
५ साउन, काठमाडौं । बुक बिल्डिङ विधिबाट धितोपत्रको सार्वजनिक निष्कासन (आईपीओ) का लागि सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले नेपाल धितोपत्र बोर्डसँग स्वीकृत माग गरेका छन् । दुवै कम्पनीले बुक बिल्डिङ निर्देशिका अनुसार आधार मूल्य तयार गरी बिक्री मूल्यको सीमा समेत निर्धारण गरेर योग्य संस्थागत लगानीकर्तालाई बिक्री गर्न बोर्डमा आवेदन दिएका छन् ।
सर्वोत्तम सिमेन्टले २८ असारमा सार्वजनिक निष्कासन गर्न लागेको सेयरको ४० प्रतिशतले हुन आउने २४ हजार कित्ता सेयर योग्य संस्थागत लगानीकर्तालाई निष्कासन गर्न अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो । यस्तै रिलायन्स स्पिनिङ मिल्सले ३१ असारमा सार्वजनिक निष्कासन गर्न लागेको कुल सेयरको ४० प्रतिशतले हुन आउने ७ लाख ७० हजार ६४० कित्ता सेयर बिक्री गर्न अनुमति माग गरेको छ ।
दुवै कम्पनी आधार मूल्य निर्धारण गरेर त्यसमा २० प्रतिशतले थपघट गर्दा कायम हुने बिक्री मूल्यको सीमासहित बोर्डमा आवेदन दिएको छ । बुक बिल्डिङ विधिबाट योग्य संस्थागत लगानीकर्ताको लागि कम्पनीको बिक्री मूल्य न्यूनतम ५०१ रुपैयाँदेखि ७५१ रुपैयाँ ५० पैसासम्म निर्धारण गरेर बोर्डमा स्वीकृतिका लागि आवेदन दिएको छ ।
कम्पनीले योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त आशयमूल्यको आधारमा ६२६.२५ रुपैयाँ आधार मूल्य तय गरेको हो । बुक बिल्डिङ निर्देशिका अनुसार सोही आधार मूल्यमा २० प्रतिशत हुने तल्लो सीमा र २० प्रतिशतले हुने माथिल्लो सीमाको आधारमा कम्पनीले बिक्री मूल्य तय गरेको हो ।
रिलायन्स स्पिनिङ मिल्सले पनि आधार मूल्यको आधारमा बिक्री मूल्य न्युनतम ६०८ रुपैयाँदेखि अधिकतम ९१२ रुपैयाँसम्म बिक्री मूल्य तोकेको छ । कम्पनीले योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त आशयमूल्यको आधारमा ७६० रुपैयाँ आधार मूल्य तय गरेको हो । बुक बिल्डिङ निर्देशिका अनुसार सोही आधार मूल्यमा २० प्रतिशत हुने तल्लो सीमा र २० प्रतिशतले हुने माथिल्लो सीमाको आधारमा कम्पनीले बिक्री मूल्य तय गरेको हो ।
उक्त बिक्री मूल्यको आधारमा सार्वजनिक निष्कासनको लागि उपयुक्त देखेमा धितोपत्र बोर्डले धितोपत्र दर्ता गरी बुक बिल्डिङ विधिबाट निष्कासन गर्न तयार गरेको विवरणपत्र प्रकाशित गर्न बोर्डले स्वीकृत प्रदान गर्नेछ । त्यसपछि धितोपत्र निष्कसन तथा बिक्री प्रबन्धकले योग्य संस्थागत लगानीकर्तालाई बोलकबोलका लागि आव्हानपत्र प्रकाशन गर्नुपर्छ । आशयमूल्य पेश गरेका संस्थागत लगानीकर्ताले आशयमूल्य पेश गरेको मूल्य र संख्याभन्दा कम हुनेगरी बोलकबोल गर्न पाउँदैनन् । यसरी पेश हुने बोलकबोलको आधारमा संस्थागत लगानीकर्तालाई बोलकबोलमा लगेको सबै सेयर जुन मूल्यमा बिक्री हुन्छ त्यो मूल्यलाई कटअफ मूल्य निर्धारण गर्दै सो मूल्य भन्दा माथि कबोल गर्ने लगानीकर्ताले पनि सोही मूल्यमा सेयर पाउनेछन् ।
सोही कटअफ मूल्यको आधारमा सर्वसाधारण लगानीकर्तालाई बिक्री गर्ने मूल्य तय हुनेछ ।सर्वसाधारण लगानीकर्तालाई कटअफ मूल्यको १० प्रतिशत कम मूल्यमा सेयर बिक्री गर्नुपर्ने हुन्छ ।
हाल धितोपत्र बोर्डमा बुक बिल्डिङ विधि सहित ३१ संगठित संस्था आईपीओ निष्कासनको अनुमतिको पर्खाइमा छन् । जसमध्ये ४ लघुवित्त कम्पनी आईएमई लाइफ र रिलायबल लाइफ गरी दुई बीमा कम्पनी रहेका छन् । त्यस्तै होटल तथा पर्यटन क्षेत्रको कालिञ्चोक दर्शन लिमिटेड र सीटी होटलले पनि आईपीओ निष्कासनको अनुमति माग गरेको छ । अन्य समूहका मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर लिमिटेड र डिस मिडिया नेटवर्कले पनि आईपीओ निष्कासनका लागि अनुमति मात्रै धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।
यस्तै १७ वटा हाइड्रोपावर र इन्भेष्टमेन्ट कम्पनी हाथवे इन्भेष्टमेन्टले पनि आईपीओ निष्कासनको अनुमति माग गरेको छ । रिलायबल लाइफ इन्स्योरेन्सले १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियम थप गरी आईपीओ निष्कसान गर्न लागेको हो । रिलायबल लाइफ इन्स्योरेन्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ११२ रुपैयाँ प्रिमियम थप गरी २१२ रुपैयाँमा ६० लाख कित्ता आईपीओ बिक्री गर्न लागेको हो ।
सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्ससहित ३१ कम्पनीको ६ करोड ५७ लाख ५० हजार ६५४ कित्ता सेयर बिक्री गर्न लागेका हुन् ।
प्रतिक्रिया 4