+
+

किन तरकारी खाँदैनन् ‘म्यान भर्सेस वाइल्ड’का ग्रिल्स ? व्यायाम कस्तो गर्छन् ?

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ८ गते १५:१८

डिस्कभरी टेलिभिजनको शो ‘म्यान भर्सेस वाइल्ड’बाट आफ्नो पहिचान बनाएका बेयर ग्रिल्स साहसिक कामका कारण विश्वभर परिचित छन् । उनको शोमा पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामा, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बलिउड अभिनेता अक्षय कुमार र रणवीर सिंहका साथै थुप्रै हलिउड हस्तीहरु सहभागी भइसकेका छन् ।

शोमा ग्रिल्सलाई अन्न, फलफूलका साथै कीरा-फट्यांग्रा, बिच्छी र सर्प समेत खाइरहेको देखिन्छ । ग्रिल्सले एक अन्तर्वार्तामा आफ्नो खान्की (डाइट) र व्यायाम (वर्कआउट)बारे बताएका छन् ।

धेरैजसो समय जंगलमा बिताउने र शारीरिक रुपमा तन्दुरुस्त ग्रिल्स के खान्छन् र कस्तो व्यायाम गर्छन् भन्नेमा धेरैको चासो हुन्छ ।

बेयर ग्रिल्सको वास्तविक नाम एडवर्ड माइकल ग्रिल्स हो । उनको जन्म ७ जुन १९७४ मा बेलायतमा भएको हो । उनी अंग्रेजीका साथै स्पेनिस र फ्रेन्च भाषामा दख्खल राख्छन् । ग्रिल्स बाल्यकालदेखि नै स्काईडाइभिङका सौखिन थिए । उनी करातेका ब्ल्याकबेल्ट समेत हुन् ।

तीन वर्ष बेलायती सेनामा काम गरेका ग्रिल्स सन् २००४ मा रोयल नेवी रिजर्वले लेफ्टिनेन्ट कमाण्डर र्‍यांकबाट सम्मानित भइसकेका छन् । उनले १९९८ मा २३ वर्षको उमेरमा विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने सौख पूरा गरेका थिए । सगरमाथा आरोहण गरेको १८ महिनापछि प्यारासुटग्लाइडिङका दौरान मेरुदण्ड भाँचिएको थियो । तर उनले आफूलाई कमजोर हुन दिएनन् । आफ्नो रुचि र साहसका कारण कारण आफूलाई शारीरिक र मानसिक रुपमा फिट राखे ।

उनले थुप्रै टीभी शो गरिसकेका छन् । जसमा सन् २००५ मा आएको शो ‘स्केप टु दि लेजिअन’, ‘म्यान भर्सेज वाइल्ड’ २०१० मा आएको ‘वर्सट केस सिनेरियो’ २०१३ को ‘गेट आउट अ लाइभ’, ‘इस्केप फ्रम हेल’, ‘दी आइसल्याण्ड’, ‘रनिङ वाइल्ड विथ बेयर ग्रिल्स’, ‘मिसन सर्भाइबर’, ‘बेयर ग्रिल्स सर्भाइवल स्कुल’  र सर्भाइवल गेम्स रहेका छन् ।

विजनेसइन्साइडरका अनुसार ग्रिल्स पहिले शाकाहारी थिए । तर अहिले उनी धेरैजसो मांसाहारी खाना मात्रै खान्छन् । उनी तरकारी समेत खाँदैनन् ।  मांसाहारी खाना खान सुरु गरेपछि उनी तरकारीजन्य खानेकुराको विरोधी भएको विजनेसइन्साइडरमा उल्लेख छ । उनले अन्तर्वार्तामा काँचो तरकारी स्वास्थ्यका लागि फाइदाजनक नभएको बताएका छन् ।

‘शाकाहारी खाना छाडेपछि मांसाहारी खाना खान सुरु गरेको थिएँ । म आफ्नो खानामा रातो मासु, दूधजन्य परिकार र फलफूल समावेश गर्छु ।  ड्राइफुड, अन्न र तरकारीको म विरोधी हुँ । दिउँसोको खानामा मांसाहारी अण्डा, दूधजन्य परिकार र धेरै फलफूल खान्छु । हरेक दोस्रो दिन लिभर मिट खान्छु,’ उनले भनेका छन् ।

सातामा एक–दुईपटक पिज्जा वा तेलमा तारेका खानेकुरा समेत खाने गरेको उनले बताएका छन् । ‘मैले वर्षौं भैंसीको नसाबाट रगत पिउनुका साथै फोक्सो र मुटुको काँचो मासु खाएको छु । यो खाना मेरो लागि मुस्किल नभए पनि राम्रो पनि होइन,’ उनले अन्तर्वार्तामा भनेका छन् ।

ग्रिल्सले अहिले काँचो मासु खान छाडेका छन् । कोरोना संक्रमण भएपछि जुस र तरकारी खाएको उनले बताएका छन् । जुस र तरकारी खाएपछि मिर्गौला दुख्ने समस्या देखिएको उनको भनाइ छ ।

‘पिसाब रोक्दा मिर्गौला दुख्छ वा समस्या देखिन्छ । यो डिहाइड्रेसन वा अधिक सोडियमयुक्त डाइट खाँदा देखिन्छ । मेरो विचारमा तरकारी मानव शरीरका लागि फाइदाजनक हुँदैन,’ ग्रिल्सले विजनेसइन्साइडरसँग भनेका छन् ।

साहसिक यात्राबाट घर फर्किंदा ग्रिल्स बर्गर खान्छन्, जसमा अण्डा र पनिर समेत हुन्छ । बर्गरका साथै उनले एक चम्चा बोन म्यारो, ग्रिक योगर्ट, शहद, जामुन र सुन्तलाको जुस खाने गरेका छन् ।

४८ वर्षीय बेयर ग्रिल्स दैनिक व्यायाम गर्छन् । दैनिक व्यायाम गर्ने गरेको भए पनि उनी धेरै दौडिंदैनन् । उनी टेनिस खेल्छन् र साताको तीन चार दिन ३०–४० मिनेट टे«निङ गर्छन् । साताको एक दिन १५ मिनेट योग गर्छन् । टे«निङ नगरेको दिन उनी ५०० मिटर दौडिन्छन् ।

दौडिनुका साथै ग्रिल्सले २५ पटक पुसअप, ५० पटक प्रेसअप, ७५ पटक स्क्वाट्स र १०० पटक सेटअप गर्ने गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग बेयर ग्रिल्स

‘म रनिङ वाइल्ड शोको अन्त्यमा थकित हुन्छु । जंगलमा घुमफिर गर्नु, पिठ्युँमा भारी वजन हुनुले मेरो हड्डी र मांसपेशी बलिया र लचिला बनेका छन्,’ उनी भन्छन् ।

पछिल्लो समय सर्वसाधारणको मांसाहारी खानाप्रति आकर्षण बढ्दो छ । मांसाहारी खाना प्रोटिनको राम्रो स्रोत मानिन्छ । यसले शरीरलाई आवश्यक पोषक तत्व प्रदान गर्छ । अत्यधिक मांसाहारी खाना खाँदा भने ग्यास्ट्रिक सम्बन्धी समस्या र डिहाइड्रेसन जस्ता समस्या देखिने स्वास्थ्यविद्हरुले बताएका छन् ।

अनुसन्धानबाट तरकारी खानाले क्यान्सर तथा मुटु सम्बन्धी समस्या कम गर्ने तथ्य पत्ता लागेको छ । तरकारी सेवनले शारीरिक र मानसिक स्वास्थ्यलाई मजबुत बनाउने राम्रो निन्द्रा, ऊर्जा र पाचन प्रणालीमा सुधार ल्याउने विज्ञको भनाइ छ ।

म्याकगिल विश्वविद्यालयको अफिसर फर साइन्स एण्ड सोसाइटीका रिडस्टर्ड डाइटिसियन हेइडी बेट््सले तरकारीजन्य परिकार बिरामीको कारण बन्न सक्ने कुनै तथ्य नभएको बताएका छन् ।

‘तरकारी सेवन गर्नेहरुमा मुटुरोग, हृदयघात, डायबिटिज, मोटापन जस्ता समस्यालाई कम गर्न मद्दत गर्छ,’ हेइडी बेट्सले भनेका छन् ।

आजतकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?