
काठमाडौं । गुमनाम भएका पतिको पर्खाइ कति पीडादायक हुन्छ ? वर्षौंदेखि पति घरमा नआउँदा समाजले के भन्छ ? यसको छिनोफानो पति आउला भनेर धैर्य गर्नु नै हो कि आफूले स्वतन्त्र बाटो रोज्नु ?
फिल्म ‘राधा’को आइतबार रिलिज भएको ट्रेलरले यी प्रश्नको उत्तर दिन्छ । २ मिनेट २९ सेकेन्ड लामो ट्रेलरमा एकल महिलालाई समाजले गर्ने नजर र सामाजिक मूल्यलाई तोड्न उसले गरेको विद्रोहलाई चित्रण गर्छ ।
गम्भीर फिल्ममा आफूलाई स्थापित गर्दै आएकी पूर्वमिस नेपाल सृष्टिले यसमा राधाको चरित्रमा आफूलाई प्रस्तुत गरेकी छन् । यसपटक चाहिं फिल्मको काँध नै बोक्नुपर्ने जिम्मेवारी उनमा छ ।
ट्रेलरअनुसार राधाका पति बासु ड्राइभर हुन्छन् र उनी गुमनाम छन् । उसकै खोजीमा राधा निस्किएकी छन् । खगेन्द्र लामिछाने पत्रकारको भूमिकामा छन् । ट्रेलरमा प्रयुक्त कतिपय सटले यसलाई अझै सघन र मार्मिक तुल्याएको छ ।
दयाहाङ राई, सौगात मल्ल, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, बुद्धि तामाङ समेत ट्रेलरमा फिचर्ड छन् । सुवर्ण थापा निर्देशित फिल्म भदौ १० गते प्रदर्शन हुँदैछ ।
सौगात मल्ल, देवकी विष्ट र हीराल जोशीको निर्माण रहेको फिल्म तीजको छेकोमा प्रदर्शन हुन लागेको हो । नारीप्रधान भएकाले फिल्मलाई तीजमा प्रदर्शन गर्न लागिएको जनाइएको छ ।
प्रतिक्रिया 4