
१० साउन, काठमाडौं । स्थानीय तह निर्वाचनमा समाजवादी केन्द्र नेपालले वडाध्यक्ष पदमा शून्य मत पाएको छ । गत ३० वैशाखमा सम्पन्न निर्वाचनमा सहभागी ६१ वटा राजनीतिक दलहरूमध्ये वडाध्यक्ष पदमा शून्य मत ल्याउने समाजवादी केन्द्र नेपाल एक मात्रै राजनीतिक दल हो ।
मंगलबार निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा सार्वजनिक गरेको विवरण अनुसार समाजवादी केन्द्रबाहेकका अरु दलले केही न केही मत पाएका छन् ।
निर्वाचन आयोगमा समाजवादी केन्द्र नेपाल युवराज सफलको नेतृत्वमा दर्ता भएको छ । सफल उक्त पार्टीका सर्वोच्च नेता हुन् । उनका अनुसार पार्टीले स्थानीय तह निर्वाचनमा काठमाडौं, सिन्धुली, रामेछापलगायत कुल १२ वटा जिल्लामा मनोनयन दर्ता गराएको थियो ।
‘हामीले १२ जटा जिल्लामा मनोनयन दर्ता गराएका थियौं । काठमाडौंमै पनि चन्द्रागिरी नगरपालिकामा मेयर र वडाध्यक्ष उठाएका थियौं’, उनले भने, ‘मेयरले करिब ५ सय मत प्राप्त गरेको सूचना आएको थियो । तर वडाध्यक्षले अरूलाई समर्थन गर्नु भएको हुनसक्छ ।’
अहिले सत्ता गठबन्धनमा रहेका वामपन्थी दलहरूबीच समाजवादी केन्द्र निर्माणको प्रयास समेत चलिरहेको छ । तर, सफल यो नामको पार्टी गत ८ चैतमा नै निर्वाचन आयोगमा दर्ता गराइसकेका थिए ।
यही नामको पार्टी नेकपा एमाले परित्याग गरेका वामदेव गौतम पनि समाहित हुन पुगेका थिए । तर, गौतमसँग पार्टी निर्माणको घोषणा भएको केही दिनमा नै सफललगायत केही नेताले गौतमलाई कारवाही गरेका थिए ।
त्यसपछि अहिले सत्ता गठबन्धनका अन्य पार्टीसँग समाजवादी केन्द्र निर्माणको तयारी भइरहेको सर्वोच्च नेताले युवराज सफलले जानकारी दिए ।
उनका अनुसार निर्वाचन आयोगमा पार्टी दर्ता गर्दा ३५ सदस्यीय रहेको र पछि अध्यावधिक गरेर ४५ सदस्यीय बनाइएको छ । समाजवादी केन्द्रले २७ र २८ मंसिरमा पार्टीको महाधिवेशन गर्ने जानकारी आयोगलाई दिएको उनले जानकारी दिए ।
प्रतिक्रिया 4