
काठमाडौं । अभिनेत्री रेणु योगी डेब्यु फिल्म ‘प्रकाश’को ट्रेलर सार्वजनिक कार्यक्रममा वाचाल सुनिइन् । पहिलो कार्यक्रममै आफ्नो बोल्ने शैलीले उपस्थितको ध्यानाकृष्ट गरिन् ।
झण्डै १० मिनेट बोलेकी रेणुले निर्देशक दिनेश राउतलाई ‘क्रान्तिकारी’ र ‘विद्रोही’ निर्देशकको संज्ञा दिइन् । अभिनेत्रीले प्रशंसाको पुल बाँधेपछि निर्देशक राउत पनि मख्ख देखिए ।
मुख्य कुरा फिल्ममा आफ्नो चरित्रको गहिराइमा पुगेर उनले यसबारे बोलिन् । फिल्ममा उनले मुख्य पात्रको रुपमा देखिएका प्रदीप खड्काको लभ इन्ट्रेस्टको रुपमा अभिनय गरेकी छन् ।
ट्रेलरमा उनको संवाद त सुनिंदैन, तर वास्तविकतामा भने उनी बोल्नमा माहिर छिन् । रंगमञ्चको पृष्ठभूमि हुँदै ठूलो पर्दामा करिअर थालेकी रेणुले कास्ट एण्ड क्रिउको ‘कुलनेस’ले आफूलाई काम गर्न सजिलो भएको बताइन् ।
रेणुको प्रशंसामा उत्रिएकी को-स्टार दीया मास्केले त उनलाई ‘न्युकमर’ नभएको बताइन् । ‘उसको अभिनय हेर्दा ऊ नयाँ हिरोइन होइन । यस्तो लाग्छ, ऊ नेपाली फिल्मको आगामी सुपरस्टार हो,’ दीयाले भनिन् ।
यी दुई अभिनेत्री अभिनित फिल्म प्रकाश भदौ १० गते प्रदर्शन हुँदैछ ।
प्रतिक्रिया 4