+
+

साढे ५ करोड ऋण सहयोगमा बनेको पशु हाटबजार सञ्चालनमा 

पशु चौपायाको किनबेचमा किसानलाई सहजता र सुविधा दिन रुपन्देहीको सियारीमा पशु हाटबजार सञ्चालनमा आएको छ ।

टोपराज शर्मा टोपराज शर्मा
२०७९ साउन ८ गते १९:०१

८ साउन, बुटवल । पशु चौपायाको किनबेचमा किसानलाई सहजता र सुविधा दिन रुपन्देहीको सियारीमा पशु हाटबजार सञ्चालनमा आएको छ ।

नेपाल लाइभस्टक सेक्टर इन्नोभेसन आयोजना अन्तर्गत विश्व बैंकको साढे ५ करोड रुपैयाँ ऋण सहयोगमा सियारी गाउँपालिका–२ कोटहीथानमा व्यवस्थित पशु हाटबजार सञ्चालनमा आएको हो । यो लुम्बिनी प्रदेशमा दोस्रो व्यवस्थित पशु हाटबजार हो ।

तीन बिघा क्षेत्रफलमा बनेको पशु हाटबजारमा भैंसी, गाई, बाख्रा लगायतका पशुको किनबेच हुनेछ । यसअघि बर्दियामा पनि विश्व बैंकको ऋण सहयोगमा पशु हाटबजार सञ्चालनमा छ । पशु बेच्न टाढाबाट आएका किसानलाई बास बस्न, रगत, गोबर चेकजाँच गर्ने प्रयोगशाला तथा डिस्पेन्सरी, बजार व्यवस्थापक र सञ्चालक समिति कक्षका लागि २ तले किसान भवन बनाइएको छ । यस्तै क्यान्टिन, शौचालय, पशुलाई राख्न होल्डिङ यार्ड (टहरो) लगायतका संरचनाहरु बनेका छन् ।

हाट बजारमा किसानले विभिन्न स्थानबाट ल्याएका पशुको पशु चिकित्सकबाट स्वास्थ्य चेकजाँच गरी स्वस्थताको प्रमाणपत्र दिएर मात्र बिक्री गर्न पाइने छ । बिक्रीयोग्य पशुको रमानापत्रका लागि हाललाई तीन सय रुपैयाँ शुल्क तोकिएको सियारी गाउँपालिकाका पशु चिकित्सक डा. सुवास बेल्बासेले बताए । शंका लागेका पशुको रगत र गोबर परीक्षण गरी रोगी देखिएमा बिक्री गर्न नपाइने बेल्बासेले बताए ।

पशु हाटबजार सञ्चालनका लागि १० जना कर्मचारी, कार्यपालिका सदस्यको संयोजकत्वमा ३९ सदस्यीय मुल सञ्चालक समिति र ५ सदस्यीय कार्य सम्पादन समिति बनाइएको पशु सेवा शाखा प्रमुख गणेशप्रसाद बेल्बासेले बताए ।

पशु हाटबजारको आइतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले उद्घाटन गरेका छन् । हाटबजार उद्घाटन गर्दै मुख्यमन्त्री केसीले प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै किसानका उत्पादनको बजारीकरणमा सहयोग गर्ने बताए । पशु हाट बजारका गतिविधिलाई अनलाइन प्रणालीमा लगेर किसानलाई थप सहज बनाउन मुख्यमन्त्री केसीले सुझाव दिए । भविष्यमा पशुु हाटबजारलाई १२ वटै जिल्लाका १०९ पालिकामा विस्तार गरी पशुपालनमा पूर्णरुपमा आत्मनिर्भर बनाइने बताए । खेतीयोग्य जग्गालाई प्लटिङ गरेर कंक्रिटको शहर बनाउने काम गाउँपालिकाहरुले रोक्नुपर्ने मुख्यमन्त्रीले सुझाव दिए ।

गाउँपालिका अध्यक्ष थानेशवर घिमिरेले राजनीतिक व्यवस्था परिर्वन भएपनि किसानहरु सधै समस्यामा पर्ने गरेको उल्लेख गर्दै तीनै तहका सरकारले किसानलाई राहत दिन नयाँ कार्यक्रम ल्याउनुपर्ने बताए ।

संघीय सरकारको नश्ल सुधारको करोडौं वजेट बालुवामा पानी सरह भएको भन्दै अध्यक्ष घिमिरेले वास्तविक किसान लाभान्वित हुने गरी नश्ल सुधार कार्यक्रम ल्याउन माग गरे । नेपालमा गाई भैसी आयात भारतबाट गर्नुपर्ने भएकाले प्रहरी प्रशासनले सीमा नाकामा सहज गरिदिनुपर्ने माग समेत उनले गरे ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?