
मैले लेख्न छाडेको वर्षौं भयो । यसरी डायरी खोलेरै लेख्न छाडेको त झनै धेरै भयो । गाउँ छोड्नुको अर्थ गाउँ मात्र छोडिंदो रहेनछ । देश छाड्नुको अर्थ पनि सीमा मात्र काट्नु हुन्न रहेछ । माटो छाडेपछि, आफन्त छाडेपछि भाषा छाडिने रहेछ, संस्कृति फेरिने रहेछ । नेपाल छाडेपछि फेरि नेपालीमा लेख्न नै छाडेछु ।
हुन त कोरियन भाषा पढ्न र पढाउन थालेपछि नै नेपाली भाषासँगको दूरी टाढा भएकै थियो । अहिले पनि मलाई लेख्न थाल्नेछु भन्ने थिएन । करिब ६ वर्षपछि म कोरियाबाट नेपाल फर्किएको छु । ६ वर्षको बसाइमा मैले धेरै कुरा भोगें, देखें ।
विशेषगरी एउटा लोककल्याणकारी राज्यको लागि कसरी आम नागरिकको दैनिकी प्रधान हुन्छ ? कसरी सिङ्गो राज्य एउटा नागरिकको सुख–दुःखको साथी बन्न सक्छ ? कसरी सामाजिक सेवा प्रदायक कम्पनी, व्यवसायी हुँदै सडक व्यापारीसम्मले जनतालाई सुविधा दिन सकिन्छ भनेर नै लाग्छन् ! उतै गएपछि हो मैले अनुभूति गरेको साँच्चै लोकतन्त्र कस्तो हुन्छ ? यो लेखाइ मैले नेपाल आएपछि ओखलढुङ्गा जाँदा लेखेको हुँ ।
साँझको ६ बजेको छ । पर घाम डुब्दैछ । ओखलढुङ्गाको रमाइलो डाँडाबाट पश्चिमतिर करिब २५ किलोमिटर दूरी पार गरेपछि मेरो गाउँ पुगिन्छ ।
सदरमुकामको बजारछेउ हुँदै गाडी मिसन अस्पताल तलतिर पारेर अगाडि बढ्दैथियो तर टेकनपुर कटेर गाडी एक्कासी रोकियो । गाडी नं. ५७८९ चाबहिलदेखि रूपेटारसम्म । तर गन्तव्य नआउँदै कन्डक्टरको मन्तव्य सुन्नुपर्यो ।
अगाडि पैरे खोला छ । धेरै पहिरो जाने भएरै यो खोलाको नाम पैरे भएको हो ।
कुनै हेरविचार नगरिकनै चालक, सहचालक हतार–हतार यात्रुहरूका झोला, बोरा सामान झार्न थाले । मानौं, उनीहरूलाई पहिल्यै थाहा थियो । यात्रुहरू कसरी आ–आफ्नो गन्तव्यमा पुग्ने भन्ने अन्योलताका बीच आफ्ना गुन्टाहरू समाउँदै थिए ।
बस पारि नजाने भएपछि सामान झार्नुको त विकल्प थिएन तर काठमाडौंदेखि गाउँसम्म पुर्याउने भनेर टिकट काटेपछि बीच बाटामै यात्रु उत्रार्दा कम्तीमा यात्रुहरूको घरसम्म जाने व्यवस्था पनि भएन । गाउँसम्मका लागि लिएको भाडासम्म पनि फिर्ता गरिएन । र, माफीसम्म नमाग्ने यातायात चालक, व्यवसायीलाई कुनै दण्ड जरिवानासम्म नगरी कसरी छोड्न दिन सकिन्छ । मनभरी आगो छ ।
म नेपालमा छु । त्यसैले यहाँ मन बुझाउनुपर्छ । मन किन बुझाउनुपर्छ भने यसरी यात्रुहरूलाई बीच बाटोमै अलपत्र छाड्ने यो गाडी न नेपालको पहिलो हो न अन्तिम नै हुनेछ । यो त बरु हामी र हाम्रा गाउँलेले सधैं भोगिरहेको दैनिकी हो ।
मैले यही यात्रामा देखेको कुरा भर्खरै सहरबाट गाउँ फर्किएकी एउटी महिला जो यो ठाउँ पहिलो पटक एक्लै यात्रा गरेकी थिइन् । उनलाई बसले गन्तव्य नपुग्दै ओरालिदियो । ती युवतीले नमानेर कराएपछि सहचालकले रु.१०० थमाइदिंदै भन्यो ‘तपाईंले ५० रुपैयाँ तिरे पुग्छ । यो तपाईंलाई धेरै फिर्ता दिएको छु । उल्टो कराउने ?’
विचरा युवती आँखाभरी आँसु लिएर जबरजस्ती थमाइदिएको झोला र फिर्ता दिएको रु.१०० लिएर अनिश्चित रूपले टोलाइरहिन् ।
एउटा विश्वास र भरोसा दिएर बोकेर ल्याएका आफ्ना यात्रुहरूलाई यसरी बाटोमै छाड्ने अधिकार दुनियाँका सभ्य भनिने देशमा छैन ।
म भर्खर बसेर आएको देशको कुरा गरौं । राजधानी सउलबाट अर्को स्थानसम्म जाने टिकट लिइयो भने त्यो बीचमा यात्रुले आफैंले चाहे पनि झर्न पाउँदैन । यदि यात्रु आफ्नै रुचिमा टिकटमा लेखिएको गन्तव्यसम्म पुगेन भने पनि यसको क्षति यातायात चालकले तिर्ने कानुन हुन्छ ।
मैले फेरि मन बुझाएँ नेपाल गए कपालसँगै भने जस्तो देशको मति फेरिएको छैन ।
चाबहिलबाट ओखलढुङ्गा हुँदै मेरो गाउँ मोलुङ गाउँपालिका वडा न. ४ जरायोटारसम्म पुग्न करिब २४० कि.मी. छ । राजधानीबाट बीपी लोकमार्गको खुर्कोट–घुर्मी हुँदै चल्ने हिमाल–तराई यातायातले प्रतिव्यक्ति १४०० लिन्छ । यो दर नेपाल सरकारले २०७९ साउन १ गतेदेखि लागू हुने गरी निर्धारण गरेको भाडाको दर भन्दा पनि धेरै थियो ।
भाडा धेरै थोरै भन्ने प्रश्न महत्वपूर्ण होइन तर यसलाई कसरी प्रशासनले नजरअन्दाज गरेको छ भन्नेले यो व्यवस्था कति जनताप्रति उत्तरदायी छ भन्ने बुझाउँछ । पैरे खोलामा मानिसहरू झारेपछि गाडी फर्कियो ।
हामीले जुत्ता–चप्पल खोलेर पैरे खोला पार गर्यौं । खोला कटेपछि मलाई लाग्यो गाडी वारि आउन सक्नेथियो । तर आएन । मेरो यो शंका त्यो बेला सत्य भयो जुनबेला स्थानीय गाडीले यो खोला पार गरेर हामीलाई गाउँसम्म पुर्यायो । कुरा ठगियो मात्र होइन कुरा कहाँ चैं नठगिने हो भन्ने हो ?
यो मेरो लेखाइ ठूला र रुमानी सपना मात्र देख्ने, आफ्नो मति नफेर्ने तर देशलाई छिटो–छिटो सिंगापुर बनाउन हतारिनेहरूलाई साना र काम नलाग्ने गुनासा मात्र हुन सक्छन् । हुन पनि यी आम मानिसका भोगाइहरू सामान्य नजरबाट हेर्दा सामान्य दैनिकी हो तर बृहत् अर्थ–राजनीतिबाट हेर्दा यो सामान्य दैनिकी मात्र होइन बरु हाम्रा सामाजिक सेवाहरू कुन हदसम्म गैरजिम्मेवार छन् भन्ने हो ।
सामान्य भुइँ मानिसहरूको दैनिकीमा प्रभाव पार्ने यस्ता सेवाहरूलाई नियमन गर्ने हाम्रा निकायहरू कतिसम्म निकम्मा छन् भन्ने हो । दोष यो ५७८९ का चालक र सहचालकको मात्र होइन ।
यो नालायकीपन यो देश हाँक्ने चालक र सहचालकदेखि मेरो वडाध्यक्षसम्मको हो । यो गैरजिम्मेवारीको हिस्सा नाफाखोर यो यातायात व्यवसायीहरूको मात्र होइन । हाम्रै करमा टिकेका र हामीमाथि शासन गर्न बनेका सहरदेखि गाउँसम्मका सिंहदरबार लगायत अड्डाहरूको पनि हो ।
आम मानिसलाई ठग्ने अरू पनि धेरै उदाहरण छन् । जो सुन्नेहरूलाई सामान्य र भोग्नेहरूलाई पनि त्यस्तै नै लाग्छन् किनकि नभोगी जीवन चल्दैन ।
जस्तो चाउचाउ सम्राट विनोद चौधरीलाई किन उति नै मूल्यमा सहर र मोफसलमा बेच्ने चाउचाउको गुणस्तर घटाउनुपर्ने ? एउटै ब्राण्डको चियापत्ती किन सहरमा र गाउँमा गुणस्तरमा फरक हुने ? उस्तै अड्डाबाट दिइने सुविधा किन सहर र गाउँ हुने वित्तिकै विभेद हुने ?
सहरमा १८०० मा ग्याँस पाउदा मेरो गाउँमा २५०० लाग्छ । मुसुरोको दाल शहरमा ८० रुपैयाँ हुँदा मेरो गाउँमा १४० हुँदोरहेछ । यस्तै हरेक सामानको मूल्य र गुणस्तरमा फरक हुँदा पनि कसैको चासो नहुनुको निचोड नाममात्रको व्यवस्था फेरियो भन्दैमा अवस्था नफेरिने रहेछ । होइन भने पहिलेका व्यवस्था त बेकम्मा नै थिए भनेर मानिंदा पनि अहिले त हाम्रो अवस्थामा परिवर्तन आउनुपर्ने हो नि !
फेरि कुरा उतैको गरौं । ३० किलोको ग्याँसको सिलिन्डर सउल (कोरियाको राजधानी) मा लिंदा र इछन सि (जिल्ला) को सलसङम्यानको गाउँमा तिर्ने मूल्य उत्ति नै हुन्छ । अब भनिरहनै पर्दैन, कोरियाको कुनै पनि कुनामा हिङदेखि हर्दीसम्म कुनै र केही वस्तुको मूल्य फरक हुँदैन । बस् पैसा तिर्नुस् सामान लिनुस् ।
एउटा कुरा प्रष्ट छ कानुन अनुसार देश चल्छ । हाम्रो जस्तो ठूलालाई चैन सानालाई ऐन हैन ।
मनमा प्रश्न उठ्छ– तराईको कुनै स्थानमा भएको उद्योगलाई आफ्नो सामान राजधानी लैजान भन्दा अझै कम दूरीको ओखलढुङ्गा लैजान किन मुस्किल पर्ने ? र, यसको मूल्यमा अन्तर आउने ? के गाउँ जाने गाडीले हाल्ने पेट्रोलियम पदार्थ सहर जानेभन्दा धेरै महँगो हुन्छ ?
खासमा एउटा लेबर कामदारको रूपमा कोरिया पुगेको मेरा लागि त्यहाँको राजनैतिक जार्गनमा न त रुचि हुन्छ न त त्यो मेरो ज्ञानको सीमाले नै धान्छ । तर सामान्य मानिसले काम गर्ने र त्यसबाट प्राप्त अर्थले अर्थपूर्ण, सम्मानित र न्यायपूर्ण जिन्दगी बाँच्न पाउने हक राज्य जिम्मेवार भएमा सजिलै प्राप्त हुन सक्छ भन्ने सत्य भने मैले बुझेको छु ।
मानिसहरू नेपालमा जे गरे नि हुने जे बोले नि हुनेजस्तो गर्छन् । र, भन्छन्– हाम्रो जस्तो स्वतन्त्रता कहाँ छ ? नेपाल जस्तो देश कहाँ छ ? यस्ता मूर्खतापूर्ण प्रश्न हामीले सुनिरहन्छौं ।
काम धन्दा नगरी खाली हात बस्नु स्वतन्त्रता होइन, रित्ता पेट र रित्तो गोजीमा डुल्नु स्वाभिमान होइन । मानिसले बाँच्नका लागि श्रम गर्ने र त्यही श्रमको आधारमा जीवन सजिलै कटेको छ कि छैन भन्ने मुख्य सत्य हो ।
मलाई लागेको थियो यो बीचको ६ वर्षमा धेरै परिवर्तन भएको होला । राजनैतिक परिवर्तन पछि आउने अस्थिर उथलपुथल सकियो होला ।
गाउँगाउँमा सरकार बनेपछि आम मानिसको जीवन सरल बनेको होला, हामी जस्ता मानिस जो आफ्नै परिवारको साथमा गाउँघरमा बस्न चाहन्छौं उनीहरूको लागि सहज वातावरण बनेको होला ।
मनभरि एउटा आश थियो लोकतन्त्र पक्कै लोकतन्त्र भयो होला तर यस्तो केही भएको रहेनछ । अहिले मलाई लाग्छ नेपालमा कानुनी राज आएकै छैन । अझ डरलाग्दो त के देखियो भने गाउँदेखि सहरसम्म हुँदा खाने र हुने खानेको बीचको खाडल झनै बढेको छ । यी दुई वर्गहरू सहरदेखि गाउँसम्म फरक दैनिकीमा बाँचिरहेका छन् ।
धनी र गरिब मानिसहरूको खाने खाना, चढ्ने साधन, बच्चा पढाउने विद्यालय, चिया खाने पसल, उपचार गर्ने अस्पताल सबैमा फरक छ । गरिब र धनी बीचको खाडल कोरियामा पनि छ । चढ्ने कारको ब्रान्डदेखि लगाउने जुत्तासम्ममा फरक त्यहाँ पनि छ । तर यस्तो देशमा जन्मिएँ भनेर पछुताउनुपर्ने वा मेरो भाग्य यस्तै हो भनेर मन बुझाउनुपर्ने त्यहाँ हुँदैन । कम्तिमा शिक्षा, स्वास्थ्य उपचार जस्ता आधारभूत कुराको गरिबलाई पनि चिन्ता हुँदैन ।
मलाई गाउँ पुगेपछि लाग्यो– आम मानिसहरूको दैनिकी समस्यापूर्ण छ । दुर्भाग्य नेतृत्वमा भएका नेताहरूको लागि यी समस्या होइनन् । तिनै नेताको आसेपासे भएर जीवन धानेकाहरूका लागि पनि यो मुद्दा नै होइनन् ।
राणाकालबाट नै काम नगरी चाकरीमा दिन बिताउने संस्कारलाई पनि आम मानिसका दुःख समस्या होइनन् । नाफा कमाउने नाफाखोरहरूको लागि आम मानिसको जिन्दगी र बोइलर कुखुराको जिन्दगी बीच खासै फरक कुरा नै भएन ।
लाहोर जाँदाबाट आजसम्म आउँदा मेरो उमेर समूहका धेरै युवाले आफ्नो जीवन यो देश बनाउन बगाए । दुर्भाग्य हाम्रो देश कहिल्यै बनेन ।
लामो कुरा नगरौं, विगत सात दशकदेखिको हाम्रो नफेरिएको आम मानिसको दैनिकी अहिले पनि फेरिएको छैन । कि देश भन्नुको अर्थ फगत देश मात्र हुनु; दल, सरकार, कर्मचारी, चोर र पुलिस मात्र हुनु हो ?
प्रतिक्रिया 4