
काठमाडौं । मुस्कान खातुनको जीवनमाथि बन्न लागेको फिल्ममा अभिनय गर्ने खबर बाहिरिएपछि वन तथा वातावरणमन्त्री प्रदीप यादवले यसबारे टिप्पणी गरेका छन् । उनले कार्यव्यस्ततालाई कारण जनाउँदै फिल्ममा अभिनय नगर्ने संकेत समेत गरेका छन् ।
उनले फिल्ममा अभिनय गर्ने समाचार अनलाइनखबरमार्फत सार्वजनिक भएपछि उनी सामाजिक सञ्जालमा ट्रोल समेत भएका थिए । दर्शकले उनीविरुद्ध मिश्रित प्रतिक्रिया पनि दिएका थिए ।
यसैसाता मन्त्रालयमा अभिनेता तथा निर्देशक रमित ढुंगानासँग भएको भेटमा मन्त्री यादवले फिल्म छायांकनको लागि तीन दिन समय छुट्याउने जनाएका थिए । फिल्म सुटिङकै लागि अमेरिकादेखि आएका ढुंगानाले मन्त्रीलाई लिएर फिल्म बनाउने समेत बताएका थिए ।
तर सामाजिक सञ्जालमा चर्को आलोचनापछि मन्त्री यादव फिल्ममा अभिनय गर्ने सोचबाट पछि हटेका छन् ।
‘देश, जनताको विकास र वन तथा वातावरण मन्त्रीको नाताले वनजंगल र वन्यजन्तुको संरक्षण एवं सम्वद्र्धनको लागि गर्नुपर्ने काम धेरै भएकाले कार्यव्यस्तताका कारण फिल्मको छायांकनका लागि समय नमिल्ने स्पष्ट पार्न चाहन्छु,’ उनले लेखेका छन् ।
एसिड ‘सर्भाइभर’ किशोरी मुस्कान खातुनले समेत अभिनय गर्ने फिल्मको छायांकन यसै महिनादेखि सुरु हुने तयारीमा छ । फिल्ममार्फत रमितले निर्देशनमा डेब्यु समेत गर्दैछन् ।
प्रतिक्रिया 4