
९ साउन, काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले आर्थिक वर्ष २०७९/८० को लागि राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले बैंकहरुको नाफा घटाउने बताएका छन् ।
अध्यक्ष गोल्यानले मौद्रिक नीतिले अनिवार्य नगद अनुपात (सीआरआर) लाई ३ प्रतिशतबाट १ प्रतिशत बढाउँदा बैंकहरुको अर्बौं रकमविना प्रतिफल राष्ट्र बैंकमा थुप्रिंदा बैंकहरुको मुनाफा घट्ने बताएका हुन् । उनले मौद्रिक नीतिको यो व्यवस्थाले बैंकहरुको लागत समेत बढ्ने बताए ।
अध्यक्ष गोल्यानले बैंकहरुमा लागत नै १० प्रतिशत बढीले लाग्ने भन्दै यो भन्दा माथि गयो भने बैंकिङ क्षेत्र संकटमा पर्ने बताए । उनले बैंकको सेयर होल्डर र लगानीकर्ताहरुलाई १० देखि १५ प्रतिशत मुनाफा दिनुपर्ने भएपनि आगामी दिनमा बैंकहरुले त्यो दिन सक्ने अवस्था नभएको बताए ।
सोमवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै अध्यक्ष गोल्यानले राष्ट्र बैंकले ल्याएको मौद्रिक परिसंघले स्वागत गर्ने भने बताए । मौद्रिक नीतिका धेरै राम्रा पक्ष रहेको भन्दै उनले बैंक कर्जा विस्तारलाई कसिलो बनाउनु पर्ने अवस्था रहेको बताए ।
रेमिट्यान्स र वैदेशिक लगानी आउन नसके १२ प्रतिशतको कर्जा विस्तारको लक्ष्य पनि पूरा हुन नसक्ने गोल्यानको भनाइ छ । उनले गत वर्ष १९ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखे पनि पूरा नभएको प्रसंग निकाले । उनले उत्पादनशील उद्योग र अन्य उद्योगमा फरक ब्याजदर व्यवस्था गर्नु राम्रो देखिए पनि यो व्यवस्थाले बैंकलाई भार थप्ने उल्लेख गरे । उनले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था जोगाएर नीति ल्याउन चुकेको टिप्पणी गरे । गोल्यानले सेयर बजारका लगानीकर्ता भने अब सकारात्मक हुनु पर्ने बताए ।
प्रतिक्रिया 4