
१० साउन, विराटनगर । विराटनगर आएका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुलाई मंगलबार विहान मोरङका उद्योगीले मोरङ व्यापार संघमा छलफलका लागि बोलाए । मन्त्री पुगेपछि विराटनगरका उद्योगी व्यावसायीले गुनासोको लामै फेहरिस्त सुनाए ।
उद्योगी व्यावसायीले पालैपालो गुनासो र आक्रोश व्यक्त गर्दा मन्त्री बडुले सुनिरहे । उद्योगीले आफ्नो गुनासो सुनाएपछि कार्यक्रम सञ्चालकले विराटनगरका मेयर नागेश कोइरालाई बोल्न समय दिए ।
बोल्ने क्रममा नागेश कोइरालले विराटनगरसम्म कार्गो रेल सञ्चालनका लागि पहल गरिदिन मन्त्री बडुलाई आग्रह गरे । मेयर भन्दा अघि बोलेका उद्योगी व्यवसायीले विराटनगरको भन्सारसम्म रेल्वे ट्र्याक तयार भइसकेका कारण कार्गो रेल सञ्चालनका लागि पहल गर्न आग्रह गरेका थिए ।
मेयरले बोलेपछि कार्यक्रम सञ्चालकले मन्त्री बडुलाई समय दिए । उद्योगीको गुनासो सम्बोधन गर्ने क्रममा उनले रेल्वे विस्तारका लागि भएको अवरोध हटाउन मुआब्जा माग्दै अदालतमा मुद्दा दायर गरेकाहरुलाई मागे अनुसार मुआब्जा दिएर काम सुरु गर्ने वातावरण बनाउन आग्रह गरे ।
‘रेल्वे सञ्चालनमा इन्डियाले तपाईंहरुका कारणले ढिलो भयो पनि भनिसकेको छ’, उनले भने ‘…कति पैसाका कारणले मुआब्जा दिनबाट रोकियो भन्या, कति बढाएर दिए पनि हुन्छ ? त्यो भन्दा मेनिटाइम्स बढी हामी नाफा कमाउछौं यो कनेक्टिभिटीबाट, त्यस कारण ढिला भइरहेको किन हो ? को को जिम्मेवार हुनुहुन्छ उहाँहरुलाई तपाईंहरुले पनि दबाव दिनुहोस् ।’
मन्त्रीले बोलिरहेका बेला विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बोले । उनले निर्माण सम्पन्न भइसकेको बनथाहदेखि विराटनगरको बुधनगरसम्म कार्गो रेल ल्याउने वातावरण बनाइदिन आग्रह गरे । सञ्चालनका लागि तयार भए पनि नेपालकै कारणले ढिलाइ भएको उनले सुनाए ।
मन्त्रीले कसका कारणले ढिलो भएको प्रश्न गर्दा मेयर कोइरालाले भने, ‘हाम्रै कारणले हो ।’ त्यसपछि मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बजेटका कारण ढिलाइ भएको सुनाए । त्यसपछि सबै जना बोलेपछि कार्यक्रममा हल्ला भयो । पालैपालो बोल्नुपर्यो भनेपछि नेपाली कांग्रेस नेता भक्तिनाथ माझीले २५ विगाहा जग्गाको मुआब्जा विवाद रहेको र सो मुद्दा सर्वोच्च अदालतमा रहेको सुनाए ।
मन्त्री बडुले भने ‘मैले अस्ति आएर बुझेको विषय पनि त्यही हो ।’ उनले निर्माण सम्पन्न भइसकेको ठाउँसम्म कार्गो रेल सञ्चालन गर्न पहल गर्ने बताए ।
उद्योगीका गुनासै गुनासो
मोरङ व्यापार संघले आयोजना गरेको छलफल तथा भेटघाट कार्यक्रममा मन्त्री बडुसँग उद्योगीले राज्यको नीतिका कारण व्यावसाय बन्द गनुपर्ने अवस्था आएको गुनासो गरे । राज्यको नीतिका कारण स्टिल उद्योग, तेल उद्योग संकटमा परेको भन्दै संरक्षण गर्न माग गरे । उद्योगीहरुले बैंकको ब्याज र विजुलीको अनियमित कटौतीले व्यावसायमा नोक्सानी भएको गुनासो गरे ।
भारतले गहुँ निर्यातमा रोक लगाएपछि नेपालका मैदा उद्योग संकटमा परेको पनि गुनासो गरे । कार्यक्रममा मन्त्री बडुले उद्योगीका मागप्रति सरकार सकारात्मक रहेको बताए । निजी क्षेत्रका माग सम्बोधन गरेर अगाडी बढ्ने उनको भनाइ छ ।
प्रतिक्रिया 4