
काठमाडौं । यस्तो लाग्छ, अझै पनि दर्शकलाई रुवाउने ‘लाइसेन्स’ नाइँ नभन्नु ल फिल्मसँग छ । कमेडी विषयवस्तुका फिल्मले बक्स अफिसमा कब्जा जमाउनुअघि ‘नाइँ नभन्नु ल’का पाँचै श्रृंखलाले यो कुरा प्रमाणित गरिसकेका छन् ।
गम्भीर फिल्मलाई लिएर बढेको चुनौतीसँगै निर्देशक विकासराज आचार्य छैटौं श्रृंखलाको तयारीमा जुटेका छन् । आगामी भदौ अन्तिमदेखि छायांकन सुरु हुने फिल्मको कास्टको समीकरणले आगामी साता पूर्णता पाउँदैछ ।
तर फिल्मको मुख्य भूमिकामा आँचल शर्मा र डेब्यु ब्वाइ आशिर्वाद बराल फाइनल भइसकेका छन् । यसपटक फिल्ममा सात जना बालकलाकारलाई हेर्न पाइनेछ । टिकटक फेम्ड एभेलिना, निखिल उप्रेती पुत्र अथर्व र आयुष बजगाईं बालकलाकारको रुपमा रहनेछन् ।
निर्देशक आचार्यले फिल्ममा बालकलाकारको ‘डफ्फा’ भए पनि यसले परिपक्व उमेरका दर्शकलाई गम्भीर सन्देश दिने बताए । अघिल्ला पाँच श्रृंखलामा बालबालिकालाई प्रेम गर्न सिकाएको भनेर आरोप खेपेका आचार्य छैटौं श्रृंखलामा आइपुग्दा यसको बचाउमा उत्रिएका छन् ।
छैटौं श्रृंखला पनि प्रेमकथामै आधारित छ ।
‘बालबालिकालाई झगडा गर्न होइन, शान्ति सिकाउँछ, हिंसा होइन प्रेम सिकाउने सन्देश यसमा छ,’ निर्देशक आचार्यले अनलाइनखबरसँग भने, ‘बालबालिकाको मनोविज्ञानलाई परिपक्व मान्छेले पनि बुझ्नु जरुरी छ ।’
‘नाइँ नभन्नु ल’का पाँचै सिक्वेलले घरेलु बक्स अफिस र विदेशमा राम्रो कमाइ गरेका छन् । केही वर्षयता कमेडी फिल्मप्रति देखिएको दर्शकीय क्रेजलाई पुनः गम्भीर फिल्ममा फर्काउनुपर्ने चुनौती निर्देशक आचार्यसँग छ । आचार्यले सामीप्य तिमल्सिनासँग मिलेर पटकथा लेखिरहेका छन् ।
प्रतिक्रिया 4