
काठमाडौं । अभिनेता पुष्प खड्काले ३२ वर्ष टेकेका छन् । आजै जन्मदिन परेका फिल्म निर्देशक दीपक ओलीसँग उनले सँगै केक काटे ।
यी दुईको सहकार्य रहेको फिल्म ‘कृष्णलीला’ले काठमाडौंको हात्तीसारस्थित एक रेस्टुरेन्टमा जन्मदिन समारोह आयोजना गरेका थिए । त्यहाँ उपस्थित अभिनेत्री श्रद्धा क्षेत्रीसहितका कलाकारले पुष्प र दीपकलाई केक चखाए ।
कृष्णलीलाले आयोजना गरेको यो बर्थडे जमघटमा कलाकार, सञ्चारकर्मी र शुभचिन्तक उपस्थित थिए । निर्देशक र अभिनेताको जन्मदिन एकैदिन परेकाले पनि यो समारोह खास बनेको थियो ।
जन्मदिनको बिहानै पुष्पले शंखमूल पार्क पुगेर वृक्षारोपण समेत गरे । समी र फूलको विरुवा रोपेर उनले जन्मदिनलाई खास बनाए । ‘मलाई ढुंगामाटो, रुखबिरुवासँग विशेष लगाव छ,’ पुष्पले अनलाइनखबरसँग भने, ‘यो सेलिब्रेसनलाई लिएर म खुसी छु ।’
आजै बेलुका पशुपतिनाथ मन्दिरको आरती समारोहमा पुगेर समेत जन्मदिन मनाउने दीपक र पुष्पको योजना छ ।
आजको सेलिब्रेसनले यसअघि निर्देशक आलोक नेम्बाङले आयोजना गरेको बर्थडे जमघटको याद ताजा बनाएको उनले सम्झिए । तर जन्मदिनमा बाबुआमासँग आशिर्वाद लिन नपाएकोमा भने दुःख लागेको पुष्पले बताए ।
दर्पण छाँया २ फिल्मबाट अभिनय करिअर थालेका पुष्पाले मंगलम, अझै पनि, दालभात तरकारी, मारुनीमा अभिनय गरेका छन् । कृष्णलीला भदौ ३ गते प्रदर्शन हुँदैछ भने ‘तिम्रो मेरो माया’ प्रदर्शनको तयारीमा छ ।
प्रतिक्रिया 4