
६ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मूलाई बधाई तथा शुभकामना दिएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ट्वीटरमार्फत मुर्मूलाई बधाई दिएकी छिन् । उनले ट्वीटरमा लेखेकी छिन्, ‘मित्रराष्ट्र गणतन्त्र भारतका पन्ध्रौँ राष्ट्रपति निर्वाचित हुनुभएकोमा महामहिम द्रौपदी मुर्मूज्यूलाई म हार्दिक बधाई तथा शुभकामना ज्ञापन गर्न चाहन्छु । यहाँको कार्यकालमा हाम्रा दुई देश बिचको सहकार्यले नयाँ उचाई प्राप्त गर्नेमा म पूर्ण विश्वास व्यक्त गर्दछु ।’
यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले ट्वीटरमार्फत उनलाई बधाई दिँदै नेपाल र भारतको द्विपक्षीय सम्बन्ध आगामी दिनमा नयाँ उचाइमा पुग्नेमा आफू विश्वस्त रहेको बताएका थिए ।
भारतको सत्तारुढ गठबन्धनबाट राष्ट्रपति चुनिएकी मुर्मूले विपक्षी गठबन्धनको समर्थन पाएका यसवन्त सिन्हालाई पराजित गरेकी थिइन् । उनले आइतबारदेखि कार्यभार सम्हाल्ने छिन् । राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल आइतबार नै सकिँदै छ ।
* यसअघि शीर्षक र समाचारका केही अंश अन्यथा भएकाले सच्याइएको छ ।
प्रतिक्रिया 4