
१० साउन, काठमाडौं । काठमाडौं उपत्यकामा बालबालिकामा एडिनो भाइरसको संक्रमण बढ्दै गएको पाइएको छ ।
महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा बालबालिकामा कडा ज्वरो संक्रमण देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (टेकु) मा नमुना परीक्षणका लागि पठाएको थियो । पठाएका १३ नमुनामध्ये १० वटामा एडिनो भाइरसको संक्रमण देखिएको अस्पतालका बालरोग विशेषज्ञ डा. रामहरि चापागाईंले जानकारी दिए ।
‘नमुना पठाएकामध्ये तीन वटामा इन्फ्लुएन्जा भाइरस देखियो बाँकी सबैमा एडिनो भाइरस पुष्टि भएको छ’, डा. चापागाईंले भने ।
उनका अनुसार एडिनो भाइरस मुख्यतया व्यक्ति–व्यक्तिको सम्पर्क, श्वासप्रश्वासकोे सम्पर्कबाट फैलिन्छ ।
चिकित्सकका अनुसार बालबालिकमा एडिनो भाइरसको संक्रमण अन्य उमेर भन्दा धेरै पटक हुन्छ । तर जो कोहीलाई पनि लाग्न सक्छ ।
विद्यालय जाने उमेर समूहका बालबालिकालाई एडिनो भाइरसको संक्रमण हुन्छ । एडिनो भाइरस भएको व्यक्तिको हात छोएमा वा खेलौना वा अन्य वस्तु भएको व्यक्तिले छोएर आफ्नो मुख, नाक वा आँखा छुँदा संक्रमण लाग्न सक्छ । ‘यो भाइरस बच्चाहरूमा छिट्टै फैलिन्छ किनभने उनीहरूले आफ्नो अनुहार र मुखमा हात राख्ने सम्भावना बढी हुन्छ’, डा. चापागाईंले भने ।
अस्पतालको तथ्यांक अनुसार ओपीडीमा दैनिक ९०० भन्दा बढी र आकस्मिक कक्षमा ३०० सयको हाराहारीमा बिरामी आउने गरेका छन् । चिकित्सकहरुका अनुसार अस्पतालमा ओपीडी सेवा लिन आउने बालबालिकामध्ये ५० प्रतिशतमा भाइरल ज्वरो देखिएको छ ।
चिकित्सकका अनुसार उक्त भाइरसले बालबालिकामा खोकी लाग्ने, नाकबाट सिगान बग्ने, कडा ज्वरो, घाँटी दुख्ने र ग्रन्थीहरू सुन्निने, एकतिरको आँखा रातो हुने जस्ता लक्षण देखिन्छ । त्यसैगरी, टाउको दुख्ने, वाकवाकी लाग्ने र बान्ता हुने पिसाब गर्दा दुख्ने, बारम्बार जानुपर्ने, पिसाबमा रगत आउने जस्ता पनि समस्या देखिन्छ ।
‘एडिनो भाइरस बेला–बेला आइराख्ने हुन्छ । पहिला पनि बेला–बेला देखिन्थ्यो । उक्त भाइरसको संक्रमण लक्षणहरू मात्र निम्त्याउँछ र केही दिनमा आफैंमा निको हुन्छ । तर तिनीहरू कमजोर प्रतिरक्षा प्रणाली भएका बालबालिका बढी गम्भीर हुन सक्छन्’, डा. चापागाईंले भने ।
उनका अनुसार बालबालिका एडिनो भाइरसको सम्पर्कमा आएपछि दुई हप्तासम्म लक्षण देखिनसक्छन् ।
‘अन्य भाइरसले केही समयमा आफ्नो रुप परिवर्तन गर्छन् । तर, एडिनो भाइरसले रुप परिवर्तन गर्दैनन् । तर, मल्टिस्टिम असर गर्छ,’ डा. चापागाईंले भने, ‘बालबालिकाको एकार्तिरको आँखा पकाउने, कडा ज्वरो आउने, घाँटी दुख्ने, शरीर विभिन्न भागहरु दुख्ने, कसैलाई निमोनिया गराउने, स–सना बालबालिकालाई जण्डिस समेत गराउने हुन्छ ।’
‘जाडो मौसममा बालबालिकामा ज्वरो आउँदा तीन–चार दिनमा निको हुने र सामान्य खालको हुन्थ्यो । तर अहिले कडा ज्वरो देखिएको छ । अधिकांश बालबालिकालाई निको हुन ७ दिनभन्दा बढी लाग्छ । ज्वरो १०३ वा १०४ डिग्री आइराखे एन्टिबायोटिक औषधि चलाउनुपरेको छ’, उनले भने ।
उक्त भाइरसको उपचार गर्न कुनै खास औषधि नभएको र धेरैजसो बच्चाहरू निको हुने भएकाले परीक्षण आवश्यक नहुने चिकित्सकको भनाइ छ ।
अस्पताल आउने बालबालिकाको चाप बढे पनि भर्ना गरेर राख्नुपर्ने बिरामी भने कम भएको डा. चापागाईंले बताए ।
‘पछिल्ला वर्षको तथ्यांक हेर्दा अहिले बिरामीको संख्या यो समयमा दोब्बर भएको छ । एडिनोको संक्रमण फैलिए पनि अस्पताल भर्ना हुने दर न्यून हुन्छ,’ डा. चापागाईं भन्छन्, ‘ज्वरो कडा आउने भएकाले अभिभावक आत्तिएर पटक–पटक अस्पताल आउने गरेका छन् ।’
संक्रमण भएपछि बालबालिकाले खाना खान रुचि गर्दैनन् ।
बालबालिकामा यस्तो समस्या देखिँदा आत्तिनु नपर्ने डा. चापागाईंको सुझाव दिन्छन् । यस्तो लक्षण देखिए, पानी खुवाउने, ज्वरो आए कपडा खोलिदिने, पानीपट्टी लगाउने, झोलिलो पदार्थ खुवाउने, सिटामोल खुवाउने डा. चापागाईंको सुझाव छ ।
प्रतिक्रिया 4