
५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले विदेशमा मुत्यु भएका नेपालीहरुको शव ल्याउन सरकारलाई कठिन भएको बताएका छन् ।
बिहीबार गैरआवासीय नेपाली संघले आयोजना गरेको वैदेशिक रोजगार, सामाजिक सुरक्षा लगानी तथा वैदेशिक मुद्रा निक्षेप कार्यशालामा बोल्दै मन्त्री कुँवरले अरबमा मुत्यु भएका नेपालीको शव ल्याउन ठूलो चुनौती भएको स्वीकार गरे ।
अवैधानिक रुपमा काम गर्न गएका त्यही देशमा मुत्यु भएका नेपालीको शव ल्याउन नसकेको पनि उनले बताए । ‘अहिले हेड्याक्कको विषय भनेको अरबतिर केही शवहरु छन् । जो इलिगल रुपमा केही देशहरुमा गएका थिए । हाम्रै नेपाली नागरिकहरु हुन् । उनीहरुको शवलाई हामीले दाहसंस्कार गर्न सकेका छैनौं’ उनले भने ।
मन्त्री कुँवरले नेपाली श्रमिकले कमाएको रकम विदेशमा नेपाली बैंकिङ प्रणालीमा सुरक्षित गरेर एकमुष्ट नेपाल पठाउन सके राम्रा हुने बताए । उनले मलेसिया र साउदी अरबमा धेरै नेपाली श्रमिक रहेकाले त्यहाँ नेपाली बैंकको शाखा खोल्ने विषयमा सम्बन्धित देशको कानुन अध्ययन गर्नुपर्ने बताए ।
प्रतिक्रिया 4