
जुलाई महिनालाई पहिला क्विन्टिलिस भनिन्थ्यो। ल्याटिन भाषामा यसको अर्थ पाँच अर्थात् पाँचौं महिना। पुरातन रोमन क्यालेन्डरमा दश महिनाको मात्रै एक वर्ष थियो। मार्च महिनाबाट शुरु हुने उक्त क्यालेण्डरमा शुरुका चार महिना बाहेक अन्य महिनालाई नम्बरबाट नै नामकरण गरिएको थियो। १२ महिनाको एक वर्ष मानिने क्यालेन्डर निर्माण हुँदा यो महिनाको नाम त्यही भए पनि सातौं महिना हुन पुग्यो।
इसापूर्व ४५ मा जुलियस सिजरले हाल प्रचलित गेग्रोरिएन क्यालेण्डरमा थप सुधार गरे। उनको मृत्यु भएपछि उनको सम्मानमा उनको जन्म भएको यो महिनाको नयाँ नाम जुलाई (जुलियस) राखिएको हो। त्यतिबेलादेखि नै उनको सम्झनामा महिनाको अन्तिम दश दिन विभिन्न खेलकुदसहित विशेष पर्व मनाउने चलन चल्यो। जुन अहिलेसम्म पनि समर फेस्टिभलको नाममा प्राय: सबै देशहरुमा विभिन्न किसिमका उत्सव मनाउने गरिन्छ। यति बेला खेती गर्ने समय भएको हुँदा त्यस बेला पनि विभिन्न खेती किसानी सम्बन्धी उत्सव मनाउने गर्दथे।
जुलाई महिनामा जन्मेकाहरुको दुई राशि, कर्कट (क्यान्सर) राशि जुलाई २२ सम्म २३ जुलाईपछि सिंह (लियो) हुन्छन्। जुलाई महिनाको शुभ पत्थर रुबी हो यसलाई सन्तुष्टिको प्रतीक पनि भनिन्छ। ब्लु डेल्फिनियम (लार्क्सपुर) र ह्वाईट वाटर लिली यो महिनाको विशेष फूल मानिन्छ। जुलाई महिनाको पूर्णिमालाई (बक मुन) भनिन्छ। यतिबेला भाले मृग (बक्स)का नयाँ सिङहरू पलाउने गर्दछन्। प्रत्येक वर्ष आफ्ना पुराना सिङहरू झर्ने र नयाँ सिङहरु पलाउने गर्दछन्। उमेर छिप्पिंदै जाँदा यिनीहरुको सिङ पनि बलिया र ठूला हुँदै जान्छन्। यो वर्ष जुलाई १३ गते बुधवार यो पूर्णिमा परेको छ।
यस वर्ष जुलाई १० मा “बकर-इद”, जसलाई इदुल आजहा पनि भनिन्छ, यो पर्वमा नेपालमा सार्वजनिक बिदा दिने चलन छ। यही दिन असार शुक्ल एकादशी (हरिशयनी एकादशी) घरमा तुलसीको बिरुवा रोपी पूजा शुभारम्भ गरिन्छ। १३ जुलाई गुरुपूर्णिमा/भानु जयन्ती/व्यासजयन्ती, १७ जुलाई हिन्दू धर्मावलम्बीहरुले ‘साउन संक्रान्ति’लाई वर्षको पहिलो पर्वका रुपमा मनाउने गरेका छन् (नेपाली साउन महिनाको पहिलो दिन) विशेषगरी सोमबार शिव मन्दिरमा पूजा–आराधना गरी। आज कर्कट सङ्क्रान्ति/लुतो फाल्ने दिन/दक्षिणायन आरम्भ/थारु गुरिया पर्व पर्दछ। त्यस्तै जुलाई २४ कामिका एकादशी २५ जुलाई सोम प्रदोष व्रत, जुलाई २६ गथांमुगः चःह्रे, २९ जुलाई गुंलापर्व आरम्भ, जुलाईको अन्तिम दिन ३१ तारेखमा खीर खाने दिन/वराह जयन्ती पर्दछ।
क्याथोलिकहरु जुलाईलाई येशुको रगतलाई सम्मान गर्ने विशेष महिनाको रुपमा मनाउँछन्। प्राय: जसो आइतबारको दिन चर्च जाने परम्परा भए पनि यो महिना भने सकेसम्म धेरै दिन चर्चमा गएर येशुलाई सम्झेको खण्डमा आफ्नो रगतमा येशुको रक्त संचार हुने विश्वास छ। जुलाई १३ गते पूर्णिमाको दिन बुद्ध धर्मावलम्बीहरुको लागि एक विशेष महत्वको दिन हो।
बुद्धत्व प्राप्त गरेपछि सिद्धार्थ गौतमले पहिलो पटक पाँच जना शिष्यहरुलाई आफ्नो शिक्षा दिन सुरु गरेको दिनलाई धर्म दिन वा धर्म चक्र पनि भनिन्छ। यसलाई असलह पूजाको दिन भनिन्छ। आफ्नो सबैभन्दा पवित्र धार्मिक स्थल मानिने मक्कामा हज गर्न जाने कोही पनि मुश्लिमहरुको लागि जीवनको एक महत्वपूर्ण उद्देश्य हुन्छ। यसपालि जुलाई ७ देखि १२ सम्म विश्वभरिका मुश्लिमहरु हजको लागि जम्मा हुनेछन्। मुश्लिम क्यालेन्डर अनुसार यो प्रत्येक वर्ष १० दिन अगाडि सर्ने गर्दछ।
बहाई धर्मका एक प्रवर्तक मानिने सय्यद अली मुहम्मद शिराजी जसले २५ वर्षको उमेरमा आफूलाई भगवानको दूत घोषणा गर्दै बाब अर्थात् धर्मको ढोका (गेट) बताउँदै नयाँ धर्मको जन्म हुने बताएका थिए। यही कसूरमा सन् १८५० जुलाई ९ का दिन उनलाई इरानमा मृत्युदण्ड दिइएको थियो। बहाई धर्ममा १९ दिनको एक महिना र १९ महिनाको एक वर्ष हुने र बाँकी चार दिनलाई लिप डेको रुपमा मानिन्छ। यो क्यालेन्डरको सुरुवात नयाँ धर्म स्थापनासँगै सन् १८४४ बाट सुरु भएको हो। यस वर्ष जुलाई १० गते उनको सम्झना दिन परेको छ। प्रत्येक महिनाको पहिलो दिन विशेष भेटघाट र सत्संग गर्ने गरिन्छ। यो महिनालाई कालिमत् अर्थात् शब्दहरुलाई पुज्ने महिना मानिन्छ।
उरुग्वे र डोमिनिक रिपब्लिकमा बुवालाई मान्ने विशेष दिन फादर्स डे जुलाई महिनामा पर्दछ। उक्त दिन सार्वजनिक बिदा दिइँदैन तर यो आइतबारको दिन पर्ने हुँदा अधिकांश बुवाहरूले आफ्नो परिवारसँग दिन बिताउन सक्छन्। यस दिन काम गर्नु परे पनि परिवारको लागि कम्तिमा पनि केही समय निकाल्ने प्रयास गर्छन्। फादर्स डेको अवसरमा छोराछोरीले आफ्ना बुवालाई खुसी पार्न साना उपहार र ग्रिटिंग कार्ड बनाएर दिन्छन् धेरैले डिनरको लागि बाहिर लैजाने वा घरमा नै स्वादिष्ट खाना पकाएर खान्छन्। यस वर्ष उरुग्वेमा जुलाई १० र डोमिनिक रिपब्लिकमा जुलाई ३० मा यो विशेष दिन परेको छ।
जुलाई महिनामा संसारमा विभिन्न क्षेत्रमा ख्यातिप्राप्त गर्न सफल व्यक्तिहरुको जन्म भएको छ। त्यसमध्ये केही नामहरु यहाँ उल्लेख गरेको छु। बेलायतकी राजकुमारी डायना, आध्यात्मिक नेता दलाई लामा, स्वतन्त्रताका सेनानी नेलसन मण्डेला, विकिलिक्सका संस्थापक जुलियन असान्ज, पहिलो अमेरिकी करोडपति जोन जेकब एस्टोर, भर्जिन रेकर्ड र भर्जिन एयरलाइन्सको संस्थापक बेलायती धनी रिचर्ड ब्रान्सन, विद्युतीय मोटर, आर्क लाइटिङ र एसी पावरका आविष्कारक निकोला टेस्ला, मिस वर्ल्ड २००० प्रियंका चोपडा, “ह्यारी पोटर” फिल्मका लेखिका र एक जना अभिनेता जे.के. रोलिङ र डेनियल रेडक्लिफ, “स्पाइडर म्यान” र “टर्मिनेटर”का अभिनेताहरु विल्लेम डाफोए र अर्नोल्ड श्वार्जनेगर (उनी गभर्नर पनि हुन्), एट्लान्टिक उडान गर्ने पहिलो महिला अमेलिया इयरहार्ट। अमेरिकाका ६,३०,३८ र ४३ औं राष्ट्रपति क्रमश: जोन क्विन्सी एडम्स, क्याल्भिन कूलिज, जेराल्ड आर फोर्ड र जर्ज डब्ल्यू बुश जूनियर जुलाई महिनामा जन्मेका हुन्।
जुलाई महिनामा विज्ञान तथा प्रविधि क्षेत्रमा धेरै खोज अनुसन्धान तथा उत्पादन भएका छन्। मानव शरीरसँग सम्बन्धित केही उपचार सम्बन्धी खोज बारे यहाँ उल्लेख गर्नेछु। २७ जुलाई, १९२१ – क्यानाडाका वैज्ञानिकहरू फ्रेडरिक ब्यान्टिङ र चार्ल्स बेस्टले पहिलो पटक पृथक् इन्सुलिन र त्यसको एक वर्षभित्र, मधुमेह बाथ पीडित बिरामीलाई पहिलो पटक इन्सुलिन उपचार प्रदान गरेको थियो। संसारका अरबौं मानिस त्यही औषधिको कारण आफ्नो आयु बढाइरहेका छन्। १९५६ जुलाई २४ एन्टिबायोटिक पेन्सिलिनको खाने चक्कीको लागि पेटेन्ट अर्न्स्ट ब्रान्डल र हान्स मार्गरेटरलाई प्रदान गरिएको थियो।
१९५० जुलाई १८ मा टेरामाइसिन, एन्टिबायोटिक उत्पादनको लागि यसक आविष्कारक सोबिन, फिनले र केनलाई पेटेन्ट अधिकार जारी गरिएको थियो। १९३३ जुलाई ४ मा विलियम कूलिजले एक्स-रे ट्यूबको लागि पेटेन्ट प्राप्त गरे, जसलाई कूलिज ट्यूब पनि भनिन्छ।
ठूला साम्राज्य वा केही देशहरुबाट स्वतन्त्र भएको दिनलाई सम्झना र सम्मानसहित राष्ट्रिय पर्वको रुपमा लिने गरेको छ। उक्त दिन देशैभरि छुट्टी दिएर आफ्नो इतिहासलाई सम्झने गर्दछन्। ब्रिटिश साम्राज्यबाट सन् १७७६ जुलाई ४ का दिन स्वतन्त्र भएको अमेरिका लगायत बहामाज १० जुलाई, क्यानाडा १ जुलाई, इजिप्ट २३ जुलाई, किरिबाटी १२ जुलाई, मलावी ६ जुलाई, माल्दिभ्स २६ जुलाई, सोलोमन टापु ७ जुलाई र सोमालिया १ जुलाईमा स्वतन्त्रता दिवस मनाउँछन्।
त्यसैगरी फ्रान्स साम्राज्यबाट स्वतन्त्र भएको अल्जेरिया, कोमोरोस र भानुअतुमा क्रमश: जुलाई ५, ६ र ३० मा, बेल्जियमबाट स्वतन्त्र भएको बुरुन्डी र रुवाण्डाले जुलाई १ मा, स्पेनी साम्राज्यबाट स्वतन्त्र भएका देशहरु अर्जेन्टिनामा ९, पेरुमा २८, भेनेजुएलामा ५, नेदरल्याण्डमा २६ र कोलम्बियामा २० जुलाइमा मनाउने गर्दछन्। त्यसै गरी पोर्चुगलबाट केप वर्डे ५, अमेरिकी उपनिवेशबाट लाइबेरिया २६, चेकोस्लोभाकियाबाट स्लोभाकिया १७ र सुडानबाट दक्षिण सुडान ९ जुलाइमा स्वतन्त्र भएका थिए।
जुलाई ३ अन्तर्राष्ट्रिय सहकारी दिवस, जुलाई ७ विश्व किस्वाहिली भाषा दिवस, जुलाई ११ विश्व जनसंख्या दिवस, जुलाई १५ विश्व युवा कौशल दिवस, जुलाई १८ नेल्सन मण्डेला अन्तर्राष्ट्रिय दिवस, जुलाई २० अन्तर्राष्ट्रिय चन्द्र दिवस, विश्व चेस दिवस, जुलाई २५ विश्व डुब्ने रोकथाम दिवस, जुलाई २८ विश्व हेपाटाइटिस दिवस, जुलाई ३० अन्तर्राष्ट्रिय मित्रता दिवस र मानव बेचबिखन विरुद्धको विश्व दिवस प्रत्येक वर्ष संसारभरि नै विभिन्न कार्यक्रमसहित मनाउने गरिन्छ।
जुलाई महिनाभरि संसारका धेरै देशमा ठुलाठुला महोत्सवहरु हुने गर्दछन्। तीमध्ये केही महत्वपूर्ण पर्वहरु यस्ता छन्–
इटालीको सियानामा वर्षमा दुई पटक हुने घोडा दौडहरूमध्ये पहिलो जुलाई २ मा हुन्छ। यसलाई द पालियो दि सिएना भानिन्छ। घोडचढीहरु आफ्नो घोडासहित प्रतिस्पर्धामा आउने र स्थानीय तथा आगन्तुकहरू आआफ्नो पक्षलाई समर्थन गर्न बाजागाजासहित ठुलो संख्यामा जम्मा हुने गर्दछन्। यस वर्ष जुन २४ देखि जुलाई १० सम्म लन्डनको हाइड पार्कमा हुने ब्रिटिश समर टाइम फेस्टिभलमा एल्टन जोन, एडेल, डुरान डुरान, निल रोजर्स लगायत पचासौं नाम चलेका व्यक्ति र समूहले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन् ।
जुलाई ११ देखि १३ अस्ट्रियाको क्लागेनफर्टमा हुने विश्व शारीरिक चित्रकला महोत्सवमा संसारभरका मानिसहरु विभिन्न १२ प्रकारका शरीरमा कला भर्ने विधाहरुमा प्रतिस्पर्धा गर्न जम्मा हुन्छन्। जुलाई ११ देखि १५ सम्म नादम, मंगोलिया यो परम्परागत रुपमा कुश्ती, घोडा दौड र तीरंदाजी खेलहरु देशैभरि खेलिन्छ। जुलाई १२: पानाफेस्ट, घानाको केप कोस्टमा प्रत्येक दुई वर्षमा प्यान-अफ्रिकी महोत्सव सन् १९९२ देखि सुरु हुँदै आएको छ। यो महोत्सवले अफ्रिकी महादेशका बासिन्दाहरू बीच भाइचारा र एकता बढाउन सहयोग गरेको छ।
जुलाई १२ बियर क्यान रेगाटा, अष्ट्रेलियामा सन् १९७४ देखि सुरु भएको, डार्विन बियर क्यान रेगाटामा एल्युमिनियम बियर तथा सोडाका क्यानहरू साथै दूधका डिब्बाहरूबाट डुङ्गाहरू बनाएर समुद्रमा चलाउँछन। उत्कृष्ट डुङ्गा बनाउनेलाई पुरस्कार पनि दिइन्छ। जुलाई १४ बास्टिल डे, फ्रान्समा हुने यो पर्वले सन् १७८९ मा बास्टिलमा भएको आँधीबेहरीको सम्झना गरिन्छ। यो राष्ट्रिय छुट्टीले १७८९ को आँधीबेहरीको सम्झना गर्दछ, जसले पछि फ्रान्सेली क्रान्तिलाई प्रेरित गर्यो। स्थानीयहरूले आफ्ना प्रियजनहरूसँग दिन बिताउने, पिकनिक जाने गरिन्छ। एफिल टावरमा उत्कृष्ट आतिशबाजीको प्रदर्शन गरिन्छ।
जुलाई १५ समुद्री दिवस, जापानमा मनाइने मरिन डेमा समुद्रलाई धन्यवाद दिंदै दिनभरि विभिन्न कार्यक्रमसहित समुद्रमा बिताउँछन्। यसलाई महासागर दिवसको रुपमा लिइन्छ। जुलाई २७, ३१ र अगस्ट ३ द सेलिब्रेसन अफ लाइट, भ्यानकुभरमा हुने यो सांगीतिक आतिशबाजीले भ्यानकुभरको अंग्रेजी खाडीलाई नै उज्यालो बनाउँछ। जुलाई ३१ देखि अगस्त ४ रकल्याण्ड, माइन, अमेरिकामा हुने लोबस्टर महोत्सव संसारभरि नै प्रख्यात छ। यो मेलामा अमेरिकी खानेकुराहरू मध्ये एक प्रख्यात खाना लोबस्टरका विभिन्न परिकार पाइन्छ।
रेबेका प्रिन्स-रुइजको अगुवाइमा पश्चिमी अष्ट्रेलियाको स्थानीय सरकारको सानो टोलीद्वारा सन् २०११ मा सुरु गरिएको प्लास्टिक फ्री फाउन्डेसन अहिले यो संसारको सबैभन्दा प्रभावशाली वातावरणीय अभियानहरूमध्ये एक भएको छ। विश्वभरि लाखौं मानिस प्रत्येक वर्ष ”प्लास्टिक मुक्त जुलाई” को नारा सहित यो अभियानमा भाग लिन्छन्। संसारबाटै प्लास्टिक हटाएर छाड्ने यो अभियानको गति दिन प्रतिदिन अगाडि बढिरहेको छ।
बेलायतमा यो महिना टक टु अस अर्थात् हामीसँग कुरा गर भन्ने च्यारिटी महिना मनाउने गर्दछ। जुलाई २४ सामरिटान्स भन्ने परोपकारी संस्थाको स्थापना दिवस हो। यसले विविध विषयमा आवश्यक जो–कोहीलाई पनि सहयोग गर्दै आएको छ। यो संस्थाको उद्देश्य अनुसार २४/७ (चौबिसै घण्टा सहयोगमा हाजिर) मिति पनि सम्झिन सजिलो हुने खालको छ। त्यस्तै २५ जुलाईको दिन बेलायतमा राष्ट्रिय सिजोफ्रेनिया चेतना दिवस मनाउने गर्दछ। सिजोफ्रेनिया एक मानसिक स्वास्थ्य अवस्था हो त्यति बेला मानिसले केही देख्न, सुन्न वा विश्वास गर्न सक्छ तर वास्तवमा भएका हुँदैनन्। यो दिनले यस रोगप्रति रहेको गलत बुझाइहरु हटाउन र बिरामीहरुलाई सहयोग पुर्याउँदै आएको छ।
जुलाइको अन्तिम हप्तातिर बेलायतका सबै ठाउँहरुमा साना ठूला समर फेस्टिभल हुने गर्दछन्। विशेष गरी समुद्र तटमा रहेका बस्तीहरुमा धुमधामसँग मनाइने यस्ता फेस्टिभलहरुमा स्थानीयका अलावा टाढा–टाढाबाट पनि धेरै मानिस आउने गर्दछन्। प्राय: जाडोले सताउने युरोपमा यो दुई महिना अलि घाम लागेर रमाइलो हुने हुँदा प्राय: सबै देशमा विभिन्न सांस्कृतिक कार्यक्रम, खानापिना, बजार लाग्ने प्रचलन चलेको हुनुपर्छ। यही समयमा विद्यालयलगायत शैक्षिक संस्थाहरु लामो समयका लागि बिदा हुने हुँदा धेरैजसोले फुर्सद निकालेर परिवारसहित छुट्टीमा देश–विदेश घुमफिर गर्ने, आफन्त, साथीभाइसँग भेटघाट गर्ने जोली मूडमा हुन्छन्।
प्रतिक्रिया 4