रोयल्सलाई १३० रनमै रोक्न १७ रन खर्चेर ३ विकेट लिए । जसले बलिङमा उनी अझै राम्रो हुँदै गएको देखायो । यसलाई ‘हार्दिक पाण्ड्या २.०’ को रुपमा समेत चर्चा गरियो । यस प्रदर्शनले उनलाई अहिलेसम्मकै फिट देखिन मदद्त पुग्यो ।

उनले यो पटक इंग्ल्याण्ड भ्रमणमा केही छिटो बलिङ गरे । केही समय १४० को गतिमा । सन् २०१९ अक्टोबरमा चोटको उपचारपछि दुई वर्ष ब्याटरको भूमिकामा मात्र खेलेका पाण्ड्याको अलराउण्डर जर्नी प्रेरणादायी छ ।

भारतीय टिमका पूर्व विकेटकिपर किरन मोरले धेरै व्यक्तिले हार्दिकले फेरि बलिङ गर्नेमा शंका गरेको र बलरको रुपमा उनको पुनरागमन भारतीय क्रिकेटका लागि महत्वपूर्ण रहेको बताए । उनको आगमनले टिममा सन्तुलन मिलेको र टिममा चौथो बलरको रुपमा हुँदा धेरै फाइदा पुग्ने मोरको बुझाइ छ ।

बरोदामा रहेको मोरको क्रिकेट एकेडेमीमा पाण्ड्या दाजुभाइ हार्दिक र क्रुनलले क्रिकेट सिकेका थिए । हार्दिकको सुरुवाती समयका प्रशिक्षक बरोदाका जितेन्द्र सिंहले हार्दिकले आफ्नो लय लिएको र अहिले राम्रो भएको बताए ।

‘उनले आईपीएल १५ अघि फिटनेसमा धेरै मेहनत गरे । उनको आत्मविश्वास बढेको देखिएको छ । जुन कुरा बढ ल्याङवेजमा देख्न सकिन्छ । उनले के बलिङ गरिरहेका छन् उनलाई थाहा छ । उनले फास्ट बलिङ गरिरहेका छन् । उनी अग्ला छन् जसले गर्दा बल रिलिज राम्रो छ र अतिरिक्त बाउन्स पाउँछन्’, मोरले भनेका छन् ।

भारतीय क्रिकेट हार्दिक पाण्ड्या

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय