
९ साउन, बुटवल । पश्चिम नवलपरासी कोभिड-१९ विरुद्धको पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको छ ।
कोभिड–१९ विरुद्धको खोप सञ्चालन तथा व्यवस्थापन सम्बन्धी जिल्ला समन्वय समितिको सोमबार बसेको बैठकले जिल्लालाई कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चित भएको जिल्ला घोषणा गरेको हो ।
जिल्लाका ३ नगरपालिका र ४ गाउँपालिका सहित ७ वटै पालिकाका १२ वर्षभन्दा माथिका सबै नागरिकहरुले खोपको मात्र पूरा गरेपछि जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।
साउन ५ गतेभित्र सबै पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरेपछि लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशानलयले प्रमाणित गरेपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । जिल्लामा कोभिडविरुद्धको पहिलो श्रृंखलाको दोस्रो मात्रा सबै नागरिकहरुले पूरा गरेको स्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थीले बताए ।
९९ प्रतिशतले पहिलो मात्रा र ९७ प्रतिशतले दोस्रो मात्राको खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । यसैबीच नियमित खोपतर्फ पनि सोमबार नै जिल्लालाई पूर्ण खोप दिगोपना सुनिश्चित भएको घोषणा गरिएको छ । जन्मेदेखि १५ महिनाका बालबालिकाहरुले लगाउने १३ प्रकारका सबै खोप लगाएपछि जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले जिल्लालाई पूर्ण खोप दिगोपना सुनिश्चित भएको जिल्ला घोषणा गरे ।
१६ देखि २३ महिनाका बालबालिकाहरुले खोप पाए÷नपाएकोबारे गरिएको सर्वेक्षणमा १५ महिनासम्मका बालबालिकाहरुले पूरा खोप लगाएको पाइएपछि पूर्ण खोप दिगोपना सुनिश्चित भएको घोषणा गरिएको हो । नियमिततर्फ ती उमेर समूहका कुल ४ हजार ८०७ जना सबै बालबालिकाले खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रतिक्रिया 4