
१० साउन, काठमाडौं । सरकारले विशेष आर्थिक क्षेत्र (सेज) मा स्थापना गर्न नपाइने उद्योगलाई अनुमति दिने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विशेष आर्थिक क्षेत्र नियमावली संशोधन गरेर सेजमा मदिरा, गुट्खा र सुर्तीजन्य उद्योगलाई अनुमति खुल्ला गर्ने तयारी गरेको हो ।
‘चुरोट, सिगार, बिंडी, खैनी, ब्रान्डी, साइडर, बियर, वाइन तथा मदिरा उत्पादन गर्ने उद्योगलाई पनि अुनमति दिनेगरी नियमावली संशोधनले स्वीकृति पाउने निश्चित भएको छ,’ मन्त्रालय स्रोतले अनलाइनखबरसँग भन्यो, ‘यसलाई औद्योगिक प्रर्वधन बोर्डले स्वीकृति दिन मात्रै बाँकी छ ।’
बोर्डले केही समय अघि गठन गरेको उच्चस्तरीय समितिले तयार पारेको नियमावली संशोधन रुपन्देहीको गुट्खा उद्योग श्रीराम टोबाको र केही मदिरा उद्योगका लागि लक्षित रहेको भन्दै मन्त्रालयका अधिकारीहरु नै असन्तुष्ट छन् ।
मुलुकको निर्यात बढाउन र औद्योगिक वातावरण सृजना गर्न असिमित सुविधा दिइने ओद्योगिक क्षेत्रमा नकारात्मक लिष्टका उद्योगलाई अनुमति दिएर सिमित व्यक्तिलाई पोस्नेगरी नियमावली संशोधन भएको अधिकारीहरु बताउँछन् ।
नियमावली अनुसार सेजमा स्थापना हुने उद्योगले करमा विशेष व्यवहार, उद्योग राष्ट्रिय करण नहुने, जग्गा र भवनको बहालमा विशेष छुट हुने, आय करमा छुट हुने, मूल्य अभिवृद्धि कर भ्याट नलाग्ने र पैठारी तथा निर्यातमा भन्सार महसुल नलाग्ने सुविधा पाउँछन् ।
यस्तै निर्यात गर्दा अन्य उद्योगले जस्तै निर्यात अनुदान पाउने लगायतका सुविधा पनि सेजका उद्योगले पाउँछन् । यही सुविधा गुट्खा र मदिरा उद्योगलाई दिलाउन मन्त्रालयले गृहकार्य गरेको आरोप छ ।
सेजका कार्यकारी निर्देशक डा.चण्डिाका भट्टले शतप्रतिशत निर्यात गर्ने उदेश्यले सेजमा नेगेटिभ लिष्टका उद्योगलाई ल्याउनेबारे छलफल चलेको बताए । सेजमा नेगेटिभ लिष्टको उद्योग आर्कषित गर्ने तर शतप्रतिशत निर्यातको शर्त राख्नेबारे नियमावलीको अनुसूची फेरबदल गर्ने कुरा चले पनि निर्णय नभएको उनले बताए ।
‘सेज नियमावलीमा नेगेटिभ लिस्टमा भएका उद्योगलाई शतप्रतिशत निर्यातको शर्तमा ल्याउने कि भन्ने सल्लाह हो,’ भट्टले भने,‘ चुरोट, बिंडी, वाइन लगायतलाई स्थापना गर्न नसकिनेबाट अनुमति लिनु पर्ने सूचीमा राख्न छलफल मात्रै भएको हो ।’ नियमावलीले सेजमा स्थापना गर्न निशेषध गरेको अनुसूचीको एकमा सुर्ती र चुरोटजन्य, दुईमा मदिरा र तीनमा बिस्फोटक पदार्थ उत्पादन गर्ने उद्योगहरु छन् ।
यस्तै चौथो नम्बरमा हातहतियार उत्पादन गर्ने उद्योगहरु पर्छन् । बिस्फोटक पदार्थ र हतियारलाई निषेधमै राखेर सुर्ती र मदिरामा भने मन्त्रालय लचिलो बन्न खोजेको हो । अहिले सेजले भैरहवा र सिमरामा उद्योगहरुलाई धमाधम प्लटहरु भाडाको सम्झौता गरिरहेको छ । अहिले भैरहवा विशेष एक र सिमरा सेजमा ११ वटा प्लटहरु भाडामा लाग्न बाँकी छन् ।
प्रतिक्रिया 4