
काठमाडौं । मार्भल स्टुडियोले हलिउडको प्रतीक्षित सुपरहिरो फिल्म ‘ब्ल्याक प्यान्थर’को दोस्रो श्रृंखलाको ट्रेलर सार्वजनिक गरेको छ । ‘ब्ल्याक प्यान्थर : वाकान्डा फरेभर’को यो ट्रेलर केन्ड्रिक लामारको गीत ‘अलराइट’बाट सुरु हुन्छ ।
काल्पनिक थलो वाकान्डाको जलीय वातावरण, भविष्यको प्रविधि र सेतो पहिरन लगाएका वाकन्डाहरुको भीडसँगको अन्त्येष्टिजस्तो देखिने तस्वीरसँगै ट्रेलर सुरु हुन्छ । एन्जेला बासेट पात्र घोषणा गर्छिन्, ‘म संसारकै सबैभन्दा शक्तिशाली मुलुककी रानी हुँ र मेरो सम्पूर्ण परिवार सकिएको छ ।’
ट्रेलर हेर्दा प्रश्न उठ्छ, ब्ल्याक प्यान्थर चरित्रमा चाहिं को देखिनेछ ? ट्रेलर अन्त्यमा हिरोको कस्ट्युम त देखिन्छ, तर त्यो कस्ट्युम कसले लगाएको छ भन्ने चाहिं स्पष्ट हुँदैन ।
शनिबार सान डियागोमा मार्भल स्टुडियोले आयोजना गरेको एक बृहत जमघटमा ट्रेलर सार्वजनिक गरिएको हो । त्यस अवसरमा अफ्रिकी मूलका चर्चित कलाकारले सांगीतिक प्रस्तुति समेत दिएका थिए ।
लेखक तथा अघिल्लो श्रृंखला निर्देशन गरेका रायन कुगलर श्रृंखलाका अभिनेता चाडविक बोसम्यानको निधनलाई सिक्वेलमा कसरी चित्रण गरिएको छ भन्ने देखाउन मञ्चमा उक्लिएका थिए । अगस्ट २०२० मा क्लोन क्यान्सरको कारण अभिनेता बोसम्यानको निधन भएको थियो । उनले अघिल्लो श्रृंखलामा टिचल्ला चरित्रमा अभिनय गरेका थिए । फिल्ममा लुपिता न्योगो र लेलिता राइटको मुख्य भूमिका छ ।
नोभेम्बर ११ (कात्तिक १५ गते)मा विश्वव्यापी रिलिज हुने फिल्म नेपालमा पनि सोही दिनबाट प्रदर्शनमा आउनेछ ।
प्रतिक्रिया 4