
३ साउन, गोरखा । दृष्टिविहीनलाई लक्षित गरी जिल्लामा कम्प्यूटर तालिम सञ्चालन भएको छ । गोरखा नेत्रहीन संघको आयोजनामा सञ्चालित तालिममा १४ जना सहभागी थिए ।
सरस्वती मावि आहाले, जलकुमारी मावि थुमी र अमरज्योति मावि लुईटेलमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरु तालिममा सहभागी रहेको गोरखा नेत्रहीन संघका अध्यक्ष पवन बस्नेतले बताए । गोरखा नगरपालिका–५ स्वाँरा स्थित संघको भवनमा तालिम सञ्चालन भइरहेको छ ।
विद्यालयको बर्खे बिदाको समयमा दृष्टिविहीन विद्यार्थीलाई सीप सिकाउने उद्देश्यले तालिम सञ्चालन गरिएको बस्नेतले जानकारी दिए । विद्यार्थीलाई कम्प्युटर सिकाउने सुमित्रा कुमारी माझीका अनुसार वद्यार्थीहरु अहिले नेपाली टाइपिङ गर्न जान्ने भइसकेका छन् ।
कम्प्यूटरसँगै उनीहरुलाइ हिडडुल गर्ने तालिम पनि दिइएको कार्यक्रम संयोजक अमृत राईले बताए । ‘विद्यालयमा कम्प्यूटर छ, तर दृष्टिविहीनहरुले त्यसको प्रयोग गर्न सकेका छैनन्,’ उनले भने, ‘यो तालिमले बिद्यालयमा भएको कम्प्यूटरको पनि सदुपयोग हुन्छ भन्ने अपेक्षा हो ।’
प्रतिक्रिया 4