
८ साउन, काठमाडौं । भक्तपुरको भक्तपुर नगरपालिका- १ सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई च्याप्दा ३ जनाको मृत्यु भएको छ ।
सल्लाको रुख ढलेर काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई च्याप्दा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।
मृत्यु हुनेमा भक्तपुर नगरपालिका-२ व्यासी बस्ने २५ वर्षीय विशेष खर्बुजा, स्कुटर चालक सर्लाही हरिवन नगरपालिका-४ घर भएका ४५ वर्षीय राजकुमार भुजेल र भक्तपुर नगरपालिका-७ घर भई चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने ५५ वर्षीय न्हुच्छेराम बखत्यो छन् ।
घाइतेहरूलाई भक्तपुरमा रहेका इवामुरा अस्पताल र भक्तपर अन्तराष्ट्रिय अस्पताल उपचार भइरहेको छ ।
नेपाली सेनाले सडकमा ढलेका रुख हटाएको छ ।
यसैबीच, घटनामा घाइते भएकाहरूको यथाशिघ्र उपचारको व्यवस्था गर्न गृहमन्त्री बालकृष्ण खाणले भक्तपुर प्रशासनलाई निर्देशन दिएका छन् । भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूलाई फोन गरेर उनले यथाशिघ्र उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।
उनले ढलेका रुख र च्यापिएका सवारी हटाएर सडक सुचारु गर्न पनि निर्देशन दिएको उनका प्रेस संयोजक मधुसुधन भट्टराईले बताए ।
प्रतिक्रिया 4