
५ साउन, काठमाडौं । कञ्चनपुरको एक टोलीले महेन्द्रनगर विमानस्थल निर्माण अघि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग माग गरेको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखक, कञ्चनपुरका कांग्रेस सभापति तथा भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटीसहितको टोलीले मन्त्री श्रेष्ठ र नागरिक उड्डयन प्राधिकरणका अधिकारीसँग भेट गरी विमानस्थल निर्माण अघि बढाउन ध्यानाकर्षण गराएको हो ।
नेता लेखकले निर्माणाधीन विमानस्थलका लागि आवश्यक जग्गा अधिग्रहण लगायतका कानुनी प्रक्रिया पूरा गरी निर्माण प्रक्रिया अगाडि बढाउन आग्रह गरे । भेटका क्रममा मन्त्री श्रेष्ठले जग्गा अधिग्रहणका लागि तत्काल प्रक्रिया अगाडि बढाएर विमानस्थल निर्माण अगाडि बढाउने प्रतिवद्धता जाहेर गरेको भेटमा सहभागी नेता लेखकका स्वकीय सचिव जनक भट्टले बताए । छलफलका क्रममा मन्त्री श्रेष्ठले मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुलाई तत्काल प्रक्रिया अगाडि बढाउन निर्देशन समेत दिएका थिए ।
विमानस्थल २०३६ देखि २०५६ सालसम्म सञ्चालनमा थियो । हाल भने विमानस्थल बन्द अवस्थामा रहेको छ । ५२ बिघा जमिनमा रहेको विमानस्थल स्तरोन्नतीका लागि थप ४५ बिघा जमिन नेपाली सेना, वन मन्त्रालय र व्यक्तिगत जग्गा अधिग्रहण गर्ने प्रक्रियामा रहेको छ ।
प्रतिक्रिया 4