
८ साउन, काठमाडौं । प्रतिनिधि सभाको आइतबारको बैठकमा १५ मिनेटको बीचमा १४ जना सांसदले बैठक छोडेको पाइएको छ ।
कारागार सम्बन्धी विधेयक पारित गर्न लाग्दा नेमकिपाका सांसद प्रेम सुवालले गणपूरक संख्याको प्रश्न उठाएपछि सभामुखले सांसद संख्या यकिन गरेका थिए । जतिबेला संसदमा ६७ जना सांसद मात्रै उपस्थित थिए ।
२७५ सदस्यीय प्रतिनिधिसभामा गणपुरक संख्या पुग्न एक चौथाई अर्थात, ६९ सांसदको उपस्थिति अनिवार्य छ । ६९ सांसद उपस्थित नरहेपछि सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरे ।
दोस्रो बैठक सुरु भए लगत्तै सांसद सुवालले फेरि गणपुरक संख्याको प्रश्न उठाए । यकिन गर्दा ७१ सांसद उपस्थित रहेको पाइयो । दोस्रो बैठकले कारागार सम्बन्धी विधेयक सर्वसम्मत पारित गर्यो ।
लगत्तै सभामुखले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७९ माथि राष्ट्रिय सभाले गरेको संशोधनमाथि छलफल सुरु गराए । राष्ट्रिय सभाले गरेको संशोधनलाई स्वीकार गर्ने वा नगर्ने भन्ने प्रस्तावलाई सभामुखले निर्णयार्थ पेश गर्न लागे पछि फेरि सांसद सुवालले गणपूरक संख्याको माग गरे ।
सभामुखले सांसद संख्या यकिन गर्दा ५७ जना मात्रै उपस्थित रहेको पाइयो । त्यसपछि सभामुख सापकोटाले दुई दिनका लागि बैठक नै स्थगित गरिदिए । प्रतिनिधि सभाको अर्को बैठक साउन १० गते मंगलबार दिउँसो एक बजे बस्नेछ ।
प्रतिक्रिया 4