
३ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाका एकजना जनप्रतिनिधले कुकुर मार्ने अभिव्यक्ति दिएपछि उनको चर्को आलोचना सुरु भएको छ । पशुअधिकारकर्मीहरुले यस्तो अभिव्यक्ति दिने जनप्रतिनिधिलाई कारबाही हुनुपर्ने आवाज उठाइरहेका छन् ।
असहाय गाईबाच्छा संरक्षण अभियानले विज्ञप्ति नै जारी गरेर ‘कुकुर मार्छु’ भन्ने अभिव्यक्ति दिने जनप्रतिनिधिलाई कारबाही गर्न माग गरेको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर ३० का वडाध्यक्ष दलबहादुर कार्कीले कार्यपालिका बैठकमै कुकुर मार्ने अभिव्यक्ति दिएका थिए । उनले भनेका थिए, ‘बजारमा कुकुर मार्ने औषधि खोजी रहेको थिएँ । बजारमा औषधि नै छैन, औषधि पाएको भए २ हजार ५ सय कुकुर एकै पटक मार्ने थिएँ । म पहिला पनि कुकुर मारेको मान्छे पनि हो ।’
अभियानका अध्यक्ष उत्तम पुडासैनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौं महानगरपालिका जस्तो गरिमामय संस्थाका एकजना वडा अध्यक्षले कुकुर मार्ने जुन अभिव्यक्ति सार्वजनिक रुपमा दिनुभयो त्यसले उहाँको सोच र हैसियतलाई छताछुल्ल मात्र बनाइदिएको छैन अन्तर्राष्ट्रिय जगतमा हाम्रो शीर निहुरिएको छ ।’
‘यो धर्ती मान्छेको मात्र होइन, सबै प्राणीहरुको साझा बासस्थान हो । संसार २१औं शताब्दिको सोचमा मग्न भइरहँदा हामी उही १६औं शताब्दिको पुरातन सोचमा रुमलिएका छौं’ पुडासैनीले भनेका छन् ।
अनगिन्ति पीडालाई सहन गर्दै धेरै अर्थमा मान्छेको सहयात्री र रक्षकका रुपमा आफनो ख्याती आर्जन गरेका अवोध कुकुरहरुको उचित व्यवस्थापन र उनीहरुको सम्मानजनक जीवनयापनको बदलामा उनीहरुलाई मार्ने सोच पाखण्डपनको पराकाष्टा भएको उनको भनाइ छ ।
विगतमा कुकुर मारेको तथ्यलाई गौरवका रुपमा प्रस्तुत गर्ने वडाध्यक्षको असंसदीय अभिव्यक्ति प्रति खेद ब्यक्त गर्दै उनले यस्ता व्यक्ति जनप्रतिनिधिका रुपमा रहिरहनु राष्ट्रकै लागि लज्जाको बिषय भएको बताए ।
घृणात्मक अभिव्यक्ति, हत्या र हिंसा जस्ता कृयाकलापको वकालत आफैंमा अपराधकर्म भएको र दण्डनीय रहेको भन्दै उनले त्यस्ता व्यक्तिमाथि कारबाही हुनुर्ने माग राखेका छन् ।
प्रतिक्रिया 4