+

‘एसियाडका लागि नवौं राष्ट्रियबाट पनि खेलाडी छनोट हुन्छ’

२०७९ साउन  ४ गते १७:०७ २०७९ साउन ४ गते १७:०७
‘एसियाडका लागि नवौं राष्ट्रियबाट पनि खेलाडी छनोट हुन्छ’

४ साउन, काठमाडौं । राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले अर्को वर्ष चीनमा हुने १९औं एसियाली खेलकुदका लागि राष्ट्रिय टिम छनोट गर्दा आसन्न नवौं राष्ट्रिय खेलकुदको प्रदर्शनलाई पनि आधार बनाइने बताएका छन् ।

भदौका लागि तय भएको एसियाली खेलकुद एक वर्ष सारिएको छ । चीनले कोरोना महामारीका कारण निर्धारित समयमा प्रतियोगिता आयोजना गर्न नसक्ने बताएपछि एसियन ओलम्पिक कमिटीले सन् २०२३ सेम्टेम्बरको नयाँ मिति मंगलबार सार्वजनिक गरेको थियो ।

नेपालले एसियाली खेलकुदमा २३ खेलमा सहभागिता जनाउने निर्णय वैशाखमै गरेको हो । त्यसयता प्रारम्भिक छनोटमार्फत खेलाडीको प्रशिक्षण सुरु भइसकेको छ । पहिलो चरणमा ४० दिनको प्रशिक्षण सकेपछि दोस्रो चरणको छनोट सम्पन्न भइसकेको छ ।

सदस्यसचिव घिसिङले एसियाडका लागि जारी प्रशिक्षण कार्यक्रमले निरन्तरता पाउने तर प्रतियोगिताका लागि अन्तिम नाम दर्ता हुनु अघिसम्म घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगितामा उच्चतम प्रदर्शन गर्ने खेलाडीलाई एसियाडमा अवसर दिइने बताए ।

‘एसियाली खेलकुद आउने समयसम्म नवौंमात्र होइन घरेलु र अन्तर्राष्ट्रिय गरेर धेरै प्रतियोगिता हुनेछ । सबै प्रतियोगिताको प्रदर्शनका आधारमा उत्कृष्ट खेलाडी छनोट गरेर पठाइने हो,’ बुधबार आयोजित पत्रकार सम्मेलनमा सदस्यसचिवले भने, ‘योबीचमा नवौं राष्ट्रिय खेलकुद, सम्बन्धित खेलको अन्तर्राष्ट्रिय संघ÷महासंघबाट आयोजना भएका अन्तर्राष्ट्रिय प्रतियोगितामा भएका प्रदर्शनलाई आधार मानिनेछ ।’

राखेपले निर्माण गरेको हाइ पफर्मेन्स कमिटीले पहिलो चरणमा छनोट भएका खेलाडीबीच चरणबद्ध रुपमा छनोट प्रतियोगिता गरी उत्कृष्ट खेलाडी छनोट गरिने मोडालिटी बनाएको थियो । बुधबार सदस्यसचिवले बताएअनुसार अब त्यो मोडालिटी परिवर्तन हुनेछ ।

‘पहिलो चरणमा ४० दिनको छनोटपछि हामीले अर्को छनोट गरिसकेका छौं । यसपल्ट हारेका खेलाडीहरुले आफ्नो सम्भावना सकियो भनेर नसोच्नुहोला । पटक पटक अवसर आनउनेछ । छनोट भएकाहरुले पनि आफू नै अन्तिम भनेर सोच्नु गलत हुनेछ,’ घिसिङले भने ।

यसपल्ट एसियाडमा नेपालले समावेश खेललाई वर्गीकरण गर्ने राखेपको योजना सदस्यसचिवले सुनाए । समावेश गरिएका २३मध्ये केहि खेललाई विशेष सहभागितामा रुपान्तरण गरी पदकको आशा गरिनेछ ।

‘दुई कोणबाट सहभागिता जनाउँदैछौं । एउटा आम सहभागिता हुने भयो । समावेश गरिएका २३ मध्ये केहि खेललाई विशेष सहभागिताको आधार बनाउँदैछौं । विशेष खेलबाट सहभागी खेलबाट विशेष प्रदर्शनका लागि स्वयम् खेलाडी, प्रशिक्षक र संघले मिहिनेत गर्नुहुनेछ भन्ने अपेक्षा गरेको छु,’ घिसिङले थपे, ‘नयाँ मिति घोषणा भएसँगै हामीसँग पर्याप्त समय पनि छ ।’

एसियाडमा नेपालले भाग लिने खेलहरु :

तेक्वान्दो, कुस्ती, आर्चरी, कराँते, भारोत्तोलन, बास्केटबल, बक्सिङ, जुडो, महिला कबड्डी, एथलेटिक्स, पौडी, फेन्सिङ, साइक्लिङ, ट्रायथोलन, महिला ह्याण्डबल, महिला फुटबल, उसु, टेवलटेनिस, गल्फ, महिला भलिबल, क्रिकेट, शुटिङ र ब्याडमिन्टन ।

एसियाड एसियाली खेलकुद नवौं राष्ट्रिय खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय