
काठमाडौं । ६० वर्ष पार गरेपछि मान्छेको मनोदशा कस्तो हुन्छ ?
यो प्रश्न किन पनि जरुरी छ भने जीवनको उत्तरार्द्ध त्यति रसिलो र भरिलो हुँदैन, जति पूर्वार्द्धमा हुनेगर्छ । यतिबेला शरीर कमजोर भइसकेको हुनसक्छ । दीर्घरोगले गाँजेको हुनसक्छ । कामबाट अवकाश पाइसकेको हुनसक्छ । शाखा–सन्तान छुटिसकेको हुनसक्छ । जीवन एक्लिंदै गएको हुनसक्छ ।
यतिबेला शरीरमा जोश र उर्जा हराउँदै गएको होला, मनमा आकांक्षा र रहर खुम्चिंदै गएको होला, जीवनका रहर र रंगहरु उजाडिंदै गएको होला । यस्तो स्थितिमा मान्छे कस्तो हुन्छ ?
‘बुढ्यौलीतिर ढल्किंदै गएपछि समाज, परिवारले अलि बेवास्ता गर्ने प्रवृत्ति छ,’ मनोविद् डा. नरेन्द्र सिंह ठगुन्ना भन्छन्, ‘त्यसैले उनीहरु एक्लो महसुस गर्न थाल्छन् ।’ अक्सर बुढापाकाहरु रिसाउने, झर्किने, साना बालबालिका जस्तो व्यवहार गर्ने कारण पनि यही हो ।
६० वर्षको उमेर, जो समयले धेरै कुरा पकाइसकेको हुन्छ । दुःख–सुख, खुसी–पीडा, संयोग–वियोग सबै कुरा झेलिसकेका हुन्छन् । वास्तवमै यो एक परिपक्व उमेर हो । यद्यपि बुढ्यौली उमेरमा मान्छेले काम गर्न सक्दैन भन्ने बुझाइ छ । उनीहरुलाई ‘अनुत्पादक’ मानिन्छ ।
‘समाज र परिवारले वृद्धवृद्धाले काम गर्न सक्दैनन् भनेर उनीहरूले गर्न लागेको काम पनि बुबा तपाईं नगर्नुस्, आमा तपाईं नगर्नुस्, बसिराख्नुस् भनेर उनीहरूलाई आइसोलेटेड गरिदिन्छन्,’ डा. ठगुन्ना भन्छन् ।
६० कटेपछि शिथिल !
६० वर्षको उमेरअघि मानिसहरू एकदमै सक्रिय हुन्छन् । तर ६० वर्ष उमेर कटिसकेपछि भने सक्रिय हुन छाड्नुपर्छ भन्ने मानसिकता नेपाली समाजमा व्याप्त छ । यस्तो मानसिकताले गर्दा नै नेपालमा धेरै वृद्धवृद्धा ६० वर्षपछि जोसिलो र उत्सुक हुँदैनन् ।
हामी सक्षम छौं हामी अरूको आशमा बस्नु हुँदैन भन्ने सोच ६० वर्षसम्मका मानिसको हुन्छ । तर ६० कटिसकेपछि भने जोस जाँगर हराउँछ, आफूले केही गर्न सकिंदैन अरूको आशमा बस्नुपर्छ भन्ने सोच धेरै ज्येष्ठ नागरिकमा पाइने मनोविद् गृष्मा पनेरु बताउँछिन् ।
वृद्धवृद्धामा जोस जाँगर र उमंग नहुनुको सबैभन्दा अर्को मुख्य कारण भनेको युवाहरू विदेशिनु पनि हो । हरेकजसो घरबाट एउटा न एउटा युवा विदेशिएका हुन्छन् । घरमा बुवाआमा वा हजुरबा–हजुरआमा मात्र छन् । यसरी घरमा वृद्धवृद्धा मात्र निष्क्रिय भएर बस्दा शारीरिक तथा मानसिक रूपमा पनि केही न केही असर त पक्कै पर्ने पनेरु बताउँछिन् ।
‘ज्येष्ठ नागरिकहरूले ६० वर्षपछि हामी निष्क्रिय हुन्छौं, केही काम गर्न सक्दैनौं भन्ने मानसिकता छ,’ उनी भन्छिन्, ‘यस्तो सोचाइ राख्नुभन्दा म स्वस्थ छु, उत्साह र उमंगले भरिएको छु भन्ने सोच राख्नुपर्छ ।’
हाम्रो समाजले पनि यस्तो मानसिकतालाई प्रोत्साहन गरिरहेको हुन्छ । वृद्धवृद्धा भएपछि घरमा निष्क्रिय बस्नुपर्छ भन्ने वातावरण सिर्जना गरिदिएको हुन्छ । तर काम गरिरहेको मान्छेले एक्कासि काम गर्न छाडेर निष्क्रिय बस्दा उसमा झनै नकारात्मक असर पर्ने उनी बताउँछिन् ।
उनका अनुसार कुनै पनि व्यक्ति स्वस्थ हुन शारीरिक र मानसिक दुवै रूपमा स्वस्थ हुनु जरुरी हुन्छ । ‘खुला मानसिकता भएको व्यक्ति छन् भने उनीहरू ६० कटिसकेपछि पनि कुनै पनि काम गर्न, नयाँ काम सिक्न पछि हट्दैनन्,’ पनेरु भन्छिन्, ‘तर कमजोर मानसिकता भएको व्यक्ति छन् भने चाहिं ६० काटेपछि अब मेरो समय गयो, म केही गर्न सक्दिन भन्छन् ।’
एक अध्ययन अनुसार मानिसको उमेर र उसको सोंचबीच खास तालमेल रहन्छ । कुनै व्यक्तिले आफूलाई पाको वा बुढो सोच्छ भने त्यसको प्रभाव उनको काम गर्ने शैली, गतिशीलता र ऊर्जामा पर्छ । जस्तो कि एउटा पाको उमेरका व्यक्तिले आफूलाई जवान सोच्छ भने उनमा ऊर्जा र उत्साह हुन्छ । यसैगरी कुनै युवाले आफूलाई बुढो सोच्छ भने उनको कार्यक्षमता पनि कमजोर देखिन्छ ।

मनोविज्ञ भन्छन्, ‘कुनै पनि व्यक्ति कस्तो मानसिकताको छ त्यसले पनि उसको सक्रिय हुने उमेरलाई फरक पार्छ ।’
समय अनुसारका चलन गलत हुन् भन्ने मानसिकता भएका व्यक्ति छन् भने उनीहरूलाई उमेर ढल्किंदै जाँदा समयसँग चल्न गाह्रो हुन्छ । तर समय अनुसारको चलन र परम्परालाई आत्मसात् गर्दै चल्ने व्यक्ति भने उमेर ढल्किंदै जाँदा पनि समयसँगै आफूलाई ढालेर अघि बढ्छ ।
वृद्धवृद्धा कस्तो वातावरणमा बसेका छन्, त्यसले पनि उनीहरूलाई निष्क्रिय बनाउँछ । यदि राम्रो वातावरणमा बसेका छन् भने त्यसले पनि उनीहरूको मुड परिवर्तन गरेर खुसी बनाउने पनेरुको तर्क छ ।
ज्येष्ठ नागरिकको सीप र ज्ञानको सदुपयोग
उमेर हद अनुसार ५८ वर्षपछि कुनै पनि कामबाट अवकाश दिइन्छ । अवकाशपछि पनि धेरै मान्छेको गति धीमा हुन थाल्छ । यो उमेरमा अधिकांश सक्रिय हुन चाहँदैनन् । यसमा उनीहरुको मनोविज्ञान र कामको अवसर दुवै कारण बन्ने गरेको छ ।
अक्सर ६० वर्षपछि नयाँ रोजगारी दिने वा खोज्ने प्रवृत्ति हुँदैन । यस उमेरपछि उनीहरुले नयाँ उद्यम वा व्यवसाय सुरु गर्ने मनस्थिति पनि हत्तपत्त बनाउँदैनन् । यस्तो अवस्थामा आफूसँग भएको क्षमतालाई पनि दबाएर बस्नुपर्ने अवस्था सिर्जना हुने समाजशास्त्री डा. टिकाराम गौतम बताउँछन् ।
राज्य र समाज दुई मिलेर वृद्धावृद्धाको सिप र ज्ञानलाई उपयोग गर्नको लागि के कस्तो कार्य गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिनु जरुरी छ । त्यस्तो भएको खण्डमा उनीहरू पनि सक्रिय हुने तथा समाज र राज्यले पनि त्यसबाट लाभ लिन सक्ने गौतमको तर्क छ ।
अन्य देशमा कामको लागि उमेर हद तोकिंदैन । जति उमेरसम्म उसले काम गर्न सक्छ त्यति उमेरसम्म उनीहरूलाई काम गर्न दिइन्छ । तर हाम्रो देशमा भने रिटायरमेन्टको बाध्यात्मक व्यवस्था छ । क्रियाशीलता भन्दा पनि उमेरको हद छ त्यसैले कुनै व्यक्ति ६० कटिसकेपछि सक्रिय हुँदाहुँदै पनि काम छाड्नुपर्छ । गौतम भन्छन्, ‘यसले ज्येष्ठ नागरिकलाई वैज्ञानिक रूपमा पनि असर गर्छ ।’
६० वर्षको उमेर भन्दाअघि बाहिरको उसको सम्बन्ध, काम गर्ने ठाउँ र परिवारको संरचना फरक हुन्छ । तर एक्कासी त्यो सब परिवेश छाड्दा उसमा केही न केही परिवर्तन त आउँछ नै ।
६० कटेसी रमाउने
६० कटेपछि वृद्धवृद्धाको मनोदशा परिवर्तन नहोस् भन्नका लागि उनीहरूले गर्न सक्ने काम गर्न दिनुपर्ने ठगुन्ना बताउँछन् । ‘चीनमा ज्येष्ठ नागरिकलाई सक्रिय राख्ने एउटा चलन छ । त्यहाँ घरको सामान किन्नका लागि ज्येष्ठ नागरिकहरूलाई पसल पठाउने गरिन्छ । यसको मतलब वृद्ध भए पनि उनीहरूले केही काम त राम्ररी गर्न सक्छन् र उनीहरूमा आत्मसम्मान पनि रहिरहन्छ,’ उनी भन्छन् ।
६० वर्ष कटेका वृद्धवृद्धालाई सक्रिय र खुसी बनाउन उनीहरूको जीवनशैलीलाई पनि विशेष ध्यान दिनुपर्छ । उनीहरूको खानपान, सुताइको पोजिसन लगायतमा ध्यान दिएर बेलाबेलामा स्वास्थ्य परीक्षण गराउने हो भने उनीहरुमा जोस, उत्सुकता र उमंग भरिन्छ ।
ठगुन्ना भन्छन्, ‘परिवारका सदस्यहरूले पनि ज्येष्ठ नागरिकलाई अलि बढी समय दिनुपर्ने हुन्छ । ठूला व्यक्तिहरू काममा व्यस्त छन् भने ज्येष्ठ नागरिकलाई साना बालबालिकासँग भए पनि समय बिताउन लगाउने, उनीहरूको अनुभव सुनाउन लगाउने गर्नुपर्छ ।’
बढ्दो सहरीकरण, खानपान र आधुनिक जीवनशैलीका पनि मानिसलाई उमेर भन्दाअघि बढी उमेरको देखिन्छ । ६० कटेपछि शरीरमा धेरै स्फूर्ति नहोला, तर सक्ने काम गर्ने, हिंडडुल गर्ने, सकेको काम गर्ने हो भने उमेर ढल्कँदै गए पनि मान्छे धेरै बुढो र कमजोर नदेखिने पनेरु बताउँछिन् ।
प्रतिक्रिया 4